पोखरा, जेठ २० गते । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षका पुरुष र विरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै पर्वत जिल्लामा पहिलोपटक कोरोनाका संक्रमित भटिएका छन् । पर्वतको कुश्मामा रहेको क्वारेन्टाइनमा बसेका फलेवास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टी भएका १० जनानै स्थानीय तहको समन्वयमा भारतबाट नेपाल भित्रिएका थिए । उनीहरुलाई नेपाल भारत सिमाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । अहिलेसम्म गण्डकी प्रदेशका ११ जिल्ला मध्य स्याङ्जामा १२, नवलपरासीमा नौ, बागलुङमा आठ, पर्वतमा पाँच, तनहुँमा एक, म्याग्दीमा एक र लमजुङमा एक जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । ति मध्य बागलुङका दुई र लमजुङका एक जना निको भएर घर फिर्ता भइसकेका छन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा संकलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल चितवनको प्रयोगशालामा परीक्षण गरिदै आएको छ । गण्डकी प्रदेशमा भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि परीक्षणको दायरा समेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबारसम्म तीन हजार ७०१ जनाको स्वाब नमूना संकलन गरिएकोमा तीन हजार ३०९ जनामा कोरोना संक्रमण नदेखिएको र ३६३ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।