तनहुँ, भदौ २७ गते । तनहुँका बनजङ्गलमा आहारको अभाव हुन थालेपछि जंगली जनावरहरु मानव वस्तीमा पसेर मानिसमाथि आक्रमण गर्न थालेका छन् । जङ्गलमै शिकार गरेर आफ्नो आहारा जुटाउँने मांसाहारी जङ्गली जनावर आहाराको खोजीमा मानव बस्ती पसेर मानवमाथिनै आक्रमण गर्न थालेका हुन् ।
तनहुँमा तीन वर्ष यता बन्यजन्तुकै आक्रमणबाट चार बालबालिकाको मृत्यु भइसकेको छ भने सात जना बढी घाइते भएका छन् । चितुवाको आहारा मानिसले खाइदिंदा खानाको अभावकै कारण मानव वस्तीमा पसेर मानिसहरुलाई आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । तीन वर्षको अवधीमा चार बालबालिकाको चितुवा आक्रमणबाट मृत्यु भइसकेको छ भने सातजनालाई घाइते बनाएको डिजिन वन कार्यालय तनहुँका कार्यालय प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
जङ्गलमा हुने पानीको मुहानमा अलीकतीपनि पानी नछाडि मानव बस्तीमा लैजादा खानेपानीको अभाव हुने र जंगलमा आहारको रुपमा प्रयोग हुने वन्यजन्तुपनि मानिसहरुले मारेर खाइदिने गर्दा मानव वस्तीमा बाख्रा तथा कुकुरको खोजीमा चितुवा आउने भएकाले उक्त बेला बालबालिका भेटेमा भोक मेट्ने उपाएको लागि आक्रमण गर्ने गरेको बरालको भनाई छ । ठूला मानिसहरुसँग डराउँने चितुवाले आफूभन्दा सानो उचाइ भएकालाई आक्रमण गर्ने गरेको छ । ‘आफू भन्दा बढी उचाइ भएकालाई आक्रमण गर्न सक्दैन, साना बालबालिका, बसेका मानिसहरुलाई आक्रमण गर्ने हो ।’ बरालले भन्नुभयो ।
तीन वर्षको अवधीमा चितुवाको आक्रमणबाट भानु नगरपालिकाका चार जनाले ज्यान गुमाइसकेका छन् । भानु नगररपालिका नम्बर दुई भकुन्थोकका नौं वर्षकी पुष्पा अधिकारी, भानु नगरपालिका वडा नम्बर चार जोखानेका चार वर्षीया बालिका रञ्जिता लम्साल, सोही ठाउँका १० वर्षीय अमृत गुरुङ र दुई वर्ष अगाडि भानु नगरपालिका वडा नम्बर तीनका एक बालकको चितुवा आक्रमणबाट मृत्यु भएको थियो ।
तनहुँ स्थित भानुभक्त प्राणी उद्यानका प्रमुख विरेन्द्रप्रसाद कँडेलले ठुलो आहारा नपाएको बेला पंक्षीपनि मारेर चितुवाले आहारा बनाउँने भएकाले जंगलमा पंक्षीहरुको शिकार गर्न नहुने बताउनुहुन्छ । चितुवाको विगबिगी बढेपछि भानु नगरवासी घर बाहिर निस्कन डराई रहेको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली बताउनुहुन्छ । तत्काल समस्या समाधानको लागि चितुवाको आहाराको रुपमा अन्य बन्यजन्तु जङ्गलमा छाड्ने योजना बनाइएको गौलीले बताउनुहुन्छ ।
गाेरखापत्र दैनिकमा प्रकाशित