मुस्ताङ पुस ९ । चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमा जोडिएको हिमालपारीको जिल्ला मुस्ताङमा चिनियाँ मोटरसाइकलको अवैध प्रयोग भइरहेको छ । नेपालमा भित्रिने बैधानिक सवारीसाधनको पहुँच बाहिर रहेको उपल्लो मुस्ताङमा वर्षौदेखि अवैध चिनियाँ मोटरसाइकलको प्रयोग भइरहेको हो ।
नेपालमा आधिकारिक रुपमा सवारी साधन भारतबाट मात्र भित्रिने तर उपल्लो मुस्ताङसम्म ति साधनहरु पु¥याउँन समस्या हुने भएकाले उपल्लो मुस्ताङका चिनियाँ सिमा क्षेत्र छोसेर, लोमन्थाङ, छोन्हुप, चराङ, घमी लगायतका मानिसहरुले अवैध चिनियाँ मोटरसाइकलको प्रयोग गर्दै आइरहेका छन् ।
छिमेकी चिनसँगको नाकासँग व्यापारिक सम्बन्ध स्थापित हुन नसक्दा चिनियाँ मोटरसाइकलको दर्ता, भन्सार तिर्नुपर्ने कुनैपनि प्रावधान नहुँदा भित्रिएका मोटरसाइकललाई कारवाही गर्न नसकिएको प्रहरीले जनाएको छ । उपल्लो मुस्ताङ तथा तिब्बतको डोङवासेन जिल्लाबीच एक आपसमा व्यापार व्यवसाय गर्ने उद्देश्यले वर्षको दुईपटक लाग्ने व्यापार मेलाबाटै नेपालीले चिनियाँ मोटरसाइकल खरिद गरेर ल्याउने गर्दछन् । तिब्बती क्षेत्रमा लाग्ने उक्त व्यापार मेलामा नेपालीहरुले २० देखि ५० हजार रुपियाँमा मोटरसाइकल खरिद वा घोडा, याक, भेडाच्याङ्ग्रा लगायतसँग साटेर नेपाल भित्राई उपल्लो मुस्ताङ क्षेत्रको करिब ४२ किलोमिटर क्षेत्रमा प्रयोग गर्ने गरेका छन् ।
आफ्नै मुलुकको बजारसँग भन्दा तिब्बती बजारको भरमा बाँच्दै आइरहेका उपल्लो मुस्ताङवासीका लागि चिनियाँ मोटरसाइकल सञ्चालनमै सहज हुने भएकाले धेरैले त्यसै गरेको मुस्ताङका संघीय सांसद प्रेम तुलाचनले बताउनुभयो । ‘हामीले नेपाली बजारसँग उपल्लो मुस्ताङलाई लामोसमयसम्म सम्पर्कमा ल्याउनै सकेनौं, हिमाली मरुभुमीको रुपमा रहेको उपल्लो मुस्ताङवासीले सदियौंदेखि तिब्बती बजारको भरमा जीवन विताउँदै आइरहेका छन, सोहीअनुसार चिनले नेपालको सिमासम्म सडक सञ्जाल जोडेको र उपल्लो मुस्ताङ क्षेत्रमा सडक सञ्जाल विस्तार भएकाले चिनियाँ मोटरसाइकलको संख्या बढ्दै गइरहेको हो ।’ तुलाचनले भन्नुभयो ।
नेपाल सरकारले नेपाल चीन बीचको कोरल्ला नाका सञ्चालन गर्ने उद्देश्य सहित कालिगण्डकी करिडोरको निर्माण सुरु गरेपछि उपल्लो मुस्ताङ नेपाली बजारसँगको सम्पर्कमा आएकाले अब अवैध रुपमा सञ्चालन भइरहेका चिनियाँ मोटरसाइकलको संख्या न्यून हुँदै गइरहेको तुलाचनले बताउनुभयो । उपल्लो मुस्ताङवासीले तिब्बती बजारबाट मोटरसाइकल चोरी गरेर नल्याई खरिद गरेर ल्याएकाले ति मोटरसाइकललाई बैधानिकता दिई अरु मोटरसाइकल आयातमा रोक लगाउनुपर्ने बताउनुहुन्छ ।
नेपाली क्षेत्रमा चिनियाँ मोटरसाइकल लगायत तिब्वती जिप, ट्रकहरु समेत लोमन्थाङ, घमी लगायतका ठाउँसम्म आउने गरेको बताइएको छ । गैरकानुनी तरिकाले चिनियाँ गाडी र मोटरसाइकलको प्रयोग गरिएपनि यसलाई कारवाही गर्ने कुनै प्रक्रिया नभएकाले नियन्त्रणमा लिन नसकिएको मुस्ताङका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले बताउनुभयो । ‘नेपाली बजारसँगको सम्पर्क नहुँदै चिनियाँ बजारसँग उपल्लो मुस्ताङवासीको सम्पर्क स्थापित भएका कारण त्यहीबाट दैनिक उपभोग्य सामाग्री, मेसिनरी सामग्री तथा सवारीसाधनहरुको आयात गर्ने गरेको पायौं, अहिले नेपाली बजारसँग सम्पर्क स्थापित भएपछि बैधानिक मोटरसाइकलको प्रयोग बढ्दै गइरहेको छ ।’ खड्काले भन्नुभयो ।
केही समय अगाडि नेपालको मुस्ताङ जिल्ला र तिब्बतको ढोङ्वासेन जिल्लाका अधिकारीबीच भएको छलफलका क्रममा चिनियाँ पक्षले मोटरसाइकल बिक्रीमा रोक लगाउँन नेपाल पक्षले आग्रह गरेपछि मोटरसाइकल खरिद बिक्रीको क्रम रोकिएको मुस्ताङका डिएसपी खड्काले बताउनुभयो । खड्काका अनुसार उपल्लो मुस्ताङ क्षेत्रमा भन्सार नतिरी बिनाकागजात सञ्चालित दुई सय भन्दा बढी मोटरसाइकल नियमित सञ्चालनमा आइरहेका छन् । नेपालले नेपाल चिन सिमाको कोरल्ला नाका भन्दा १४ किलोमिटर तल भन्सार कार्यालय राखेपनि सिमानामा हुने अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न मुस्किल हुने गरेको बताइन्छ ।
हाम्रो टिम
प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी
नेपाल सञ्चार
Menu
© All rights reserved 2015-2024 nepalsanchar.com