स्थानीय सरकार गठन भएको करिब २८ महिना पुग्न लागेको छ । नेपालका सात सय ५३ वटा स्थानीय तहमध्य सबैभन्दा ठूलो भुभाग ओगटेको महानगरपालिका हो पोखरा महानगरपालिका, साविक पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई गाभेर बनाइएको महानगरपालिका पर्यटकीय राजधानीको रुपमा परिचित गण्डकी प्रदेशको केन्द्र भित्र पर्दछ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँने संविधानको परिकल्पना अनुसार गठन भएको पोखरा महानगरपालिकाले जनतालाई सरकारको अनुभूति हुनेगरी के कती काम गरिरहेको छ ? यही विषयमा पत्रकार तारादेवी चापागाई दुवेले पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीसँग गर्नुभएको कुराकानी ।
संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार गठन भएका छन् । एउटा स्थानीय सरकार प्रमुखको रुपमा संघीयता कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?
– संघीयता लागू भएको करिब तीन वर्षको अवधीमा अहिलेपनि संघीयता शिशु अवस्थामा रहेको छ । अहिले यसले संविधानत संस्थागत विकास उन्मुख भएर अगाडि बढीरहेको छ । यसको कार्यान्वयनको प्रक्रिया सुभारम्भ भएकाले यसको विकास सहज रुपमा हुनेछ ।
स्थानीय सरकारलाइ जनआंकाक्ष अनुसार काम गर्न कस्ता कस्ता चुनौती छन् ?
– जनताको आकाक्षा पुरा गर्न र भएका गुनासा सुन्नका लागि स्थानीय सरकार तयार छ र जनआंकाक्ष अनुसार काम पनि गरिरहेका छौ । आफू नजिकै आफुले चाहेको समयमा भेट्न, बोल्न र लागेको कुरा भन्न सकिने सरकार छ । स्थानीय सरकारले बनाउनु पर्ने धेरै ऐन कानुन छन् । संघीय र प्रदेश सरकारले समयमा ऐन कानुन नबनाउँदा हामीले सोचेअनुसार काम गर्न र गर्न लागेको कामले पुर्णता पाउन सकेको छैन् । ऐन बनेपछि महानगरलाई कसरी व्यवस्थापन गर्नेदेखि गर्नुपर्ने काम बाँडफाँड गरी भएका चुनौती समाधान गर्न आवश्यकता छ ।
जनताले शुसासनको प्रत्याभुती नभएको गुनासो गरिरहेका छन् समस्या के छन् ?
– जनताबाट गुनासो आउनु स्वभाविक हो, शुसासन दिने प्रयत्न हामीले गरेका छौ र गर्नुपर्छपनि, नागरिकको कुरालाइ छिटो भन्दा छिटो समाधान गर्नु पर्ने पद्धती र परिपाटीको विकास हुँदैछ । अर्काे कुरा शुसासनलाई जोड दिनुपर्छ भनेर प्रविधिमैत्री वडा कार्यालयहरु बनाएका छौं । घर नक्सा पास र राजस्व संकलन वडाबाटै हुने व्यवस्था मिलाएका छौं । ३३ वटै वडामा सफ्टवेयर र इन्टरनेट पुर्याएर सेवा दिइरहेका छौं । प्रमुख सडकहरु बलियो बनाउन अस्फाल्ट पीच गरेर लैजाँदै छौं । शुसासनको प्रत्याभुती हुने काम गरेका छौ, अझै गर्नु पर्ने काम धेरै छन् ।
पोखराको आफ्नै बिशेषता र भौगोलिक विविधता छ अवको बिकासको मोडल के हो ?
– महानगरले कसरी जाने भनेर मोटामोटी खाका तयार पारेको छ । महानगरमापनि धेरै बिकट स्थानहरु छन् तिनीहरुलाई निकट ल्याउन खोजेका छौ । यसकालागि बिभिन्न योजनाहरु बन्दै छन् । जस्तै खानेपानी, सडक, विद्युत, ग्रिनरी, फोहोर ब्यवस्थापन लगायतका थुप्रै योजनाहरु छन् ।
पोखरालाई स्र्माट सिटी बनाउने चर्चा छ । यसका लागि के–के काम गर्नुभएको छ ?
– योजनाअनुसार काम गर्न नसकेको होइन् काम भै रहेका छन् । पोखरालाई सुरक्षित पार्ने बारेमा चिनसँग परामर्श गरेका छौं । यसका लागि हामीले निरन्तर रुपमा काम गरिरहेका छौ रिजल्ट निकाल्न केही समय लाग्छ । स्र्माट सिटी हुन सोही अनुसारको पुर्वाधार हुनु पर्छ । स्वास्थ्य, शुसासन, सुरक्षाको प्रत्याभुती, पार्किङ, सडक, यातायात, ढल, ग्रिनरी व्यवस्थापन लगायतका थुप्रै योजना आवश्यक रहेकाले यसका लागि लागिरहेका छौं । महानगर सिस्टममा सञ्चालनमा हुन्छ, सुशासन, व्यवस्थित सडक सञ्जाल, प्रविधिमैत्री सेवा हुनेछ । आधुनिक सहर निर्माणोन्मुख बन्नेछ । अहिले त गाउँपनि छ, सहरपनि छ । विश्वका सहरसँग तुलना गर्न सक्ने बनाउँने छौ । पोखरा सभ्य नागरिक बस्ने सिस्टमको महानगरपालिका हुनेछ । निर्माण गर्नका लागि महानगर निरन्तर लागेको छौ र रिजल्ट छिट्टै आउनेमा आशावादी छौ ।
तीन तहको सरकार बिच समन्वय हुन नसकेको हो ?
– समन्वय नै नभएको त भन्न मिल्दैन् संघियता भनेकै समन्वय सहअस्तित्व र सहकार्यले चल्ने हो । कतिपय ऐन कानुन नबन्दा यसका जटिलता रहे होलान् तर यसका आफ्नै दायरा रहेकाले सोहीअनुसार समन्वय गर्दै जाने भएपछि काममा कन्जुस्याइ गर्नुपर्छ जस्तो लाग्दैन । जति हुनुपर्छ भएकै होला हामी सुरुवाती चरणमा भएकोले त्यस्तो लागेको हुन सक्छ बिस्तारै यो समस्या समाधान हुनेछ ।
स्थानीय तहमा जनशक्ति अभावसँगै भएका कर्मचारीले समेत असहयोग गर्छन भन्ने सुनिन्छ ? पोखरामा अवस्था के छ ?
– समयअनुसार उपलव्ध प्रविधि अनुकूलको जनशक्तिको अभाव छ । वडामा इन्टरनेट र कम्प्युटर पु¥याइएको छ । त्यसलाई प्रयोग गर्ने जनशक्तिको अभाव छ । प्रशासनतिर प्रविधिसँग खेल्न जान्ने कर्मचारी अभाव छ । करपनि अनलाइन सिस्टममा लगिएको छ, यसका लागि दक्ष कर्मचारी थोरै छन । कर्मचारीहरुको साथ र सहयोग पाएपनि परिचालन र व्यवस्थापन गर्न केही असहज भएपनि असहयोग नै भन्न मिल्ने अवस्था छैन । स्थानिय सरकार भएपछि जति जनशक्ति आवश्यक थियो त्यो नभएको हो । यसलाइ ब्यवस्थापन गर्न समय लाग्छ र हुँदै गैरहेको छ । महानगरका कुनैपनि कर्माचारीको नियतवश असहयोग छैन् अहिलेको हिसाबले क्षमता बिस्तार गर्न नसक्दा जे रिजल्ट निकाल्नु पर्ने हो आएन होला तर महानगरको हकमा भन्नु पर्दा कर्मचारीको असहयोग कहि कतै छैन ।
यो दुई वर्षमा महानगरले गरेका उपलब्धी के–के हुन ?
– यो दुई वर्षको अवधीमा महानगरको पहिलो महत्वपुर्ण काम ३३ वटै वडामा अधिकारहरु विनीयोजन गरेका छौ । ३३ वटै वडामा सफ्टवेयर र इन्टरनेट पु¥याएर सेवा दिइरहेका छौं । दोस्रो हामी निर्वाचित भएर आएपछि हामी स्थानीय सरकार हौ । स्थानिय सरकार भएकोले हामीले धेरै ऐन कानुन बनाउनुपर्नेेछ । नेपालको संविधान– २०७२ एव्ां स्थानीय सरकार सञ्चालन ऐन– २०७४ ले निर्देश गरेबमोजिम छ वटा नीति, आठ वटा ऐन, १२ वटा नियमावली, १५ वटा निर्देशिका, १७ वटा कार्यविधि गरी ६० भन्दा बढी कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशित गरिसकेका छौ । यो अवधीमा सात वटा वडा कार्यालय भवन निर्माण, तीन विद्यालय भवन, आठ वडा कार्यालय निर्माणको चरणमा रहेका छन् । नगरका व्यस्त छ वटा चोकहरुको आइल्यान्डलाई घटाई ट्राफिक व्यवस्थापनमा सहज बनाउने, १० स्थानमा खुल्ला क्षेत्र संरक्षण तथा पार्क निर्माणको कामको सुरुवात गरिएको छ । फेवातालमा मिसिने हर्पनखोलासहित पाँच वटा खोलामा सिल्ट्रेसन ड्याम निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग मिलेर ३४ करोडको योजना अगाडि बढाएका छौं । सडक बीचका ८७ बिजुलीका पोल स्थानन्तरण, ३९ किमी कच्ची सडक पक्की गरिएको छ ।
दुई सय २५ किमी निर्माण तथा रिसिलिङ, ७३ किमी ढलान र २० किमी नयाँ सडकको ट्र्याक निर्माण, ६५ किमी नाली निर्माण, ७९ किमी पक्की नाला निर्माण, तीन सय ४७ वटा कल्र्भट निर्माण, ३१ वटा कजवे निर्माण, ३६ स्थानमा सिँचाइ पाइप क्रसिङ गर्ने कार्य, ३.६९ किमी रिटेनिङवाल,४.८३ किमी ग्याबियन वाल, ७४.३६ किमी सडक ग्राबेलिङ, २२.७५ किमी सडक कालोपत्र, ३ किमी सडक ढलान गर्ने कार्य बहु वर्षीय योजना तथा लक्ष्य अनुरुप अगाडि बढेको, चालु वर्षमा करिब २ अर्ब ४३ करोड लागतमा १ सय ४७ वटा योजनाहरुको टेन्डर गरीएको, एक वडा एक खेल मैदान अन्तर्गत २१ स्थानमा खेल मैदान निर्माणको काम सुरु, १५ स्थानमा सार्वजनिक शौचालय निर्माणको काम सुरु, १ सय १० किमी खानेपानी लाइन विस्तार, वडाको केन्द्रसम्म जोड्ने २७ वटा कनेक्टिङ सडक निमार्णको काम सुरु, सिर्जनाचोकमा अत्याधुनिक आकाशेपुल निर्माणको काम अघि बढेको र ७ स्थानमा पक्की मोटेरेबल पुल निर्माणको लागि बोलपत्र आह्वान गरी काम सुरु भएको छ ।
पोखरामा मापदण्ड विपरीत घरहरु बन्दापनि महानगर चुप लागेको आरोप छ नि ?
– १७ मिटर अग्ला घर बनाउन पाइन्छ । त्योभन्दा माथिको स्वीकृति दिंदैनौ । पोखराको स्थान जोखिमपूर्ण छैनन् । भूगर्भ विभागल दिएको सल्लाहअनुसार फरक–फरक स्थानमा फरक–फरक उचाईअनुसार भवन बनाउन दिने योजनामा छौ । अब भुउपयोग नीति बनाएर बनाएर कहाँ के गर्ने र कति अग्ला र कस्ता घर तथा भवन बनाउ दिने भनी प्रष्ट गर्छाैं । केही मापदण्ड विपरित घर बनेका छन्, हामी चुप लागेर बसेका छैनै तिनिहरुलाई अव महानगरले आफनो दायरामा ल्याउने प्रकुया समेत सुरु गरेको छ ।
धेरै पटक बिदेश भ्रमण गएको आरोप छ नी, भ्रमण जानुका उपलब्धी केही छन् ?
– बोलाएका जती सबै स्थानमा गएको भए त अझै धेरै हुने थियो, पोखरालाई प्रमोशन गर्नका लागि आवश्यकता अनुसार जानु स्वभाविक हो । म घुम्न भन्दापनि बैठक छलफलमा भाग लिन र समग्र पोखराको विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर विभिन्न दातृ संस्था, भगिनी संस्थाहरुसँग छलफल र बहसकालागि जाने गरेको छु । सबैभन्दा राम्रो कुरा त पोखरा पर्यटकीय शहरसँगै यसका गतिबिधिहरु चिनाउने काममा मेरो भ्रमणले धेरै सहयोग गरे जस्तो लाग्छ् ।
पोखरा महानगरको ट्राफिक ब्यवस्थापनको काम कसरी अगाडि बढेको छ ?
– पार्किङ व्यवस्थितसँगै सडक, यातायातसँगै ढल व्यवस्थित गर्दैछौ । यहाँ सडक भन्दा सवारी धेरै छन् । शहर सानो छ बाटा साँघुरा छन् र बिकल्प छैन् । अब महानगरले बिकल्प सहित जानुपर्छ भनेर पोखरा–कोत्रे जोडने सडक चार लेनको बनाउदै छौ । ठाउँठाउमा पुलहरु थप्दैछौ र बैज्ञानिक तरिकाले यसलाई ब्यवस्थापन गर्न निजि क्षेत्रसँग मिलेर जाने प्रयासमा छौ । बसपार्क वास्तवमा हामीले सृजना गरेको समस्या होइन् यो बिगतदेखि नै सृजित समस्या हो । बसपार्कको जग्गालाई कसरी उपयोग गर्ने भनी हामीले जमीन भएकालाई महानगरले बाटो खर्च दिएर पठाउने र नहुनेलाई महानगरले ब्यवस्थापन गर्ने गरि गृहकार्य सुरु गरेको छ । भविष्यमा बस पार्कलाइ सिटी बस पार्कको रुपमा अगाडी बढाउने छौ ।