शिक्षकले अपनाउनुपर्ने एक जीवनशैली

नन्दलाल आचार्य

म अबुझ संसारमा छँदा कार्यक्रम सञ्चालिका सरिता लामिछाने कार्यक्रमको अन्तमा सधैँ भन्ने गर्थिन्– ‘व्यस्त बन्नुस्, स्वस्थ रहनुस्’ । उनको कर्णप्रिय स्वर सुन्न लालायित हुन्थेँ तर त्यो भनेको के हो, त्यसबेला ठम्याउनै सक्तिनथेँ । अन्तिम वाणी सुन्न चित्त व्यग्र हुन्थ्यो, तर त्यसपछि कार्यक्रम नै समाप्त हुने भएकाले कार्यक्रमको प्रारम्भदेखि नै छुट्टिनुपर्छ भन्ने भय हुन्थ्यो । उनी चेतनामूलक कार्यक्रम चलाउँथिन् । चेतनामूलक भनेपछि मलाई खुब मन पर्थ्यो । अहिले त हामी चेतनाहीनताले गाँजेको समयसँग हातेमालो गर्दै छौँ । उत्तिखेर त चेतनाको खाँचो टड्कारो रूपमा देखिएको थियो ।

सधैँ शिक्षा, शिक्षण विधि/प्रविधि, अभिभावक शिक्षा र साहित्यका विविध पाटाहरूमा घोत्लँदा घोत्लँदै दीर्घरोगको पञ्जामा फँसियो । कस्तो जीवनशैली अपनाउँदा दीर्घरोगबाट मुक्ति मिल्ला भनेर खोजी गर्न थालियो । कम्तीमा हात मात्र चल्न सके कमाइ गरेर खान सकिन्थ्यो भन्ने विचार जन्मियो । आफूलाई आपत् पर्दा मात्र ‘स्वस्थ रहनुस्, व्यस्त रहनुस् !’ भन्नुको तात्पर्य बुझ्दै गएँ ।

एकपटक मिर्चैया, सिरहाको कुनै बोर्डिङ स्कुलमा पढाउने पुराना शिक्षक मित्र रमेश साह मकहाँ आए । म लौरो टेकेर बाङ्गो उभिएको देखेर आँखामा आँसु टिलपिल बनाए । अनि, हत्त न पत्त भने– “आफ्नो–आफ्नो कर्मको फल, भोग्नैपर्छ ! म पनि निस्क्रीय जीवनपद्धति अंगालेको फल भोग्दै छु । धेर मोटाएर, रोगको मालिक बनेको छु । तपाईं पनि भोग्नुस् ।” यसो भन्दै उनले अर्कातिर मुन्टो फर्काएर आँसु पुछे ।

म छक्क परेँ । र, मुखबाट आवाज निक्लेछ, “हैन के भन्नु सर ! जीवन सधैँ बोर्डिङ स्कुलको पेलान थियो । पाँच तलामाथि ओहोरदोहोर गर्दागर्दै श्वास फेर्न पनि पाइएको थिएन । सामुदायिक स्कुलमा प्रवेश पाएदेखि श्वास फेरिँदै थियो । भ्वाक्कै लडियो । चारचौरास पुगेर जम्ला हात गरेँ । ओखतीमूलोमा सर्वस्व गुमाउँदै गएँ । दुर्भाग्य ! भनेजस्तो सुधार भएको छैन । भए पनि कछुवा गतिमै हुँदै छ । अँझ कहिलेकाहीँ प्रेसर बढेर सगरमाथा नै छुन खोज्छ । यत्ति नै पो हो कि जीवनजस्तो बनाउँछ ।”

मेरो बोली टुङ्गिन नपाउँदै उनले कटु वाक्य निकाली हाले, “त्यही त भनेको ! सरकारी माष्टर बनेर कुरो बिग्रियो । जङ्गलमा छउञ्जेल युद्धरत् दल भ्रष्टमुक्त थियो, एक ढिक्का थियो । सार्वजनिक भएर सरकारी रथ हाँक्न थाल्यो र भ्रष्टचारमा मुछियो । टुक्रा–टुक्रा भयो । ऐसआराममा भुल्यो र अरूले जस्तै सातपुस्तालाई धन बटुल्न व्यस्त भयो । हो, तपाईं पनि त्यही बाटामा हिँड्नुभयो । पुरानो व्यस्त जीवनशैली छाड्नुभयो । नयाँ खुकुलो जीवनशैलीको मालिक हुनुभयो । प्रतिफलसामु छ, पक्षाघातले नराम्ररी थलिनुभयो । अनि, दशतिर भौतारिएर उपचारको खोजीमा डाक्टर/वैद्यहरू जाँच्दै हिँडिरहनुभएको छ ।”

जीवनको तीतो सत्य सुन्नुपर्दा मन क्षणिक अशान्त भयो । पीडितलाई अँझ पीडा थप्न किन आउनुपरेको हो कुन्नि ? भन्ने लाग्यो । यद्यपि उनका तर्कहरू स्वीकार्नै पर्यो । किनभने उनका कुरा सही थिए । म अलिक सुविधाभोगी भएकै थिएँ । पहिले योग, ध्यान र प्रणायमका लागि समय दिन्थेँ । पढ्न र लेख्न पनि उत्तिक्कै व्यस्त थिएँ । स्कुल, कलेज पढाउँदा उत्तिक्कै चनाखो रहनुपर्थ्यो । पत्रपत्रिकाहरूमा रचनाहरू लेख्नुका अतिरिक्त ‘मूलबाटो’ साहित्यिक पत्रिका र ‘शिक्षा–दीक्षा’ शैक्षिक मासिक पत्रिका सम्पादन समेत गर्थेँ । सरकारी माष्टर बनेपछि सबै काम छुटे । विहानदेखि नै दौडधुप सुरू हुन्थ्यो, रात नपरूँञ्जेल सोही क्रम चलिरहन्थ्यो ।

यता आएपछि खाली स्कुल पढायो, पकायो, खायो र विस्तरामा पल्टियो । उकालो चढ्नु पनि थिएन, ओराली झरूँला भन्ने त्रास पनि थिएन । त्यही आनन्दमा शरीर रोगाएछ । अलिकति तनाव पर्नासाथ हावाको झोक्काले रूख गल्र्याम्मगुल्र्लुम ढलेझैँ ढल्न पुगेँ । उठ्न जमर्को गर्दागर्दै वर्ष दिन बिते । न उठ्न नै सकिएको छ न ढलेको ढल्यै गर्न पाइएको छ । न यताको न उताको पो भइएको छ ।

उनै रमेशले राजीव दीक्षितका स्वास्थ्यसम्बन्धी प्रवचन सुन्न भनेँ । स्वामी रामदेवले सिकाउने पतञ्जली योग, प्रणायाम गर्न सल्लाह दिए । अर्का मित्र ध्यान निर्दोष उर्फ रामकुमार चौधरीले भने दार्शनिक ओशोद्वारा प्रतिपादित विहानको डाइनामिक ध्यान, बेलुकाको कुन्डिलिनी ध्यान र अरू बेला अक्रीय ध्यान गर्न सल्लाह दिए । यी सबै कुरा इन्टरनेट युटुवमा पाइँदा रहेछन् । खोजीमेली गरी म पनि तिनमै ड्ब्दै गएँ, गइरहेको छु । र, सम्झिरहेको छ– सास रहेसम्म ठिक हुने आश राखेर भविष्यमा पनि सक्रिय जीवन बनाइरहने छु ।

त्यसैले यस पटक मैले एउटा जीवनशैली सुनाउने धृष्टता गरेको छु । यसलाई मनन गरी अपनाउन सके मजस्तो दीर्घरोगी घरको मालिक बन्नुपर्दैन भन्ने लागेको छ । मेरा कुराले कसैलाई रत्तिभर पनि प्रभाव पारी सक्रिय जीवन जिउने प्रेरणा दिएछ भने म आफ्नो जीवन र लेखन कर्मलाई धन्य ठान्ने छु ।

तीन हजार वर्षपूर्व महर्षि वाग्भट्टद्वारा रचित ‘अष्टाङ्ग हृदयं’ पुस्तकमा स्वस्थ रहने उपाय वताइएको रहेछ । ‘अष्टाङ्ग हृदयं’ ग्रन्थलगायत अन्य आयुर्वेदमा भनिएको छ– पित्त, वायु र कफको असन्तुलनले मान्छेलाई रोग लाग्छ । यी त्रिदोषलाई सन्तुलनमा राख्न सके कहिल्यै रोगी हुनुपर्दैन । निद्राले यिनलाई सन्तुलनमा ल्याउँछ । त्यसैले पर्याप्त समय सुत्नुपर्छ । मालिसले वायु कम हुन्छ । त्यसैले मसाज, कसरत, ध्यान, योग, प्रणायाममा समय खर्चनुपर्छ । र, उल्टीले कफ शान्त हुन्छ । यसैबाट प्रभावित मैले अपनाएको र अपनाउन रूचाएको जीवनशैली यस्तो छ–

रातमा सुत्नु अघि दाँत सफा गर्छु । विहान उठ्नासाथ चिया पिएजस्तो गरेर मनतातो पानी टन्न पिउँछु । खाना खानुभन्दा आधा घण्टा अघि र खाना खाएको डेढ घण्टा पछि मात्र पानी पिउँछु । खानासँगै वा खाना खानासाथ तरल पदार्थ पिउनै परे तरकारी/दालको रस पिउँछु । अरू कुरा भने विहान घरमै बनाएको मौसमी फलको रस, दिउसो दही वा लस्सी (हृदयरोगी नहुँदा) र रातमा मनतातो गाईको दूध पिउने गर्छु ।

फ्रिजको पानी कहिल्यै पिउँदिनँ । पंखाको हावामा धेरैबेर बस्दिनँ । दिउसो चिसो पानी पिउनै परे बरू माटाको भाँडोमा राखिएको चिसो पानी पिउँछु । विहान सूर्योदय भएको ३ घण्टाभित्र खाना खाइसक्छु । आफ्नो रुचिको नभए पनि पोसिलो खाना पेटभर खान्छु । दिउसो हल्का नास्ता गर्छु । र, २०–४० मिनेट मात्र आराम गर्छु ।

संभव भएसम्म रातको खाना सूर्यास्तपूर्व नै खान्छु । खाना खानासाथ कम्तीमा पनि ५०० कदम सुस्तरी हिँड्छु । खाना बनाउन भरसक फ्रिज, माइक्रोवेव, ग्याँस चुलो, प्रेसर कुकर तथा एल्मुनियमका भाँडाको उपयोग गर्दिनँ । संभव भएसम्म दाउरा चुलोकै प्रयोग गर्छु । खाना पकाउँदा हावा आवतजावत हुने ठाउँमा भाँडाको मुख नछोपी पकाउँछु । रिफाइन तेलको प्रयोग कहिल्यै गर्दिनँ । आफ्नै बारीमा उब्जने सरसौं, तोरी, तील, आलस, बदाम, नरिवल आदिको तेल प्रयोगमा ल्याउँछु ।

खानामा आयोडिन नूनको सट्टामा सिधे नूनको प्रयोग गर्छु । चिनीको साटो सख्खर वा धागोवाला मिश्री उपयोगमा ल्याउँछु । भैँसीको दूध र त्यसका परिकारले कफ, पित, बाथ बढाउँछ भनेर सन्तुलनमा राख्न गाईको दूध र त्यसबाट निर्मित परिकार सेवन गर्छु ।

कुनै प्रकारका नशालु पदार्थको सेवन गर्दिनँ । चिया, कफी, मासु, मैदा र बेकरीका खानेकुरा सेवन गर्नबाट टाढै रहन्छु । साह्रै मन लागे खबटावाल माछालाई उसिनेर थोरै नून छर्की खान्छु । भुटेको, तारेको खाना जीव्रोका लागि स्वादिलो हुन्छ तर शरीरका लागि हानिकारक हुन्छ । त्यसैले यी परिकारबाट टाढै रहन्छु । सधैँ पूर्व दिशातर्फ शिर बनाएर सुत्छु । सुत्नु अघि सकारात्मक विचारसहित मनोविनोद गर्छु । यसले मेरो अवचेतनमनलाई मलजल प्राप्त हुन्छ । र, मैले बोले गरेको कार्य सर्वस्वीकार्य हुँदै गएको छ ।

बोक्रावाला दाल, तरकारी आदिको उपयोग गर्छु । विहान–बेलुका प्रत्येक दिन २ थोपा गाईको घिउ नाकमा हाल्छु । यसो गर्दा एलर्जी हट्छ, श्रवनशक्ति बढ्छ । मानसिक शान्ति मिल्छ र मेमोरिपावर पनि बढ्छ । चिल्ला खान मनाही गरेका हृदयरोगीलाई पनि गाईको घिउले फाइदा पुर्याउँछ । नाकमा घिउ हाल्दा रुघाखोकी, सर्दी हट्छ, रातमा मस्त निद्रा लाग्छ ।

संसारका सफल व्यक्तिले अपनाउने गरेका तल वर्णित ६ वटा ‘मोर्निङ ह्याबिट’लाई मैले पनि आफ्नो जीवनको आदत बनाउने प्रयत्न गरेको छु । ती हुन्–

१. साइलेन्स अर्थात् शान्त– विहान ४ बजेको सेरोफेरो (जसलाई अमृत बेला पनि भनिन्छ)मा उठेर मनलाई शान्त बनाउँछु । चराचुरुङ्गी चिरबिराएको र नदीनाला वगेको आवाज सुन्छु । विशेषत: अक्रीय ध्यानमा मग्न हुन्छु । यसले मनलाई शान्त बनाउँछ, अपूर्व आनन्द दिलाउँछ ।

२. एफर्मेसन्स अर्थात् सकारात्मक बातचित– शरीर र मन शान्त भएपछि स्वयम्मा सकारात्मक बातचित गर्छु अर्थात् सारा नकारात्मक कुराहरू बिर्सी सकारात्मक पाटाहरू मात्र सम्झन्छु । एक्लै मनोवादमा मस्त र मग्न हुन्छु । सकारात्मक कुरा दाहोर्याइरहँदा त्यसलाई अवचेतन मनले पनि सत्य मान्न थाल्दो रहेछ । र, परिणाम पनि सकारात्मक हुँदै जान्छ ।

३. भिजुलाइज अर्थात् दृष्याङ्कन– आफूले गर्न चाहेका वा आफू हुन चाहेका कुराहरू साकार भएको कल्पना गर्छु । सपना देख्दैमा पनि कतिपय नकार पाटाहरू सकारमा बदलिँदै गएको र मनमा उत्साह थपिएको अनुभव गरेको छु ।

४. एक्सरसाइज अर्थात् कसरत/योग/ध्यान/प्रणायाम– म खाली पेटमा विहान–बेलुका डेढ–डेढ घण्टा जति समय यसमा बिताउँछु । राजविराज आयुर्वेद अस्पतालका प्रमुख डा. शिवशंकर यादव, राइजिङ स्टार पब्लिक स्कुल, राजविराजका शिक्षक तथा सञ्चालकद्वय सुनिल चौधरी र श्यामप्रीत मण्डल अनि युवा पत्रकार श्यामसुन्दर यादवलगायतका महानुभावहरूको सल्लाह, सुझाव र दवावमा अनुलोमविलोम, भस्त्रीका र कपालभाति प्रणायमलाई विशेष जोड दिँदै आएको छु । यसले नशारोगीलाई विशेष लाभ पुर्याउँछ रे । मनको बेचैनी भगाउँछ रे । अनि, सकारात्मक सोच र समझ जन्माउँछ रे ।

५. रिडिङ अर्थात् अध्ययन– त्यसपछिको दैनिक कर्म अध्ययन हो । मनलाई बोझ थप्ने हैन, बोझ कम गर्ने प्रेरणादायी जीवनी, कथा, उपन्यास आदित्यादि अध्ययनमा समय बिताउँछु । एकाविहानै अखबारका कुरा पढेर र सुनेर सारा दिन खराव गर्दिनँ । ती कुरा दिउसो मात्रै पढ्छु ।

६. स्कारबिङ अर्थात् लेखन– मसँग सधैँ डाइरी र डटपेन हुन्छ नै । आफ्नौ दैनिक डायरी बुँदागत रूपमा लेख्छु । आफ्नो मनमा उब्जिएका भावनाहरू लिपिबद्ध गर्छु । तीतो–मीठो अनुभवले कटुसत्य अभिव्यक्त गर्छ । पछि पढ्दा र सम्झँदा मनै आल्लादित हुन्छ । मेरा पुराना केही अनुभूतिहरू यस्ता छन्–

हरेक बच्चामा विलक्षण दक्षता हुन्छ । सबैका सपना प्यारा हुन्छन् । बच्चाहरूलाई सपना देख्नबाट बञ्चित पारे समाजको अपराध भइन्छ । विद्यार्थीलाई अन्वेषण कार्यमा लगाउनु शिक्षकको धर्म हो । यद्यपि बाटामा आएका व्यवधानलाई हटाउन मार्ग देखाई बिनाअवरोध खोजयात्रामा निस्कन सहयोग गर्नुपर्छ । बच्चाको संगत पाए संसारको सबै खुशी भेटेको अनुभव हुन्छ । विद्यार्थीकै भाका र लयमा शिक्षकले आफूलाई ढाल्नुपर्छ । अर्थात् आफैँ बच्चा बनेमा मात्र बालमनोलोकमा विचरण गर्न पाइन्छ ।

अभिभावकले आफ्ना बच्चालाई खेलौना नदिए क्षणभर रुन्छन् तर असल संस्कार नदिए जीवनभर रुन्छन् । आजका बच्चाको भविष्य कस्तो बनाउने त्यो हामी अग्रजकै हातमा छ । हाम्रा हरेक क्रियाकलापको असली अनुकरणकर्ता हाम्रै बच्चा हो । भोलिको दिन सुनौलो पार्ने हो र वास्तविक नयाँ नेपालको निर्माण गर्ने हो भने घरपरिवारमा अभिभावक, विद्यालयमा शिक्षक र समाजमा अग्रजहरू संस्कारयुक्त हुनु आजको आवश्यकता हो । किताब त ज्ञान सिकाउने एक माध्यम न हो, ज्ञान त जताततै छरिएको छ, शिक्षकले आफ्ना विद्यार्थीलाई त्यो ज्ञान बटुल्ने कला सिकाइदिनुपर्छ ।

मान्छे हर्दम होस्मा हुनुपर्छ । हरेक काम होस्ले गर्दा धर्म आर्जन हुन्छ । होस् गुमाएर गरिएको कर्मले पाप कमाइन्छ । भरसक मान्छले अरूको खुशी लेख्ने डटपेन बन्नुपर्छ । नभए पनि अरूको दु:ख मेट्ने इरेजर भने अवश्य हुनुपर्छ । समस्या भोग्न सक्नेले मात्र सफलताको स्वाद पाउँछ । विद्यार्थीले एउटै लक्ष्य, त्यसकै ज्ञान, त्यसमै मेहनत र त्यही प्राप्त गर्न दृढ सङ्कल्पित रहे कहिल्यै असफलता भोग्नुपर्दैन । कसैले पनि सकारात्मक सपना देख्न चुक्नुहु्न्न ।

दृढ सङ्कल्पले नै आधा सफलता हात पर्छ । अध्ययनको जरो तितो हुन्छ तर फल चाहिँ मीठो हुन्छ । निडर व्यक्तिले समस्यालाई स्वागत गर्छ । मान्छेको अनुहारमा नाच्ने मुस्कान जीवनको उपहार हो । त्यसलाई कायम राख्नेले समाजलाई नै उज्यालो बनाउँछ । त्यसलाई आँसुले पखाल्ने र क्रोधले मेट्ने काम गर्ने आफू पनि अँध्यारोमा जाकिन्छ र अरूलाई पनि कराल खोपिल्टोमा जाक्छ । मुस्कानको घर मान्छेको अनुहार नै हो ।

असल कर्मद्वारा आफ्नो भाग्य पनि आफैँ लेख्नुपर्छ, अरूलाई लेख्न दिनुहुन्न । निराश हुनु भनेको आफ्नो कर्ममा आफैंले अविश्वास गर्नु हो । विश्वासले मात्रै सफलताको स्वाद दिलाउँछ । हाम्रो बोलीले नै धेरै जसो समस्या जन्माउने र समाधान गर्ने गर्दछ । के भनेरभन्दा पनि कसरी भनेर समस्या पैदा भएको हो । नम्रतापूर्वक भनिएको कटु कुरो पनि गुलियो मानिन्छ । राम्रो कुरा कटु पाराले भने संदेहजनक हुन्छ । संदेहमा विश्वासको बास हुन्न । विनाविश्वास जगत् चल्दैन ।

बदला लिएर हैन आफूलाई बदलेर समस्याको समाधान हुन्छ । झैंझगडाले सम्बन्ध टुटाउनुको साटो सम्बन्ध बढाएर झगडालुलाई जुटाउनु ठुलो कुरा हो । अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नुहुन्न किनभने सबैसँग कमजोरिरहन्छ र अरूसँग पनि हँसिमजाक गर्ने सामर्थ्य हुन्छ । जीवनलाई आफ्नै लय र सूरमा हिँड्न दिनुपर्छ । प्रतियोगिताजस्तो अरूलाई उछिन्न खोज्नु बुद्धिमानी होइन । नकारात्मक विचारले सकारात्मक जीवन बनाउँदैन । फलामले फलामलाई काटेजस्तो पनि क्रोधले क्रोधलाई काबुमा ल्याउँदैन । बरु विनास मात्रै जन्माउँछ ।

म उपर्युक्त वर्णित कामकुरालाई आफ्नो दैनिक जीवनको सूत्र बनाउन प्रयत्नशील छु । यी कुराहरूलाई सबै सरोकारवालाले शतप्रतिशत आफ्नो जीवन–शैली बनाउने हो भने ‘स्वस्थ रहन र व्यस्त बन्न !’ कसैको भर पर्नु नपर्लाभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

–नन्दलाल आचार्य
शिक्षक, श्रीजनता माध्यमिक विद्यालय, गोलबजार–४, सिरहा ।
सम्पर्क– ९८४२८२९२०६

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार