कोभिड संक्रमितले कुन औषधि सेवन गर्ने, कुन नगर्ने?

कोरोनाभाइरसको विश्वव्यापी महामारीले नेपालमा पनि दैनिक संक्रमित थपिइरहेका छन्। कतिपय लक्षण देखिए पनि पिसिआर परीक्षण नै नगरी घरमा बसेर औषधि सेवन गरिरहेका छन्। यस्तै कतिपय पिसिआर परीक्षणपछि पोजेटिभ देखिएर डाक्टरकै सल्लाहमा औषधि सेवन गरिरहेका छन्।

कोभिड हुने चिन्ताले बिना पिसीआर परीक्षण पोजिटिभको आशंकामा या संक्रमित भइ घरमा आइसोलेसनमा बसेकाले अत्यन्तै बढी अनावश्यक औषधि प्रयोग गरेको पाइएको छ।

सामाजिक सञ्जाल (ह्वाट्सएप , इन्स्टाग्राम, फेसबुक, ट्वीटर आदि) मा वैज्ञानिक प्रमाणबिनाका यी अनावश्यक औषधिका सन्देश फैलिरहेका र त्यसैको आधारमा थुप्रै अनावश्यक औषधि सेवन गरेका बिरामी पाइएका छन्। कुनै स्रोत नखुलेका र चिकित्सकको सल्लाहबिना कुनै अध्ययनसँग मेल नखाने यी म्यासेजलाई आधार मानेर अप्रमाणित औषधिको सेवन गरिनुहुन्न।

कोभिडमा स-प्रमाण उपचारको लागि थुप्रै अध्ययन र क्लिनिकल ट्रायल भइरहेका छन् र दिनानुदिन उपचार विधि खारिँदै गएको छ। आधिकारिक अध्ययन र विशेष गरी क्लिनिकल ट्रायल (जस्तो कि, रिकभरी ट्रायल) को नतिजाका आधारमा कोरोना उपचार विधि परिष्कृत हुँदै जान्छ।

कोरोना बिरामीको अवस्था सामान्य, जटिल (खतराका संकेतसहितको जस्तो कि अक्सिजन सेचुरेसन ९२ या त्यो घटी हुनु, श्वासप्रश्वासमा अप्ठेरो हुनु आदि), र गम्भीर (आइसियु जरूरी हुने खाले) हुन सक्छन्। पछिल्ला दुई अवस्थामा त बिरामी अस्पताल भर्ना भै उपचार गरिनैपर्छ।

पिसिआर पोजिटिभ आएका तर सामान्य अवस्था भएका (ज्वरो, सामान्य खोकी, रूघा, घाँटी खसखस हुने आदिमात्र) बेलामा आइसोलेशनमा बसेका व्यक्तिले यस्ता औषधि सेवन गरेको पाइएको छ। फैलँदो महामारीमा डरले यसरी अप्रमाणित औषधि खाँदा हानी हुन सक्छ।

पबमेड (PUBMED) लगायतमा इन्डेक्स्ड मेडिकल जर्नलहरू, विश्व स्वास्थ्य संगठन, सिडिसीजस्ता आधिकारिक संस्थाबाट प्रस्तुत प्रमाण र गाइडलाइनका आधारमा औषधिको बारेमा केही मुख्य सार यहाँ प्रस्तुत गरिएको छ।

१. कोभिड एक भाइरसको रोग हो। तसर्थ ब्याक्टेरिया मार्ने ‘अजिथ्रोमाइसिन’ या ‘डक्सिसैक्लिन’ जस्ता औषधिले प्राथमिक भाइरल रोगमा काम गर्दैनन् बरू उल्टै हानी गर्न सक्छन्।

२. कोरोनामा सामान्य अवस्थामा लाक्षणिक उपचारमात्र गर्ने हो। अत: ज्वरो आएमा ‘प्यारासिटामोल’, पखाला लागेमा ‘जीवनजल’, बान्ता भएमा बान्ता रोक्ने औषधि खुवाउने हो। सास फेर्न समस्या हुने या अक्सिजन सेचुरेसन (SPO2) ९२% वा त्यो भन्दा कम भएमा भर्ना भै अक्सिजन साथै डाक्टरको सल्लाहपछि मात्र सही डोजमा स्टेरोइड (डेक्सामिथेसोन आदि) अनि जरूरत/लक्षणअनुसार अरू सहयोगी औषधि लिन सकिन्छ। जरूरत बिना सामान्य अवस्थामा स्टेरोइड लिएमा यसका नकारात्मक असर देखिन सक्छन्।

३. सामाजिक सञ्जालभरि प्रचार गरिएका ‘फेभीपिराभीर’ जस्ता एन्टिभाइरल दबाईको कोरोनाभाइरसविरूद्ध काम गरेको कुनै प्रमाण छैन। तसर्थ यो सेवन गर्नुको कुनै अर्थ छैन।

४. थुप्रै वैज्ञानिक अध्ययनमा खास प्रभाव नभेटेपछि हाल तमाम ‘गाइडलाइन’ र विश्व स्वास्थ्य संगठनले समेत ‘रेम्डेसिभिर’ लाई कोरोना-उपचार लिस्टबाट हटाइसकेकोले यो औषधिको लागि दौडधुप गरी दिइनु जरूरी छैन। अहिलेसम्म स्टेरोइडबाहेक अरू औषधिको खास ‘स्वास्थ्यलाभ’ प्रद र मृत्यु घटाउने फाइदा भेटिएको छैन।

५. ‘प्लाज्मा’ थेरापीले कुनै काम नगर्ने मात्र होइन, यसले हानीसमेत गर्न सक्ने पाइएकोले गर्दा कोभिड बिरामीमा प्लाज्मा दिइनु बान्छनीय छैन।

६. यीबाहेक अन्जान स्रोतबाट फोटो ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुकमा ‘कोलचिसिन’, ‘एमोक्सीसिलिन’, ‘आइभरमेक्टिन’ ‘कोडिनयुक्त मिश्रित औषधि’ खान मेसेज फैलिइएकोमा यी सबै औषधि कोरोनामा लाभदायक त पटक्कै छैनन्, हानीसमेत गर्न सक्छन्। यिनको कहीँकतै कोभिडमा प्रयोजन छैन।

७.‘टु-डिजी’ नामको दबाई एक सहयोगी औषधिको रूपमा प्रयोग गर्न आपतकालीन मान्यता (जस्तै: भारत) दिइए पनि चिकित्सकले मात्रै यसको प्रयोग निर्क्यौल गर्ने हुन्। बिना-विशेषज्ञ परामर्श यी औषधि प्रयोग गरिनु हुन्न।

८. सामाजिक सञ्जालमा ‘इम्युनिटी बुस्टर’ भनेर धेरै अप्रमाणित औषधि फैलाइएका छन्। आजसम्म खोप र पोषणबाहेक कुनै कुरा ‘इम्युनिटी बुस्टर’ पाइएको छैन। त्यसैले कुनै पनि ‘कमर्सियल बस्तु’ जसमा इम्युनिटी बुस्टर भनेर लेखिएका छन्, ती विश्वसनीय कुरा होइनन्। ‘इम्युनिटी बुस्ट’ भनेको भएको नर्मल लेभलभन्दा माथि उठाउने हो। त्यस्तो कुनै औषधि हुँदैन। इम्युनिटीका कोष तन्तु र प्रणालीलाई चुस्त दुरूस्त काम गर्नसक्ने राख्नका निम्ति पोषण, निद्रा, शारीरिक अभ्यास र तनावरहित शरीर र मन जरूरत पर्छ।

पोषणका विभिन्न तत्वले इम्युन प्रदायक कोषका विविध कदममा कहीँ उत्प्रेरकको काममात्र गर्ने हुन्। पोषणका तत्व जस्तै: प्रोटिन, चिल्लो पदार्थ, भिटामिन सी, डी, इ, खनिज जस्तै जिंक, आइरन आदि हामीले दैनिक खाने सन्तुलित खानामै पाइन्छन्। तसर्थ विशेष कमीका स्पष्ट संकेत नभएसम्म यी कुनै पनि चिज ट्याब्लेटको रूपमा लिन जरूरी हुन्न।

९. इम्युनिटीवर्द्धक भनेर बेचिने कुनै ट्याब्लेट वैज्ञानिक होइनन्। इम्युनिटीको मुख्य निर्देशक सन्देश जन्मदै जिन (gene) मा हुन्छ र हाम्रो दैनिक आहार, निद्रा, अभ्यास, सन्तुलित शारीरिक, मानसिक, सामाजिक सबलताले त्यसको पलपलको क्रिया सुचारू राख्छ । इम्युनिटी आजको भोलि बढाउन सकिने कुरा होइन।

१०. अनावश्यक औषधि सेवन हानिकारक हुनसक्छ। तसर्थ सामाजिक सञ्जालमा भाइरल भएका स्रोतविहीन ‘औषधि प्याकेज’ मेसेजको आधारमा भन्दा कुनै आधिकारिक वेबसाइट (जस्तै पबमेड, डब्ल्युएचओ, सिडिसी आदि) या चिकित्सकबाट भनिएका या परामर्श लिइएका कुरामात्र मानौं । खतराका संकेत आएमा स्वास्थ्य संस्था जाउँ। जथाभावी औषधि सेवन नगरौं। साभार: सेतोपाटी

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार