पोखरा, असाेज १ गते । समृद्धिको पहिलो अधार पर्यटनलाई मानेर अगाडि बढेको गण्डकी प्रदेश सरकारले होमस्टे प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाइरहँदा प्रदेशका कुना काप्चामा पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु सहज बसाइ व्यवस्थापनका लागि होमस्टे प्रवद्र्धनको कामलाई प्राथकितामा राखेको हो ।
पर्यटन विकासको एउटा आधारको रुपमा रहेको होमस्टेलाई व्यवस्थित गरी हरेक गाउँमा पर्यटनमन्त्री वातावरण सिर्जना गर्नका लागि होमस्टेको पूर्वाधार विकासका लागि विशेष ध्यान दिइएको गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको दावी छ । ग्रामिण पर्यटनको प्रवद्र्धन गरी आन्तरिक पर्यटन वर्ष २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि ग्रामिण क्षेत्रमा होमस्टेहरुको पूर्वाधार विकासमा विशेष ध्यान दिइएको जनाइएको छ ।
मन्त्रालयले गत आर्थिक वर्षमा प्रदेशका ११ जिल्लामा रहेका दुई सय ७४ वटा होमस्टेलाई पूर्वाधार विकासका लागि प्रति होमस्टे १० लाख रुपैयाँसम्म अनुदान प्रदान गरेको थियो । तराई, पहाड र हिमाल तीनै प्रकारको भुवनोट रहेको गण्डकी प्रदेशमा आउने पर्यटकहरु ग्रामिण क्षेत्रसम्म पुग्न रुचाउँने र प्रदेशका कुना काप्चामा थुप्रै पर्यटकीय स्थलहरु रहेकाले पर्यटकहरुलाई सहज होस भन्ने उद्देश्यले होमस्टे प्रवद्र्धनमा ध्यान दिइएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयले गत आर्थिक वर्ष ग्रामिण क्षेत्रमा स्थापना पर्वतका ४८, तनहुँका ४८, स्याङ्जाका ४४, कास्कीका ३६, बागलुङका २८, गोरखाका २२, लमजुङका २२, म्याग्दीका ११, नवलपरासीका १०, मुस्ताङका तीन र मनाङका दुई होमस्टेलाई अनुदान दिइएकोमा यस आर्थिक वर्षमा ३० ठाउँमा होमस्टे थप गरी उनीहरुको प्रवद्र्धनका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले स्थानीय तहको सहकार्यमा होमस्टे उद्यमीहरुको प्रत्यक्ष लगानीमा होमस्टे पूर्वाधार निर्माण तथा पर्यटनमैत्री वातावरण सिर्जना गर्नका लागि अनुदान रकम वितरण गरिएको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिनुभयो ।
प्रदेश सरकारबाटै होमस्टे सञ्चालन तथा अनुदान प्राप्तीका लागि कार्यविधि बनाएर संस्थागत रुपमा होमस्टेहरुको दर्ता प्रक्रिया सुभारम्भ गरिएको थियो । ‘पहिलेपनि ग्रामिण पर्यटनका लागि जाने पर्यटकलाई स्थानीयवासीले नै व्यवस्थापन गरेर राख्नु भएको थियो, अहिले प्रदेश सरकारले व्यवसायीक रुपमा होमस्टे सञ्चालन गर्न इच्छुक मध्य पाँच घर भन्दा बढी धरधनी सहभागी भएको सामुदायिक होमस्टे र एकल रुपमा दर्ता गरी निजी स्तरमा दर्ता गरिएको निजी होमस्टेलाई प्रमाणपत्र प्रदान गरेर काम गर्न उत्साहित गरेका छौं ।’ मन्त्री लम्सालले भन्नुभयो ।
ग्रामिण परिवेशमा रमाउँन चाहाने पर्यटकहरुलाई सहज बसोवासको व्यवस्था, स्थानीय परिकार, रितिरिवाज, कला सँस्कृतिको जगेर्ना तथा प्रचार प्रसारका साथै ग्रामिण क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी त्यसबाट प्राप्त प्रतिफल ग्रामिण समुदायसम्म पु¥याई गाउँमै रोजगार सिर्जना गर्न सकिने भएकाले होमस्टेमा प्रदेश सरकारले चासो देखाएको मन्त्री लम्सालको भनाई छ । प्रदेश सरकारबाट वितरण गरिएको अनुदान दुरुपयोग नहोस भन्ने उद्देश्यले होमस्टेमा हुनुपर्ने न्यूनतम मापदण्ड तथा आचारसंहिताहरु समेत बनाएर अनुदान प्रदान गरेको थियो ।
प्रदेशले बनाएको मापदण्ड अनुसार होमस्टेका लागि मौलिक घर हुनुपर्ने, पाहुनाका लागि अलग्गै कोठा हुनुपर्ने, मेन्युमा भएको बाहेक अन्य शुल्क लिन नपाउने, स्नान घर, सामुदायिक रुपमा प्राथमिक उपचारको व्यवस्था, वातावरणमैत्री कृषि, पर्यटकीय सम्पदाहरुको संरक्षण, सार्वजनिक शौचालय, फुलवारी हुनुपर्ने, घरमा उर्जाको प्रबन्ध, तथा सम्भव भएसम्म इमेल इन्टरनेटको प्रबन्ध गर्नुपर्ने रहेको छ ।
मन्त्रालयले होमस्टे व्यवस्थित गर्नका लागि होमस्टे सञ्चालन कार्यविधि, होमस्टे पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न पुँजीगत अनुदान दिने सम्बन्धी कार्यविधि, गण्डकी प्रदेशका सामुदायिक होमस्टेमा पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापनका लागि बजेट विनियोजन, होमस्टे सञ्चालकका लागि पाँच दिने आवासीय तालिम लगायतका कार्यहरु गरेको मन्त्री लम्सालले बताउनुभयो ।
गत आवमा होमस्टेका लागि प्रदेश सरकारले गरेको लगानी पारदर्शी भएकाले चालु आवमा त्यसलाई निरन्तरता दिने मन्त्रालले तयारी गरेको छ । ‘हामीले गत आवमा पुँजीगत अनुदान दिएका हौ, केहीले पार्क निर्माण गरेका छन्, केहीले घरमा वाइफाइ जडान गरेका छन्, हामीले होमस्टे कसरी सञ्चालन भएका छन् भनेर गाउँमै गएरपनि हेरेका छौ, गाउँमा पर्यटकको आगमन देख्दा उत्साहित छौं ।’ मन्त्री लम्सालले भन्नुभयो ।
गण्डकी प्रदेश सरकारले होमस्टे प्रवद्र्धन तथा व्यवस्थापनका लागि गरेको कार्य सकरात्मक रहेको अतिथि सत्कार होमस्टे बागलुङका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । प्रदेश सरकारबाट प्राप्त अनुदानबाट धेरै होमस्टेहरुले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री गाउँ बनाएकाले गाउँमा आउने पर्यटकहरुलाई सफा, स्वच्छ र अर्गानिक खाना खुवाउँनुका साथै आरामदायी बसाइ व्यवस्थापन गर्न सहज भएको थापाको भनाई छ ।
माछापुच्छ«े भेडावारी सामुदायिक होमस्टेका सञ्चालक शेषराज दवाडीले होमस्टेमा विदेशी पर्यटकहरु भन्दा स्वदेशी पर्यटकहरुको आगमन बढ्दै गइरहेको बताउनुभयो । केही वर्षदेखि पाँच घरमा सुरु गरिएको होमस्टेका लागि अनुदान प्राप्त गरेपछि अन्य पूर्वाधार निर्माण गरिएको र होमस्टेमा गरिएको लगानीले पर्यटन विकासमा ठूलो मद्धत पुग्ने दवाडीको भनाई छ । ‘अहिले विदेशी पर्यटक भन्दापनि स्वदेशी पर्यटकनै बढी मात्रामा गाउँ डुल्न रुचाउँने गरेका छन्, वल्ला गाउँको मान्छे पल्लो गाउँमा पुग्ने, वल्लो जिल्लाको मान्छे पल्लो जिल्लामा पुग्ने, तथा साप्ताहिक विदाका लागि गाउँ घुम्न आउँनेहरुका कारण कुनैदिनपनि होमस्टेमा मानिसहरुको अभाव भएको छैन ।’ दवाडीले भन्नुभयो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकीका अध्यक्ष रविन्द्रराज पौडेलले गण्डकी प्रदेश सरकारले गरेको लगानीले ग्रामिण पर्यटनमा ठूलो योगदान पु¥याएको बताउनुहुन्छ । ‘पहिले बेलुका होटलमा फर्कने समय राखेर गाउँ डुल्न जाने पर्यटकहरु अहिले आनन्दले डुल्न पाएका छन्, गण्डकी प्रदेशमा ग्रामिण पर्यटनप्रतिको आकर्षण बढी नै भएकाले यहाँ स्थापना भएको होमस्टेहरुले उनीहरुलाई पारिवारिक वातावरणमा सुविधा प्रदान गरिरहेका छन् ।’ पौडेलले भन्नुभयो ।