बागलुङ, पुस २६ । बागलुङ उद्योग बाणिज्य संघको १७ औं महाधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छोटो समयमै संघ भित्र विवाद सुरु भएको छ । अध्यक्ष युवराज राजभण्डारी पक्षले निर्वाचन पछि सबैलाई साथ लिएर जानुपर्नेमा एकपक्षीय रुपमा अगाडि बढ्न थालेपछि संघभित्र विवाद सुरु भएको हो ।
अध्यक्ष युवराज राजभण्डारीले सबैलाई समेटेर अगाडि लैजानुको साटो निर्वाचन अगाडि भएका सौहार्दपूर्ण चुनावी अभियान भन्दापनि पछाडी हटेर विपक्षीलाई निषेध गर्ने, अपमानित गर्ने, गैह्र जिम्मेवारी रुपमा प्रस्तुत हुने गरेको भन्दै केही सदस्यहरुले विरोध गरेका छन् । संघको पदाधिकारी चयनदेखि मनोनयन गर्ने क्रममा समेत संघका अध्यक्ष निर्वाचन लड्दाको चार दलीय गठबन्धन (काँग्रेस, राजमो, राप्रपा, नयाँशक्ति)को प्रभावबाट बाहिर निस्कन नसक्दा मुख्य समस्या भएको केही सदस्यहरुले बताएका छन् ।
राजभण्डारी र प्रत्यासी दयाराम पौडेलबीच संघलाई बलियो बनाउँनका लागि सौहार्दपूर्ण चुनावी अभियान तथा एक आपसमा मत साटासाट गरेर सकारात्मक सन्देश दिन खोजेपनि राजभण्डारी पक्षले निर्वाचनपछी संघलाई पार्टीको भातृ संगठन जस्तो गरी गतिविधि गर्न थालेपछि आफूहरुले सचेत गराउँदा आफूहरुलाई अपमानित गर्ने काम गरेको सदस्य राजु खड्काले बताउनुभयो ।
आफुहरु संघमा निर्वाचित भएर गएपछि संघको विधानअनुसार अगाडि बढ्न पटक–पटक आग्रह गर्दा समेत अध्यक्ष पक्षले बहुमतको दम्भ देखाउँदै विधान विपरित काम गर्न थालेपछि आफूहरुले विरोध जनाएको सदस्य खड्काले बताउनुभयो । ‘हामीले संघको बैठकमा विधान सम्वत तरिकाले अगाडि बढौं भनेर कुरा राखेका हौं, तर अध्यक्षले आफ्नो पक्षमा बहुमत रहेको भन्दै त्यसको वास्ता गर्नुभएन, बैठकमा आफ्ना कुराको सुनुवाइ नभएपछि संघमा ध्यानकर्षण पत्र बुझाएका छौं ।’ खड्काले भन्नुभयो ।
संघ भित्र पटक–पटक विधानका विषयमा विरोधहरु आउने गरेपनि त्यो समाधानका लागि चासो नदेखाइदा हरेक वर्ष संघ विवादमा मुछिदै आएको छ । यस अगाडिका प्राय निर्वाचनको वर्ष नयाँ सदस्यले मतदान गर्न पाउँने कि नपाउँने भन्ने विवाद सिर्जना हुँदै आइरहेको थियो । यस वर्षपनि नयाँ सदस्यता प्राप्ती गरेपछि एक वर्षको नविकरण वापत शुल्क असुलेर मतदानबाट बन्चित गर्ने निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । उक्त विवाद समाधानका लागि दुइ पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल भएपछि संघले आफ्नो निर्णय परिवर्तन गर्दै नयाँ सदस्यलाई मतदानमा भाग लिन पाउँने व्यवस्था गरेको थियो ।
उद्योग बाणिज्य संघको पदाधिकारी चयन बिधान विपरित भएको, वार्षीक नविकरण शुल्क बिधानमा उल्लेख गरिएको भन्दा धेरै लिएको भन्दै नवनिर्वाचित पाँच जना सदस्यहरुले बिरोध जनाएका छन् । उनीहरुले अध्यक्षलाई ध्यानाकर्षणपत्र समेत बुझाएका थिए । सदस्यहरु अर्जुन चोखाल, राजु खड्का, रामराज गुरुङ, महिला सदस्य शर्मिला खड्का र उद्योग सदस्य हेमबहादुर खत्रीले उद्योग बाणिज्य संघको गतिविधिमा बिरोध जनाएका हुन् ।
‘संघको विधानमा धेरै कमजोरीहरु रहेका थिए, ति कमजोरी विगतका नेतृत्वले सच्चाउँने आट गरेनन् तर अहिलेको नेतृत्वले सच्चाउँने आट गर्नुपर्ने थियो, जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको संघको नविकरण लामो समयपछि भएको रहेछ, संघको प्रमाणित विधान र अहिले संघले मान्दै आइरहेको विधानमा धेरै फरक भएकाले यो विधान विपरित हुने कामलाई रोकौं मात्र भनेका हौं, उहाँहरु नमानेपछि ध्यानाकर्षण पत्र बुझाएका हौं ।’ सदस्य अर्जुन चोखालले भन्नुभयो ।
संघको प्रमाणित विधान अनुसार अहिले चयन गरिएको पदाधिकारी संख्या, निर्वाचन भएको सदस्य संख्या, सदस्यता प्राप्ती गर्दा वा नविकरण गर्दा लिइने शुल्कमा समेत धेरै फरक परेको सदस्यहरुको भनाई छ । ‘हामीले यस अगाडि विधान विपरित धेरै काम गरेका रहेछौं, संघको प्रमाणित विधानमा नविकरण शुल्क एक सय रुपियाँ तोकिएपनि अहिले पाँच सय रुपियाँ लिइरहेका छन्, यसलाई सच्चाएर जाऔं भन्दा बहुमतको दम्भ देखाउँछन् ।’ एक सदस्यले भने ।