पोखरा, असार २६ गते । अविरल वर्षासँगैको बाढी पहिरोका कारण गण्डकी प्रदेशमा २० जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोदेखि परेको वर्षाका कारण आएको बाढी पहिरोमा परेर म्याग्दीका १०, कास्कीका ७ र लमजुङका तीन जनाको मृत्यु भएको हो ।
हिमाली जिल्ला म्याग्दीको १० जनाको मृत्यु र १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको धौलागिरी गाउँपालिका–६ मराङमा १२ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
ढकालका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा ५ घर, मालिका गाउँपालिका–७ बिममा १० घर पूर्ण रुपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँबरकाअनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भएपनि पुगि नसकेकोले पुरा विवरण आउन अझै बाँकी छ । बेनी जोमसोम सडक खण्डको गलेश्वर स्थ्ति राहुघाट नदि माथीको बेलीब्रीज राहुघाट नदिको कटानले पूर्ण रुपमा क्षती भएको प्रजिअ ढकालले बताउनुभयो ।
यस्तै कास्कीमा पहिरोमा परेर सात जनाको मृत्यु भएको छ। घटनामा ११ जना घाइते भएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घरमा पहिरो गएको थियो । पहिरोमा पुरिएर घरधनी थापासहित उनकी श्रीमति सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । उक्त घटनामा आठ जना घाइते भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले आयोमेललाई जानकारी दिनुभयो।
पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा मेलबाटेका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उनकी आमा हिमकला अधिकारीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर २६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको घर भत्किँदा घरधनी सुनारको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ छोरेपाटन सिमलटुँडाका चन्द्रबहादुर मगरको घरमा पहिरो जाँदा उनीसहित श्रीमती र छोरा घाइते भएका छन्।
घटनाका मृतकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रवक्ता हमालले जानकारी दिनुभयो । घाइतेको उपचार प्रतिष्ठानसँगै मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ।
यस्तै लमजुङमा पहिरोले घर पुरिँदा बेंसीशहर नगरपालिका १० खाँचे घर भई बेंसीशहर नगरपालिका ७, सातबिसेमा बस्दै आएका अन्दाजी ३०/३२ बर्षीय दीपक तामाङ, उनको श्रीमति अन्दाजी २५/२६ बर्षीय बिमाया तामाङ र छोरा अन्दाजी ८/९ बर्षको छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो । वर्षाका कारण बिहीबार राति साँढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो ।