कास्की, असोज २ गते । गण्डकी प्रदेशमा करिब १५ सय बढी मानिसमा डेङ्गु संक्रमण भइसक्दापनि नियन्त्रणमा लापरवाही भएको भन्दै सर्वसाधारणले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई गुनासो गरेका छन् । प्रदेश सरकारले सञ्चालन गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा पोखराका गोविन्द रिजालले गुनासो गर्दै दिनदिनै फैलिरहेको रोग नियन्त्रणका लागि आएको अनुगमन टोलीले आफ्नो घरमा गरेको व्यवहारको बारेमा गुनासो गर्नु भएको छ । उहाँले आफ्नो घरमा आएको टोलीले बाल्टीको पानी खन्याएपनि न्यूनीकरण र बच्ने उपायबारे केही सल्लाह सुझाव नदिएको बताउनुभयो ।
‘तपाईको घरमा लार्भा भेटियो भन्दै बाल्टीको पानी खन्याए’ उहाँले मुख्यमन्त्रीसँग गुनासो गर्नुभयो– ‘तर न्यूनीकरण र यसबाट बच्ने उपायको बारेमा केही नभनी गए ।’ पोखरा महानगरपालिकाको वडा न. १७ घारीपाटनमा खटिएको टोलीले गत शनिबार यस्तो व्यवहार गरेको रिजालको भनाई थियो । उहाँले प्रदेशले रोग नियन्त्रणका लागि छुट्याएको बजेटका प्रभावकारी कार्यन्वयन नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।
जवाफमा मुख्यमन्त्री गुरुङले डेंगु रोग विरुद्ध प्रदेश सरकार गंम्भीर रहेको बताउनुभयो । उहाँले सम्बन्धित मन्त्री र सचिवलाई डेङ्गु विरुद्धको काम थप प्रभावकारी बनाउन दुई दिन अघि मात्र निर्देशन दिएको जानकारी गराउँदै पोखरामा उपत्यका थप कार्यक्रम आउने बताउनुभयो । पोखराका प्रत्येक टोल विकास सँस्था र विभिन्न आमा समुह तथा क्लबलाईपनि डेङ्गु विरुद्ध परिचालन गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । प्रदेश सरकारले यसअघि नै डेङ्गु नियन्त्रणकालागि भन्दै २१ लाख रुपैया प्रदेश स्वास्थ्य निर्देशालयलाई उपलब्ध गराइसकेको छ ।
तनहु“ देवघाटका शिव अधिकारीले गाउँपालिकाले कर संकलन गर्न नसकेको विषयमा गुनासो गर्नुभयो । देवघाट गाउँपालिकाले व्यापारमा लगायको कर व्यापारीले नतिरेको र गाउँपालिकाले यसमा चासो नदेखाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । जवाफमा मुख्यमन्त्री गुरुङले आफुले गाउँपालिका अध्यक्षसँग यसबारेमा जानकारी लिने र राजश्व उठाउँने कामलाई कमी हुन नदिने बताउनुभयो ।
स्याङ्जा भीरकोटका मोहोन गुरुङले ५० लाखसम्मको विकास योजना उपभोक्ता समितिमार्फत गराउने नियम संसोधन नगर्न सुझाव दिनुभयो । जवाफमा मुख्यमन्त्रीले नियम संसोधन नगर्ने तर प्रभावकारी अनुगमनको तयारी सरकारले गरिरहेको बताउनुभयो । मंगलबार अन्य गुनासोकर्ताले तनहु“को व्यास सडक खण्ड मर्मत, रुपाताल जग्गामा लालपुर्जा नभएकाहरुको मुआब्जा विषयमा समास्या रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।