टुसा पलाएको प्याँज खाँदाका फाइदा

अङ्कुरित प्याँज खानुका थुप्रै स्वास्थ्य फाइदाहरू छन्। यसमा प्रशस्तै प्रोटिन पाइन्छ र यसलाई भिटामिन-ए, बी र सी को राम्रो स्रोत मानिन्छ। पोटासियम, फलाम र क्याल्सियम समेत पाइने प्याँजको टुसामा डल्ला प्याँजको तुलनामा बढि नै पौष्टिक तत्व लुकेर बसेको हुन्छ। किनभने कुनै पनि बिरुवा पलाउनका लागि त्यसलाई प्रशस्त पौष्टिक तत्वको खाँचो पर्दछ र त्यसले डल्ला प्याँजबाटै सोस्दै आफ्नो विकासको लागि प्रयोग गर्दछ।

  • यसमा हुन प्रोटिन हाम्रो शरीरका हरेक अङ्ग र कोषको लागि अत्यावश्यक तत्व हो। कपाल र नङ अधिकांश प्रोटिनबाटै बनेको हुन्छ। क्षय भएर गएका तन्तू र कोषहरूलाई मर्मत गर्न शरीरले प्रोटिनकै मद्दत लिने गर्दछ। छाला, मांशपेसी, हरमोन तथा रगत निर्माणको लागि प्रोटिनकै आवश्यकता पर्दछ।
  • प्याँज वा लसुनको टुसामा हुने भिटामीन-ए को मूख्य काम भनेको हाम्रो आँखाको दृश्यक्षमतामा सुधार ल्याउनु हो। त्यसका साथै यसले हाडलाई बलियो बनाउन, छालालाई स्वस्थ राख्न र प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन पनि मद्दत गर्दछ।
  • हाम्रो शरीरलाई एक जटिल यन्त्रको रूपमा हेर्न सकिन्छ। जसरी त्यो यन्त्र राम्रोसँग चल्नको लागि नियमित मर्मतसंभार, तेल र इन्धनको आवश्यकता पर्दछ, त्यसरी नै हाम्रो यन्त्ररूपी शरीरलाई इन्धनरूपी भिटामिन-बी को आवश्यकता पर्दछ। यसले हाम्रो शरीरमा जति पनि अङ्गहरू छन्, सबैको स्वास्थ्यलाई हेरचाह गर्ने काम गर्दछ।
  • भिटामिन-सी लाई सबैभन्दा सुरक्षित र प्रभावकारी पौष्टिक तत्वको रूपमा मानिन्छ, जसले विशेष गरी हाम्रो प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई शरीरमा आउन लागेका सङ्क्रमण र रोगव्याधलाई हटाउने काम गर्दछ। यसलगायत प्याँजको टुसामा पाइने अन्य पौष्टिक तत्वहरूले पनि हाम्रो शरीरमा अनेकौँ फाइदा गराउँदछ।

त्यसैले अब देखि कसैले उम्रेको प्याँज फाल्न लागेको छ भने उसलाई यी कुराहरू सम्झाएर त्यसलाई सेवन गर्न प्रोत्साहन गर्नुहोला। स्वस्थ जीवन जिउनका लागि ठूलो कदमको आवश्यकता पर्दैन। यस्ता-यस्तै स-साना कुराहरूलाई बानीको रूपमा बसाल्दै लगेपछि मात्रै स्वस्थ जीवनको सुरुवात हुन थाल्दछ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार