चितवन । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनका अस्पतालहरुमा वार्षिक १५ लाखभन्दा बढीले सेवा लिने गरेको पाइएको छ । यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालहरुमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार गत वर्ष अस्पतालहरुबाट आठ लाख ५३ हजार ४१० जनाले बहिरङ्ग सेवा लिएका छन् । यसका अतिरिक्त विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक लाख २५ हजार ४१ जनाले सेवा लिएका छन् । भरतपुर आँखा अस्पताल र यसका शाखाबाट गत वर्ष दुई लाख आठ हजार ६४० जनाले सेवा लिएका छन् । निजी क्लिनिकहरुमा दुई लाखभन्दा बढीले सेवा लिएको अनुमान छ ।
जिल्लाका ३० वटा अस्पतालमा बिरामीको उपचार गरिँदै आएको छ । तीमध्ये प्रसूति सेवा दिने अस्पतालहरुबाट गत वर्ष १७ हजार चार सय २२ जनाले सेवा लिएका छन् । आकस्मिक सेवा र क्लिनिकहरुबाट सेवा लिनेहरुको यकिन तथ्याङ्क छैन । तर जिल्लाका सबै अस्पतालमा गरी आकस्मिकमा एक लाखभन्दा बढीले सेवा लिने गरेको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार भरतपुर अस्पतालमा दैनिक एक सय, चितवन मेडिकल कलेजमा ७५, कलेज अफ मेडिकल साइन्सेसमा ५० र अन्य अस्पतालहरुमा ५० को हाराहारीले आकस्मिक सेवा लिने गरेका छन् ।
निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी गाउँगाउँमा क्लिनिकमा धेरै बिरामीले सेवा लिने गरेको बताउनुहुन्छ । उहाँको अनुमानमा दैनिक सरदर ६ सय बिरामीले क्लिनिकबाट सेवा लिने गरेका छन् । जसलाई हेर्दा वार्षिक दुई लाख बढी हुन आउँछ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा चारवटा सरकारी अस्पताल, एउटा विशेषज्ञ क्यान्सर अस्पताल, एउटा सामुदायिक आँखा अस्पताल, दुई मेडिकल कलेज र २१ वटा निजी अस्पताल रहेका छन् । यसका अतिरिक्त तीन प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, चार आधारभूत आकस्मिक प्रसूति सेवा र २३ वटा प्रसूति केन्द्र रहेका छन् ।
जिल्लाका अस्पतालमा ३८६ विशेषज्ञ चिकित्सक, १७९ मेडिकल अधिकृत र एक हजार २६७ स्टाफनर्स कार्यरत रहेको तथ्याङ्क छ । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यहाँ विशेषज्ञ चिकित्सक र आवासीय चिकित्सक गरी १४, नेत्र अधिकृत र सहायक ३२, नर्सिङ र आँखा उपचारमा तालीम प्राप्तहरु १५ जना कार्यरत छन् ।
चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार सङ्घमा ३९७ सदस्य छन् । सदस्यता नलिएकासहित चिकित्सकको सङ्ख्या पाँच सयभन्दा बढी रहेको उहाँको भनाइ छ ।
जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा बिरामीले सेवा लिने गरेको तथ्याङ्क छ । अस्पतालको तथ्याङ्कअनुसार देशका १९ जिल्लाका बिरामीले यहाँबाट सेवा लिने गरेका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष बहिरङ्ग सेवामा दुइ लाख ८० हजार २३३, आकस्मिकमा ३५ हजार ८३४ र भर्ना बिरामी ६० हजार ८५२ रहेका थिए ।
जिल्लाका अस्पतालमा दुई हजार ८८५ श्यया क्षमता छ । जसमध्ये १९१ सघन र ६४ भेन्टिलेटर छन् । ती अस्पतालले अहिले ३२२ श्यया आइसोलेशन सञ्चालन गरिरहेको तिवारीले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर हो भने प्रदेश र स्थानीय तहका बकुलहर, बघौडा र राप्ती अस्पताल छन् । बकुलहर प्रदेशस्तरीय हुँदैछ भने बघौडा र राप्ती स्थानीय तहको १५ श्ययाको अस्पताल हुन् । बकुलहर हाल १५ श्ययाको भए पनि ५० श्ययाको हुने तिवारीले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी अस्पताल सङ्घीय बनेसँगै अन्य अस्पतालको नेतृत्व लिने अवस्थामा पुगेको दावी गर्नुभयो । कोभिड–१९ मा भरतपुर अस्पतालको नेतृत्वमा उपचार भइरहेको छ । अस्पतालमा गत वर्ष प्रसूतिमा मात्रै १३ हजार ५४५ ले सेवा लिएका थिए । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी सेवा लिने भरतपुर अस्पताल हो ।
तिवारी छिमेकी जिल्लाहरुबाट विशेषज्ञ सेवा यहाँ पाइने भएकाले बिरामी उपचारका लागि आउने गरेको बताउनुहुन्छ । यहाँ अस्पताल धेरै भएकाले एक ठाउँमा उपचार नभए अन्यमा हुने भएकाले पनि बिरामीको रोजाइ चितवन पर्ने गरेको छ । देशको मध्य भागमा रहेको र यातायातको सहज सुविधा भएकाले पनि बिरामी यहाँ आउने गर्दछन् । यहाँ रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालका सबैक्षेत्र र भारतबाट समेत बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार गत वर्ष उपचारका लागि आएका बिरामीमध्ये पाँच हजार सात सय ९८ जना क्यान्सरका रहेका थिए । अस्पतालमा आउने बिरामी देशभर र भारतीय सीमा क्षेत्रका छन् । गौतमका अनुसार गत साल झण्डै पाँच सय बिरामी भारतीय थिए ।
यस्तै यहाँको भरतपुर आँखा अस्पतालमा पनि देशका विभिन्न ठाउँबाट बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार मुख्य अस्पताल, नौवटा शाखा र शिविरहरुमार्फत अस्पतालले सेवा दिँदै आएको छ । यहाँका अस्पतालहरुमा अझै समन्वयको अभावको कमी हुने गरेको छ । आफ्नो अस्पतालमा उपचार हुन नसके सिधै काठमाडौँ पठाउने गरिन्छ । यहाँबाट सामान्य अवस्थामा दैनिक ५० एम्बुलेन्स बिरामी लिएर थप उपचारको लागि काठमाण्डौँ जाने गर्छ ।
आयुर्वेद उपचारको ज्ञान जगाउन आवश्यक
उपचार प्रभावकारी हुने भए पनि आयुर्वेदतर्फ खासै ध्यान जान नसकेको धारणा यहाँ आयोजित कार्यक्रमका वक्ताले राखेका छन् । एलोपेथिक औषधिले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचारमार्फत पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले आयोजना गरेको ‘आयुर्वेदको विकास सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वाग्मती प्रदेशसभाका शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहाल, प्रदेशसभा सदस्य विजय सुवेदी र रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आयुर्वेद उपचारमा चेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । कृत्रिम औषधिले स्वास्थ्यमा असर गर्ने भएकाले यहाँका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचारप्रसार गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रमा दैनिक ८०–९० जना बिरामी उपचारका लागि आउने गरे पनि भौतिक संरचना, पर्याप्त दरबन्दी हुन नसकेको बताउनुभयो । प्रयोगशाला र एक्स¬रे मेशिनसमेत नहुँदा बिरामीलाई समस्या पर्ने गरेको अधिकारीले भनाइ छ । सो केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, श्वासप्रश्वाससम्बन्धी उपचार हुँदै आएको छ ।