बागलुङ । एक दशक अघिसम्म पैदल यात्रा गरेर जिल्ला सदरमुकाम धाउने निसी–भुजी क्षेत्रका जनता आफ्नो क्षेत्रमा भएको द्रुत विकासले मख्ख छन् । भौगोलिक विकटताले सहज यातायातको पहुँच पुग्ने कल्पना समेत नगरेका यस क्षेत्रका बासिन्दा राष्ट्रिय गौरवको आयोजना निर्माणसँगै प्राप्त भएको सहज सुविधाले मख्ख परेका हुन् ।
सर्वे भएको केही समयमै दस मिटर चौडा कालोपत्रे सडक, खोलानालामा ठूला–ठूला पुल, ठूला ठूला मालवाहक तथा यात्रुबाहक सवारीको चाप बढ्न थालेपछि बिकट क्षेत्रमा बस्नु परेकोमा अहोभाग्यको रुपमा लिने स्थानीयवासी अहिले भने आफैलाई भाग्यमानी मान्न थालेका छन् । जिल्लाको एक छेउमा रहेको जिल्ला सदरमुकाम बागलुङ बजारदेखि रुकुमसम्म पुग्ने एक सय ४२ किलोमिटर सडक त्यही विकट भनिएको क्षेत्र हुँदै गएकाले स्थानीयलाई सहजता आएको स्थानीयको भनाई छ । ‘विकास सुगमबाट दुर्गमतर्फ जानुपर्ने हो तर यहाँ विकासको काम दुर्गमबाट सुगमतर्फ केन्द्रीत भएको छ, दुर्गम भनिएको निसीभुजी क्षेत्रमा सडक कालोपत्रे भइसक्यो, तर जिल्ला सदरमुकाम आसपास अहिलेपनि सडक कालोपत्रे हुन सकेको छैन, यहाँबाट गाडीमा सरर गुड्ने सवारी सदरमुकाम क्षेत्रको करिब ३० किलोमिटर क्षेत्रको कच्ची सडकमा धक्कामुक्की गरेर हिड्नुपर्ने अवस्था छ, त्यताको सडक राम्रो भए अवश्य हामीले राम्रो सेवा पाउँने थियौं ।’ स्थानीय रामु घर्तीले भन्नुभयो ।
२०६४ सालमा बुर्तिवाङ बजारदेखि निसीका केही ठाउँमा कच्ची सडक निर्माण गरिएपनि यातायातको सहजता थिएन, अहिले मध्यपहाडी लोकमार्ग निर्माणपछि सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्ग निर्माणपछि सदरमुकाम पुग्नका लागि हजारौं खर्च गरेर हप्ता दिनसम्म लगाउनुपर्ने अवस्थाको अन्त्य भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । ‘हिजो भौगोलिक रुपमा विकट भएकाले सदरमुकाम आउजाउ गर्न ठूलो कष्ट थियो, सामान्य काम गर्नपनि हप्तौ लाग्ने अवस्था सडक निर्माणपछि सहजकता भएको छ ।’ पौडेलले भन्नुभयो ।
मध्यपहाडीको विकासले यस क्षेत्रको बसाइसराई समेत कम हुँदा ठाउँठाउँमा बजारीकरण भइरहेको छ । यही अवस्थालाई देखेर सेवा प्रदायक नेपाल टेलिकम, एनसेल कम्पनीले आफ्नो सेवा विस्तार गरेका कारण टेलिफोन, इमेल, इन्टरनेटको प्रयोग गर्न घण्टौ हिडेर बुर्तिवाङ पुग्नुपर्ने अवस्थाको अन्त्य भएको स्थानिय हेमबहादुर बुढा मगरले बताउनुभयो । मध्यपहाडी लोकमार्ग रुकुमसँग जोडिदा यातायातमा सहजतासँगै सामान ढुवानीमा समेत सजिलो भएको बुढा मगरले बताउनुभयो । ‘यहाँका दुःख सम्झी नसक्नु थिए, कमाउनेहरु सुविधाको खोजीमा बसाई सरेर जान्थे, सदरमुकाम पुग्नैका लागि हप्तादिन हिडेर जानु प¥थ्यो, अहिले ४÷५ घण्टा मै सदरमुकाम पुग्न सकिन्छ, जसका कारण सहज रुपमा उपभोग्य सामाग्रीहरु प्राप्तीसँगै सेवा सुविधाको अभावका कारण बढ्दो बसाइसराईको क्रम रोकिएको छ ।’ बुढाले भन्नुभयो । लोकमार्गकै कारण सडक छेउमा बस्ती बिस्तारसँगै व्यवसाय गर्नेको संख्या बढ्दै गएको छ । ‘गाउँमा सडक नआउँदा बाँझैं रहेका जग्गाहरु अहिले घडेरीमा परिणत भएका छन्, गाउँमा सडक आउला भन्ने आशै थिएन, गाउँमा भएका जग्गाहरु सित्तैमा बेचियो र तराईमा घडरी किनियो अहिले गाउँमा सडक आएपछि तराईमा जग्गा किनेर पछुताउनु परेको छ ।’ स्थानीय बलीभद्र बुढामगरले भन्नुभयो ।
निसी क्षेत्रमा मध्यपहाडी लोकमार्ग र भुजी क्षेत्रमा सालझण्डी–ढोरपाटन सडक निर्माणले तिव्रता पाएपछि स्थानीयको जीवनशैलीमा परिवर्तन आएको स्थानीय शिक्षक विदुर शर्माले बताउनुभयो । ‘पहिले दैनिक उपभोग्य, नुन, तेल लिनका लागि हप्तौ लगाएर जानुपर्ने अवस्था थियो, तर अहिले सडकको सहज पहुँचका कारण धेरै सजिलो भएको छ ।’ शर्माले भन्नुभयो ।