२०२८ सालमा लमजुङको सदरमुकाम कुन्छाबाट सरेपछि बेंसीसहरको विकास सुरु भएको हो । साविकको बेंसीसहर गाविसमा तत्कालिन उदिपुर, गाउँसहर, चण्डिीस्थान गाविस मिसाउँदै २०७१ सालमा बेंसीसहर नगरपालिका र नयाँ संरचना अनुसार पुरानकोट, नाल्मा, बाँझखेत र चिती गाविसलाई समेत जोडेर बेंसीसहर नगरपालिका बनाइएको थियो । लमजुङ जिल्ला सदरमुकाम समेत रहेको बेसीसहर नगरपालिकामा बरिष्ठ अधिबक्ता गुमानसिँह अर्याल अहिले नगरप्रमुख हुनुहुन्छ । दुई पटक साविक बेसीशहर गाविसको अध्यक्ष भइसक्नुभएका नगरप्रमुख अर्यालसँग बेलिना थापाले गर्नुभएको कुराकानी ।
प्रश्नः बेसीसहरका लागि तपाई नयाँ जनप्रतिधि होइन, तीन दशकसम्म जनप्रतिनिधिको अनुभव छ बेशीशहरलाई कस्तो बनाउँने सोंच बनाउँनुभएको छ ?
– २०४३ मा पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार भएर निर्वाचित भएर लमजुङका जनताको सेवा गरेको थिए । २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा समेत बेशीशहरको अध्यक्षमा निर्वाचित भए, निर्वाचित भएका बखत दुवै समयकाल परितिस्थति बेग्लै बन्यो, पञ्चायतकालमा जनपक्षीय प्रतिनिधिले साधन र स्रोतको अभावमा खासै केही गर्न सक्दैनथे, स्थानीय निकायमापनि त्यतिधेरै स्रोत र साधन थिएन, जनताले आकांक्षा गरेका मात्र नभई आफूले गर्छु भनेका कामपनि गर्न सकिएन, अहिले नगरप्रमुख छु, स्थानीय तहमा थुप्रै अधिकार र अवसरहरुपनि छन् नगरप्रमुखका हैसियतले जनताको सेवामा निरन्तर लागीरहेको छु ।
प्रश्नः स्थानीय तह गठन भएको २ वर्ष भइसक्यो । विकासका कामहरु कत्तिको पूरा गरेजस्तो लाग्छ ?
उत्तरः जनताका इच्छा र आकांक्षा धेरै छन्, पूरा हुन समय लाग्छ । हामी करीब २० वर्ष जनप्रतिनिधि विहीन अवस्थामा रह्यौं । विकासका जगको सुरुवात भएको छ । अब विस्तारै विकास हुन्छ । विकास हुन लामो समयपनि लाग्न सक्छ । जनताको चाहनालाई हामी पूरा गर्न लागि परेका छौं । विकास सुरुवात भएको छ । हामी जनताको बीचमा पुगेका छौं । हामीले जनताको आवाज सुनेका छौं । दुइवटा आर्थिक बर्षको कार्यक्रममार्फत जनताका काम र विकासको काम एकसाथ लगेका छौं । हामीले चुनावी घोषणापत्रमा बेंसीसहर बजारका शाखा सडकहरु कालोपत्रे र ढलान गर्ने भनेका थियौं । दुई आर्थिक वर्षमै लगभग पूरा गरेका छौं । सहरका २५ भन्दा बढी सडक कालोपत्रे गरिसकेका छौं । आन्तरिक रिङ रोडलाई पक्की बनाउने भनेका थियौं र आउटर रिङ रोडको कन्सेप्टपनि ल्याएका छौं । अन्य कृषि, पशुपालन, विपद् व्यवस्थापनको विषयमापनि जनताकाबीचमा कुरा राखेका थियौं । आउटर रिङरोडको ट्रयाक ओपन भएको छ । उदीपुरको खत्रीचौर, मकैडाँडा–पुमागाउँ, रामचोक–तिलाहारको ट्रयाक पनि खोलिसकेको छौं । बेलौतीविसौनामा पुल हाल्न सकेमा नगरपालिकाका आउटर रिङ रोड सबै ठाउँमा मोटर चल्नेछ । विम्दादेखि बाख्रेजतसम्मको ट्रयाक पनि सम्पन्न भइसकेको छ । आन्तरिक रिङरोडको काम भइरहेको छ ।
प्रश्नः विकास निर्माण भनेको सडक निर्माणमात्रै हो ? सडक निर्माण भएपनि गुणस्तरीय भएनन् भन्ने जनगुनासो छ । के भन्नुहुन्छ ?
उत्तरः जसरी विकास भइरहेको छ, त्यसरी नै तीब्र गतिमा अनुगमन गरिएका छौं । सबै योजनाका अनुगमन भएको छ । हामीले छड्के अनुगमनपनि गरेका छौं । उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति बनेको छ । गुणस्तरीय कायम गर्न उपभोक्ता समिति, निर्माण व्यवसायीलाई भनेका छौं । गुणस्तरमा तलमाथि भएमा कानुन बमोजिम कदम चाल्ने छौं भनेका छौं । नगरपालिकाले सडकलाई विकासको पहिलो प्राथमिकतामा राखेको हो । अरु क्षेत्रको विकास नभएको होइन । कृषि र पर्यटनलाई उत्तिकै जोड दिएका छौं । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार बनाएको छ । हामीले गाउँगाउँमा होमस्टे संचालन गरेका छौं । होमस्टेसम्म सडक निर्माण गरेका छौं । गाउँगाउँमा सचेतना र तालिम गरेका छौं । खानेपानी, विद्युत, सिँचाईका कामहरु गरिरहेका छौं ।
प्रश्नः जनताले चौविसै घण्टा खानेपानी र बिजुलीको समस्या त विकराल छ त ? यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
उत्तरः हो, खानेपानीका लागि साह्रै समस्या छ । अभाव हुने बेला नगरपालिकाले दमकलबाट समेत पानी वितरण ग¥यौं । खानेपानी तथा सरसफाई उपभोक्ता समिति छ । विद्युतको उपभोक्ता समित छ । जनताको गुनासोपनि उत्तिकै छ । नगरपालिकाले खानेपानी र विजुलीलाई व्यवस्थित गर्न भनेका छौं । ताकेता गरेका छौं । भाचोक खोला बेंसीसहर सहलगानी खानेपानी आयोजना बन्दैछ । समितिले लगानी गर्नुपर्ने भएकाले नगरपालिका नगर विकास कोषको चार करोड १४ लाखमा जमानी बसेको छ । बिजुली र खानेपानी प्राविधिक हिसावले डामाडोल छ । जनताले बिजुली र खानेपानीलाई हस्तक्षेप गर भनेका छन् । ऐन कानुन विना हस्तक्षेप गर्न मिल्दैन, सुधार गर्न भनेका छौं । सुध्रिएन भने त्यसपछि के गर्नुपर्छ विचार गरौंला ।
प्रश्नः शिक्षा, स्वास्थ्य जस्ता मानिसका आधारभूत आवश्यकतामा के परिवर्तन भए ?
उत्तरः शिक्षक र व्यवस्थापन समितिका साथीहरु जुटिरहनुभएको छ । विद्यालयमा पहिले लापरबाही थियो । शिक्षक पढाउन जाने थिएन, अहिले विद्युतीय हाजिरी राखेका छौं, विद्यालयमा सोलार जडान गरेका छौं । विद्यालयमा पठनपाठनबारे अनुगमन भइरहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा लिएको छ । बेंसीसहरका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी छैन । औषधी पाइएन भनेर गुनासो पनि छैन । हामीले स्थानीय पाठ्यक्रम बनाएका छौं ।
प्रश्नः विकासमा नागरिकको सहभागिता, चासो र चिन्ता कत्तिको पाउनुभएको छ ?
उत्तरः एकदम छ, जनता विकास र समृद्धि चाहन्छन् । राज्यले गर्नुपर्ने कामको बारेमा चासो राख्छन् । हामी स्थानीय सरकार हो । हामीलाई भन्न पाउनु उहाँहरुको अधिकार हो । जनता काम गर्न जुर्मुराएका छन् । लागत सहभागिता उत्तिकै छ । जनताको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशत बजेट अनुसार बेंसीसहरका भित्री सडकहरु पिच भएका छन् । आन्तरिक रिङ रोड पिच हुने अवस्थामा छ । एकैपटकको बजेटल पुग्दैन । विस्तारै हुन्छ ।
प्रश्नः बेंसीसहर पर्यटकीय चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्धार हो । अहिले सिधै सवारी चढेरै पुग्छन् । पर्यटकलाई बेंसीसहर वा आसपासमा बसाउने कुनै योजना छैनन् ?
उत्तरः धेरै योजना बनाएका छौं, १५ वटा बाटो, पाँच वटा पार्कको डीपीआर भएको छ । काउलेपानी माथि ट्रयाक खोल्ने काम भएको छ । गाउँसहर दरबारसम्मको लागि सिँढी र रेलिङ निर्माणको काम भइरहेको छ । पुल तथा भवनको काम भइरहेको छ । बराहपोखरी जाने बाटो निर्माण भइरहेको छ । खासुरबेंसीदेखि चित्रेडाँडासम्म बाटो बनाउँछौं । दोर्दी गाउँपालिका, मस्र्याङदी गाउँपालिकासंग छलफल गरिरहेका छौं । विभिन्न ठाउँमा भ्युटावर निर्माण गर्ने तयारीमा छौं । नगरपालिकाभित्रकै ५, ६ वटा गाउँमा होमस्टे संचालनमा ल्याएका छौं । पर्यटक अड्याउने पूर्वाधार तयार गर्दैछौं ।
प्रश्नः यतिले मात्रै पर्यटन प्रवद्र्धन हुन्छ ?
उत्तरः हाम्रै पहलमा करीब सात वर्षमा निर्माण सक्ने गरी ‘स्मार्ट फिल्म सिटी’ निर्माणको अवधारणा अघि बढाएका छौं । यसको ‘डीपीआर’का लागि ‘फिजिविलिटी’ अध्ययन गर्ने तयारी हुँदैछ । एक वर्षमा डीपीआर सकेर भौतिक संरचना निर्माण थाल्ने प्रक्रिया अघि बढाइएको छ । पूर्वाधार निर्माण सुरु भएको पाँच वर्षमा संरचना तयार गरिनेछ । थप दुई वर्षमा संरचना निर्माणकार्य पूरा हुने गरी योजना छ । यसका लागि पाँच हजार रोपनीमा जग्गा चाहिन्छ । स्मार्ट फिल्म सिटीमा स्वदेशी तथा विदेशी जुनसुकै खालका फिल्म सुटिङ गर्न मिल्नेछ । यसका लागि बेंसीसहर नगरपालिका ३, ४, ५ र ९ मा पर्ने सार्वजनिक जग्गालाई ‘लिज’ मा लिएर अन्तराष्ट्रियस्तरको फिल्म सिटी निर्माण गर्ने तयारी गरेका छौं । प्रारिम्भक अनुमान पाँच अर्ब ९० करोड भनिएपनि ‘डीपीआर’ पछि पूर्ण रुपमा लागत अनुमानको हिसावकिताव आउनेछ । फिल्म सिटीमा इटालियन कम्पनीको ८० र नेपाली कम्पनीको २० प्रतिशत लगानी रहेनेछ । सुविधासम्पन्न फिल्मसिटी निर्माण भएपछि अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त फिल्म छायांकन गर्न र सम्पादन समेत गर्न सकिने छ । १६ वटा फिल्म एकसाथ छायांकन गर्न मिल्ने गरी छायांकनस्थल बनाइने भएको छ ।
प्रश्नः पर्यटन प्रवद्र्धनका कार्यक्रम के–के गरेका छन् ? अहिले चलेको होमस्टेको लहरलाई कसरी लिनुभएको छ ?
उत्तरः होमस्टेको लहर मात्रै होइन । यसले स्थानीयको आयस्तर बृद्धि गर्न सुरु गरिसकेको छ । हिजो ५ रुपैयाँको मुख देख्न समेत मुस्किल हामी, अहिले सहकारी र बैंकमा पैसा राख्न सक्ने भएका छौं । होमस्टे प्रवद्र्धनबाट हाम्रो संस्कृतिको संरक्षण र संवद्र्धनमा टेपा पुगेको छ । रक क्लाईम्बिङ, ¥याटिफ्ङ र प्याराग्लाईडिङको लागि योजना बनाएका छौं । यसको सम्भावित अध्ययनका लागि बजेट छुट्याएका छौं । पुरानोकाटेमा रक क्लाईम्बिङ, पुमागाउँ, गाउँभाचोक र मकैडाँडाबाट प्याराग्लाइडिङ, बेलौतीविसौनाबाट ¥याफ्टिङ भइरहेको छ ।