एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतियो

काठमाडौं, २१ असार । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा बस्दैछ ।

कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

भीम रावलले आइतबार राति अध्यक्ष ओलीसँग भेटेपछि कार्यदल ब्युँतिएको हो । सर्वोच्च अदालतमा बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।

त्यसबाहेक अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएमा माधव नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

त्यसमा सहमति भएको अवस्थामा एमालेका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट अघि बढाउन यसअघि नै सहमति भइसकेको छ । दुवै पक्षका वार्ताकारहरूबीचको तीन बुँदे सहमतिको मस्यौदामाथि नै केन्द्रित रहेर कार्यदलमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् ।

२ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।

तर अनौपचारिक संवाद भने कायमै थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार