चौतारा । गएरातिको परेको अविरल वर्षाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित कात्तिकेमा पहिरो जाँदा एक घर बगाएको छ । साथै झोलुङ्गे पुललाई समेत उच्च जोखिममा पारेको छ ।
स्थानीय प्रेम श्रेष्ठको घर बगाउँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको र घरधनि बिहीबार बेलुका नै घर छाडेकाले मानवीय क्षति नभएको वडाध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो ।
त्यहाँस्थित लप्से खोलामा रहेको झोलुङ्गे पुलसमेत उच्च जोखिममा रहेकाले वडा नं २ को गोल्चे गाउँमा करिब एक हजार २०० घर परिवारका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ । उक्त वडा जुगल हिमशृङ्खलाको फेदीमा पर्दछ ।
ट्रक दुर्घटना
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ जुरे नजिक कल्लेमा स्थानमा आज बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
बाह्रबिसेबाट लामोसाँघुतर्फ आइरहेको ना३ख ४५५५ नंको ट्रक सडकबाट करिब ४० मिटर तल सुनकोशी नदीको बगरमा पल्टिएको छ । प्रहरीले तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जनाएको छ ।