५० वर्षपछिलाई सोचेर योजना बनाएका छौंः नगरप्रमुख शर्मा

साविक पर्वतका ११ वटा गाउँपालिकाहरु समेटेर बनाइएको नगरपालिका हो फलेवास नगरपालिका, पर्वतको बीच भागमा रहेको फलेवास नगरपालिका आर्थिक, भौतिक र साँस्कृतिक रुपले अति महत्वपूर्ण स्थान हो । भौगोलिक रुपमा ६२० मिटरदेखि २२२० मिटरको उचाइमा रहेको छ । फलेवास नगरपालिका तराई र पहाडी भुभाग जस्तै बनेर बसेको छ । तल्लो भागमा तराई क्षेत्र, माथिल्लो भागमा पहाडी भुभाग र डहरेको लेक हिमाली क्षेत्र जस्तै बनेर बसेको नगरपालिका हो । देशभरका नगरपालिकाका नगरप्रमुखहरु मध्य सबैभन्दा कान्छो नगरप्रमुखको रुपमा परिचित फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मासँगको कुराकानी ।

स्थानीय तहको जिम्मेवारी हाँकेको करिब तीन वर्ष पुग्नै लाग्यो यो अवधीमा के कस्ता कामहरु गर्नुभएको छ ?

– साविक पर्वत जिल्लाका ११ वटा गाउँविकास समिति समेटेर बनाइएको फलेवास नगरपालिका घोषण हुँदासम्म एक मिटरपनि सडक नभएकाले एकीकृत योजना बनाएर अगाडि बढाएका छौं । ११ वटै वडालाई समेट्नेगरी नगरचक्रपथ यसैवर्ष ट्रयाक खुल्दैछ, भित्री चक्रपथको रुपमा वडा नं. १, १० र ११ बाहेकका सबै वडालाई समेट्नेगरी ट्रयाक खुलिसकेको छ । यस्तै मुडिकुवा, देविस्थान र खानीगाउँलाई जोड्नेगरी न्यूक्लियस चक्रपथको रुपमा सडक निर्माण गरिरहेका छौं । यस्तै पर्वतको बीच भाग फलेवास र बागलुङको बीच भाग गलकोट जोड्नेगरी सडक निर्माणको काम भइरहेको छ । जुन सडक स्याङ्जा–कार्कीनेटा–फलेवास–जैमिनी–दुदिलाभाटी–गलकोट सडकलाई लाइफ सडकको रुपमा अगाडि बढाउँने काम गरिरहेका छौं । लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको कालीगण्डकी करिडोर कालोपत्रे हुने चरणमा रहेकाले त्यसलाई सम्पन्न गर्नका लागि अगाडि बढीरहेका छौं ।

नगरले खास देखिने र दीर्घकालिन रुपमा प्रभाव पार्नेगरी खास के काम गर्नुभएको छ ।

– यही नगरपालिका आसपास भएर बग्ने कालीगण्डकी नदीलाई जलासययुक्त आयोजना निर्माण गर्नुपर्ने भन्ने फलेवास नगरपालिकाको अगुवाईमा पर्वत र बागलुङका स्थानीय तहबीच छलफल गरेर अहिले ८४४ मेगावाट जलविद्युत आयोजना निर्माण गर्न सकिने भन्ने निष्कर्ष सहित अहिले सम्भाव्यता अध्ययनकालागि टेन्डर प्रक्रिया अगाडि बढी काम भइरहेको छ । यसले यस क्षेत्रको विकासमा थप मद्धत पुग्नेछ ।

भौतिक पूर्वाधार निर्माण लगायत सामाजिक विकासका क्षेत्रमा के कस्ता कामहरु गर्नुभयो ?

– शिक्षा विना आम मानिस समृद्ध बन्न सक्दैन भन्ने उद्देश्य सहित नगरपालिकाले शिक्षा क्षेत्रको आमूल परिवर्तनकालागि नीतिगत रुपमा अगाडि बढीरहेको छ । नगरपालिका क्ष्ोत्रमा रहेका ५५ वटा सामुदायिक विद्यालय मध्य गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य सहित कम विद्यार्थी भएका १२ वटा विद्यालय घटाएका छौं । शिक्षाको पुर्नजागरणको अभियान सञ्चालन गर्नकै लागि १५० जना शिक्षकहरुलाई गुणस्तरीय शिक्षाका लागि तालिम प्रदान गरेका छौं । कक्षा दुईसम्म अंग्रेजी माध्यमबाट पढाई गराउँन सुरु गरेका छौं जसका लागि नगरपालिकाले नै निःशुल्क पाठ्यक्रम उपलब्ध गराउँने काम गरिरहेको छ । गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकसँग सम्झौता गरेर अगाडि बढ्दै छौं । नगरस्तरीय अस्पतालका लागि प्रक्रिया अगाडि बढाएका छौं । हरेक वर्ष नगरपालिकाले स्वास्थ्य शिविर गरिरहेको छ । अब हरेक महिना विशेषज्ञहरु गाउँ गाउँमा पुग्नेगरी स्वास्थ्य सेवा दिने तयारी गरिरहेका छौं । जसका लागि बजेटको व्यवस्था समेत गरिसकेका छौं ।
तपाईको नगर कृषि उत्पादनमा पनि महत्व राख्ने क्षेत्र हो यहाँ नगरले के कस्ता कामहरु गरिरहेको छ ?

– नगरको कृषि विकासका लागि टुक्रे योजनाहरुबाट प्रतिफल प्राप्त गर्न नसकिने भएपछि नगरपालिकाले एक वार्ड एक कृषि फर्म, एक वार्ड एक पशुफर्म, एक वार्ड एक उद्यम, एक वार्ड एक घरेलु औजार उद्योग र एक बस्ती एक उत्पादनको नीति अगाडि बढाएका छौं । जुन कार्यक्रममा सहभागी हुनका लागि प्रत्यक्ष रुपमा उत्पादनमा लागेकाहरुलाई प्रोत्साहन गर्ने तयारी गरिरहेका छौं । साना योजना बनाएर तालिम, क्षमता अभिबृद्धि जस्ता कार्यक्रमहरु सञ्चालन गर्दा प्रतिफल प्राप्त गर्न समस्या भएकाले यस्तो अभियान सुरु गरेका हौं । त्यस्तै जग्गा चक्लाबन्दी गरेर बृहत उत्पादन गर्नका लागि समेत प्रोत्साहन गरेका छौं । त्यसमा लाग्नेहरुलाई प्रोत्साहन गर्नका लागि उसको जग्गामा उत्पादन हुने कृषि उपजको एकमुष्ट क्षती रकम समेत नगरपालिकाले दिने तयारी गरिरहेको छ ।

युवा उद्यमलाई कसरी प्रोत्साहन गर्नुभएको छ ?

– नगर भित्रका हरेक युवाहरु दक्ष बन्न सकुन भन्ने उद्देश्यले गत आर्थिक वर्षमा १२५ जना युवा युवतीलाई ११ विधामा तालिम सञ्चालन ग¥यो । जुन तालिम प्राप्त गर्नकै लागि भन्दापनि उद्यम गरेर आत्मनिर्भर बन्छु भन्नेका लागि बढी प्राथमिक थियो । नगरले तय गरेका काप्रेन्टर, जुत्ता सिलाउने, सिलाइकटाइ, ब्यूटीपार्लर, कपाल काट्नेलगायतका तालिम प्राप्त गरेका ८० जना भन्दा बढी युवा युवतीहरु अहिले स्वरोजगारको बाटोमा लागेका छन् । जसलाई आगामी दिनमा थप तालिम प्रदान गरि उनीहरुको सिपलाई अझ बढी दक्षता प्रदन गर्नेगरी योजना बनाएका छौं ।

पर्यटनलाईपनि समृद्धिको आधार मानिएको छ, तपाइको नगरले पर्यटन विकासमा के काम गरिरहेको छ ?

– फलेवास नगर क्षेत्र पर्वतको पुरानो बजार क्षेत्र भएपनि पर्यटन विकासमा त्यति चासो दिन सकिएको थिएन । हामी आएपछि वडा नं. २ को ठापाठानामा ‘मोडेल भिलेज’को रुपमा विकास गरी होमस्टे सञ्चालनमा ल्याएका छौं । होमस्टे सञ्चालनमा आएपछि यहाँ आउँने पर्यटकहरुलाईं खान बस्नको समस्या टरेको छ । प्रख्यात डहरेको लेकलाई ओपस जुको रुपमा विकास गर्न खोजीरहेका छौं । फलेवासकै २२ सय मिटरको उचाइमा रहेको समथर भुभागमा मनमोन शान्ति बाटिकालाई अध्ययनको पाठशालाको रुपमा विकास गर्नेगरी काम गरिरहेका छौं ।
नगरपालिका स्थानीय सरकारको रुपमा स्थापित भएपछि नीतीगत रुपमा के कस्ता कामहरु गरिरहेको छ ?

– हामीले प्रदेश र संघमा जसरी संसद चल्न सोही अनुसार काम गरिरहेका छौं । अहिलेसम्म ४० भन्दा बढी ऐन कानूनहरु बनाइसकेका छौं । हामीले सरकारको शासनअनुसार शाखाबाटै प्रस्ताव ल्याएर अगाडि बढीरहेका छौ । स्थानीय सरकारकार एकल सूचीमा रहेका कानून निर्माणमा हामीहरुले कसैलाई कुरेर बसेका छैनौं ।

यी त भए अहिलेसम्म भए गरेका काम दीर्घकालिन रुपमा प्रभाव पार्ने कस्ता कामहरु अगाडि बढाउँनुभएको छ ?

– हामीले अहिले नगर क्षेत्रमा रङ्गशाला, बसपार्क लगायतको छनोट गरेर वर्षौसम्मको समस्या समाधान गर्नेगरी काम सुरु गरिसकेका छौं । उद्योगग्रामको जग्गा व्यवस्थापन गर्न लागेका छौं, नगरको प्रदेश स्तरीय सभागृह निर्माणका लागि संघ सरकारसँग जग्गा माग भए अनुसार जग्गा प्राप्ती भएको छ । नगरपालिकाको कार्यालय स्थापनाका लागि न्यूनतम जग्गा भएपनि अली बढी जग्गा प्राप्त भएमा सोही अनुसार भवन बनाउँनेगरी काम अगाडि बढेका छौं । अहिले बनाएको नीतिले भोलीका दिनमा असर नगरोस भन्ने उद्देश्यले अहिले सडकको मापण्ड तय गरेका छौं, घर नक्सा व्यवस्थापन गरेका छौं नगर भित्रको करिडोर भएर जाने सडकको ३० मिटर, नगरचक्रपथ १५, दुई–तीन वार्ड जोड्ने ११ मिटर, उपशाखा आठ मिटर र साना सडकको छ मिटर कायम गरेका छौं । कम्तीमा पनि नगरभित्रका भित्री गल्लीहरुमा दमकल र एम्बुलेन्स वारपार गर्न मिल्नेगरी सडकको मापदण्ड तय गरेका छौं । यसरी काम गर्दा अवको ५० वर्ष यही क्षेत्रमा काम गर्नका लागि बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था छैन ।

स्थानीय तहमा के कस्ता समस्या भइरहेको छ ?

– सबैभन्दा बढी समस्या कर्मचारी समायोजनले परेको छ । कर्मचारी समायोजन गर्दा उल्टो भएकाले समस्या भएको । अहिलेपनि प्राविधिक कर्मचारीहरु पाउन समस्या छ । संघ तथा प्रदेशले आफ्नो अधिकार माथि हस्तक्षेप गरिरहेका छन् । आधारभूत शिक्षा स्थानीय तहमा अधिकार प्राप्त भएपनि संघ र प्रदेशले शिक्षक सरुवा लगायतका काममा अवरोध सिर्जना गरिरहेको छ । संविधानमा प्राप्त अधिकार अनुसार काम गर्न सके सहज हुनेछ ।

अन्तमा केही भन्नु छ ?

– पहिलो कुरा त मैले पैसा वितरण गर्नका लागि नगरपालिकाको नेतृत्व लिएको होइन । धेरै ठाउँमा वितरणमुखी बजेटका कारण काम गर्न समस्या परीरहेको छ । हामीले अबको नेतृत्वले ५० वर्षसम्म नीतिगत रुपमा समस्या भोग्नु नपर्नेगरी काम गरिरहेका छौं । बजेटपनि सोही अनुसार लगानी गरेर दीर्घकालिन समस्याको समाधानतर्फ ध्यान दिएका छौं । प्रत्यक्ष जनतासँग जोडिने सरकार भएकाले स्थानीय सरकारप्रति केही असन्तुष्टीका स्वहरु सुनिन्छन् । संघ र प्रदेशले जनताले थाहा नपाउनेगरी कर संकलन गर्ने तर स्थानीय तहले जनताले थाहा हुनेगरी कर उठाउँनुपर्ने भएकाले केही गुनासाहरु आउने गरेपनि जनतासँग समन्वय गरेर अगाडि बढीरहेका छौं । स्थानीय सरकारको समृद्धि बिना मुलुक समृद्ध बन्न नसक्ने भएकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर अगाडि बढ्न सके समृद्ध नेपाल निर्माण सम्भव छ ।

साभारः गोरखापत्र

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार