काठमाडौं । सरकारले लकडाउन अवधिपछि तत्काल ९६ लाख ७९ कामदारले रोजगारी गुमाउने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो।
कोभिड–१९ को महमारी नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दीले मुख्य प्रभावित ११ क्षेत्रमध्ये ९ वटा क्षेत्रले ठूलो संख्यामा रोजगारी गुमाउने अनुमान छ। आयोगले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत विभिन्न निकायबाट तथ्यांक संकलन गरेको थियो।
लकडाउन अगाडिसम्म ११ क्षेत्रमा एक करोड ५४ लाख कामदार कार्यरत रहेको तथ्यांकले देखाउँछ। ती क्षेत्रमध्ये सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कति कामदार छन् यकिन नभए पनि रेकर्डमा आठ लाख ३० हजार देखिएको छ। यो पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, होटल, होमस्टे, साहसिक पर्यटन र पुरातत्व सम्बन्धित क्षेत्रबाट संकलित तथ्यांक हो। यो क्षेत्रका कामदार प्रायः सबैको रोजगारी गुम्ने अनुमान गरिएको छ।
करार नवीकरण गर्न बाँकी, दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने तथा असांगठनिक क्षेत्रका कामदार अहिले नै संकटमा परिसकेका छन्। त्यसबाहेक अरु क्षेत्रका व्यवसायीले पनि सरकारले समयमै प्याकेज ल्याउन नसके तलब खुवाउन नसक्ने चेतावनी दिएका छन्।
११ क्षेत्रमध्ये दुई वटा क्षत्रेमा भने कामदारको संख्या थपिने सक्ने आयोगको अध्ययनले देखाएको छ। लकडाउनपछि सहरी विकास मन्त्रालयअन्तर्गतका सहरी पूर्वाधार, भवन र आवास निर्माण कार्यक्रममा १३ हजार कामदार थपिने अनुमान गरिएको छ। निर्माणका काम नबिथोलिने भएकाले अन्य क्षेत्रका कामदार पनि यसमा आकर्षित हुन सक्नेछन्।
त्यसबाहेक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमातहतका प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४० हजार कामदार थपिने अनुमान गरिएको छ। अन्नपूर्ण पोष्ट बाट