कल्पनाकाे पति वियोगका ती १९ वर्ष

पोखरा, १० असोज । एसएलसी दिएकी थिइन्, कल्पनाले । श्रीमान् अनिल सुवेदी १२ पढ्दै गरेका । उनीहरूको मागी विवाह भयो । छोरा बेरोजगार देखेपछि बाबुआमाले अंशबन्डा गरिदिए । घरको बोझ थपिएपछि अनिलले बीचैमै पढाइ छोडे । कामका लागि काठमाडौं पुगेका उनी नेपाली सेनामा भर्ती भए । अनिलको पोष्टिङ सुर्खेतमा थियो । उनको तालिम सकिएपछि देशमा द्वन्द्व चर्कियो ।

त्यसपछि कल्पनाले दबाब दिन थालिन्, जागिर छोड्न । ‘सपना नराम्रो देखें । जागिर छोड्नु भनेर धेरै कर गरें । तपाईंले मलाई पाल्नुपर्दैन, मै पाल्छु पनि भनें । दिनदिनै घटना सुन्न सकिरहेको थिइनँ,’ उनले भनिन्, ‘तिम्रो र छोराको लागि जागिर खाएको हो । तिमी नै आत्तिन्छौ भने आउँछु भन्नुभएको थियो । चार दिनपछि आउँछु भन्नुभएको थियो, चार दिनमा उहाँको लास आयो । आज पनि त्यो झल्झली याद आउँछ ।’

२०६१ सालमा माओवादी आक्रमणमा परी अनिलको ज्यान गयो । जतिबेला कल्पना २६ वर्षकी थिइन् । बिहे भएकै पछिल्लो वर्ष परिवार पाल्ने दबाब बढेपछि सेनामा भर्ती भएका श्रीमान् नरहेपछि कल्पना दुधे बालक च्यापेर घर छोडिन् । ‘उहाँको घटनापछि परिवारले हेर्ने दृष्टि नराम्रो भयो । तेरै कारणले छोरो मरेको भनेर सासुससुराले बचन लाइरहनुभयो,’ कल्पना भन्छिन्, ‘बच्चालाई तेरो बाउ मरिसक्यो, तँ टुहुरो हो भनेपछि सानो बाबुको मनमा नराम्रो छाप पर्‍यो । म डिप्रेसनमा थिएँ । म गाउँमा बस्न सकिनँ र निस्किएँ । खानै नपाए पनि घरमा बस्दिनँ भन्ने लाग्यो ।’ २६ वर्षमा श्रीमान् गुमाउनुको पीडा एकातिर छ । त्यसमाथि घरपरिवारको दिनहुँ हुने अपमान सहन सकिनन् । उनी तत्कालै सदरमुकाममा कोठा खोजेर बसिन् ।

स्याङ्जाको आँधीखोला-२ माइती भएकी उनले कुश्मा-१३ खौलामा बिहे गरेकी हुन् । उनका छोरा प्रवीण १२ पास भएपछि अहिले पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ पढ्न थालेका छन् । तर राज्यले दिने सेवासुविधा कटौती गरिदियो । अहिले कल्पनालाई पीडा र आर्थिक दबाब बढेको छ । ‘छोराको रहर इन्जिनियर बन्ने छ । पढाउने पैसा मसँग छैन । राज्यले दिने सुविधा उमेर कट्यो भनेर बन्द गरिदियो,’ उनले सुनाइन्, ‘सानो कक्षामा त निवेक गरेर पनि पढाउँछौं नि । धेरै खर्च लाग्ने ठाउँमा पो राज्यले हेर्ने हो । मसँग छोरा पढाउने खर्च छैन ।’

सुरुआतका दिनमा घर चलाउन एसओएसमा ‘आमा’ को पदमा नाम निकालिन् । तर छोराको भविष्य हेरेर काम गर्न गइनन् । नेपाली सेनामा पनि भर्ती हुने अवसर थियो । काखे छोरो छाडेर जागिरमा जाँदा बच्चाको मानसिकतामा नराम्रो असर पर्ला भनेर नगएको उनले सुनाइन् । राज्यले शहीद परिवारलाई भनेर साढे सात लाख दियो । १७ सय रुपैयाँका दरले मासिक पेन्सन पनि दिएको थियो । छोरालाई पढ्न नि:शुल्क थियो । अहिले छात्रवृत्ति रोकिएको छ । कल्पनाले शहीद र द्वन्द्वपीडितका बालबालिकाले चाहे जति पढ्ने अवसर र स्वास्थ्यको ग्यारेन्टी राज्यले लिनुपर्ने बताइन् ।

‘पाल्नुपर्ने मान्छे गुमाएका छौं । औषधि पनि खान नपाएर मर्नुपर्ने अवस्था आयो । राज्यका लागि शहादत गर्नेका परिवारको आँखामा आँशु छ,’ उनले भनिन्, ‘छोराछोरी पढाउन सकेका छैनौं । हाम्रो पीडा कहिले बुझिदिन्छ सरकार ?’ कल्पनाजस्तो समस्या धेरैलाई छ । सुरुमा उनले पनि आफ्नो मात्रै पीडाजस्तो ठान्थिन् । संघसंस्थामा जोडिँदै गएपछि र अरुसँग संगत भएपछि सबैका पीडाबारे बुझेकी छन्, उनले । १९ वर्ष श्रीमानकै यादमा बिताएकी कल्पनालाई अबको भरोसा छोरा प्रवीण छन् । ‘अब त छोरो ठूलो भयो । आड र भरोसा उसैको छ,’ कल्पना भन्छिन्, ‘केही वर्ष पढाइदिन पाए हुन्थ्यो । त्यो चाहिँ राज्यले हेर्दियोस् ।’ कल्पना र उनका छोरा पोखरामा डेरा गरेर बस्छन् ।

नेपालभर राज्यपक्ष र तत्कालीन विद्रोही पक्षबाट मृतक, यातना, अंगभंग, घाइते, विस्थापित, सम्पत्ति नष्ट भएका गरी ६३ हजार परिवार प्रत्यक्ष रूपमा पीडित भएको पछिल्लो तथ्यांक छ । अहिले पनि उजुरी संकलन भइरहेको छ । द्वन्द्वका घटना अझै साम्य भएको छैन । सरकारले व्यवस्थित रूपमा द्वन्द्वपीडितका समस्या समाधान गर्न सकेको छैन । उनीहरूले वेपत्ताहरूको खोजी गरिदिन र परिपूरणको व्यवस्था मिलाइदिन सरकारसँग निरन्तर माग गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार