पोखरा, २० कात्तिक । नेपालमा सबैभन्दा धेरै मान्छे मर्ने कारणमध्ये सडकमा हुने दुर्घटना सातौं नम्बरमा पर्छ । आर्थिक वर्ष २०७७÷०७८ मा सडकमा भएको दुर्घटनाबाट दुई हजार ५०० भन्दा बढी मान्छेको मृत्यु भएको छ । २० हजार ६४१ दुर्घटनामा ६ हजार ४४८ गम्भीर घाइते भए भने १८ हजार ६०० साधारण घाइते भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ ।
यसले ६ लाखभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । नेपाल प्रहरीका पूर्वएआईजी तथा ट्राफिक व्यवस्थापनविज्ञ विनोद सिंह भन्छन्, ‘सडक दुर्घटनामा विशेष गरी युवापुस्ता गुमाएका छौं । यो चिन्तित हुनुपर्ने विषय हो ।’
गण्डकीमा यही तथ्यांक फरक छ । गएको आर्थिक वर्षमा ४०५ दुर्घटनाबाट २२२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ र २०७५÷०७६ मा क्रमशः यो संख्या ४३१ दुर्घटनाबाट २२३ को मृत्यु तथा ४६० दुर्घटनाबाट २५८ को मृत्यु भएको छ ।
तथ्यांकमा हेर्दा दुर्घटना र मृत्यु संख्या कम भए पनि यो चिन्ताजनक तथ्यांक हो । हालसम्मको आँकडा हेर्दा वर्षेनि गाडी भित्रिने क्रम पनि उत्तिकै बढेको छ । गत साउनसम्मको रिपोर्टअनुसार गण्डकीमा मात्रै दुई लाख ११ हजार ७६३ दुई पांग्रे र ६३ हजार ७४२ वटा चार पांग्रे गाडी दर्ता भएको यातायात व्यवस्था कार्यालय गण्डकीले जनाएको छ ।
सडकमा हुने दुर्घटना कम गर्न सरकारले सडक विस्तारलाई जोड दिएको छ । सडक स्तरोन्नती वर्षेनि भइरहेका छन् । फराकिलो बनाउनेदेखि पक्की गर्नेसम्म सरकारको प्राथमिकता छ । तर, सडक फराकिलो बनाएर मात्र दुर्घटना कम नहुने तर्क छ, नविल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको ।
‘बाटोलाई राम्रो बनाएर दुर्घटना मात्र बढ्छ । दुर्घटना घटाउन हाम्रो सोचलाई राम्रो बनाउनुपर्छ । सडक बत्ती र स्मार्ट लाइट राखेर मात्र सडक स्मार्ट हुँदैन रहेछ,’ उनले भने, ‘काठमाडौं रिङरोड चार लेनको बनिसक्यो । के अहिले दुर्घटना घटेको छ त ? छैन नि । झन् बढेको छ । हामी हाम्रो सोच बदलौँ ।’
प्रदेश सरकारसँग भएको तथ्यांकमा प्रदेशभरिमा एक हजार ४१७ किलोमिटर पक्की सडक बनेको छ भने पाँच हजार २२१ कच्ची तथा करिब एक हजार किलोमिटर ग्राभेल सडक बनेको छ । सडक निर्माणसँगै जनचेतना दुर्घटना न्यूनीकरणको प्रमुख समाधान हुने सडक सुरक्षाका जानकार नुगल वैद्यको अनुभव छ ।
‘थ्री ई सडकमा हुने दुर्घटना न्यूनीकरणको प्रमुख उपाय हुन् । इन्जिनियरिङ, इन्फोर्समेण्ट र एजुकेसनमा जोड दिनुपर्छ,’ उनी भन्छन्, ‘तर, सरकारले पाठ्यक्रममा यस्ता कुरा राखेको छैन । तल्लो तहबाटै सडक र यसको सुरक्षा उपायबारे पढाउनुपर्छ । विद्यार्थीलाई ज्ञान दिनुपर्छ ।’
पोखराका चोकहरूमा २०५८ सालतिर ट्राफिक लाईट राखिएको थियो । विभिन्न आन्दोलनहरूका क्रममा ति लाइट तोडफोड भयो । चोकहरू साँघुरिँदै गएका छन् । अहिले पोखरा गण्डकी प्रदेशको राजधानी पनि हो । त्यसैले यात्रुको चाप र पर्यटकको आउजाउ बाक्लिएको छ ।
‘समस्या यही सरकारले मात्र उब्जाएको होइन । तर, समाधानको अवसर भने यही सरकारलाई छ । यही जनप्रतिनिधिलाई छ,’ पोखराका उपेन्द्र पौडेल भन्छन्, ‘दुःखको कुरा, काम गर्ने जाँगर भने अझै जनप्रतिनिधिमा देखिएको छैन ।’
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रातदिन सडक जामका समस्या देखिरहे पनि स्रोत अभावका कारण समस्या हल गर्न नसकेको बताउँछन् ।
‘रातदिन देखिरहेका छौं । सच्याउन प्रयास पनि गरिरहेका छौं । सोचे अनुसार भइरहेको छैन,’ उनले भने, ‘नीति तथा कार्यक्रम र बजेटमा हाम्रो परिकल्पना र आकांक्षा राम्रो छ । हामीसँग परिकल्पना त छ, तर स्रोत अभावका कारण सोचेजस्तो काम गर्न सकिरहेका छैनौं ।’ उनले गण्डकीको विकास पोखरामा आधारित भएर गरिने बताए । ‘ग्रेटर पोखरा स्मार्ट बनाउन सके गण्डकी आफैँ राम्रो हुन्छ । स्मार्ट सहर, यातायात र स्मार्ट नागरिक बनाउन गण्डकी सरकार प्रतिवद्ध छ, सक्रिय छ’, पोखरेलले थपे ।
पोखराले ट्राफिक चाप घटाउन रिङरोडको परिकल्पना गरेको छ । यद्यपि, कार्यान्वयनमा गएको छैन । तीन पटकसम्म रिङरोडको डिजाइन भयो । फरक समयमा फरक लम्बाइका योजना बने । ट्राफिक लाइट राख्ने योजना नयाँ जनप्रतिनिधिको पहिलो योजना थियो । उनीहरूको कार्यकाल सकिन लाग्यो, लाइट राख्ने योजना अघि बढेन ।
‘प्रयास नभएका होइनन् । भइरहेका छन् । सत्य हो, रिजल्ट देखिने गरी काम बनेको छैन । हामीले स्वीकार्नुपर्छ,’ पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने,’ ‘काम गर्न चाहिँ छोडेका छैनौं । गर्दै छौं ।’
पोखरामा पहिलो पटक आकाशे पुल बनेको छ, त्यो पनि बिना अध्ययन । पृथ्वीचोकमा ट्राफिक जाम बढी हुन्छ, महानगरले सिर्जनाचोकमा पुल बनायो । ठाउँ साँघुरो भएकोले गाडी जाम बढेको भन्दै तत्काल पुल हटाउनुपर्ने विज्ञहरू बताउँछन् ।
अन्तर्राष्ट्रिय सहर र पर्यटकीय राजधानी पोखरामा हालसम्म एउटा बसपार्क बनेको छैन । गाडीहरू सडकमै पार्किङ हुन्छन् । तोकिएको समयमा काम भए आउँदो नयाँ वर्षबाट पोखरादेखि सिधै अन्तर्राष्ट्रिय उडान हुन्छ । त्यसको तयारी पोखराले गर्न सकेको छैन । धेरैको चिन्ता अब पोखरा दोस्रो काठमाडौं बन्ने कि व्यवस्थित सहर बन्ने भन्ने चासो र चिन्ता बढेको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको योजनाबद्ध विकासमा ढिलाइ भइसकेको बताए ।
‘३२ सालको योजनाअनुसार अहिले काम गरिरहेका छौं । त्यही बेला परिकल्पना गरिएको बसपार्क अझै बनेको छैन । जनप्रतिनिधिले त्यति आँट गर्नुपर्थ्र्यो,’ उनी भन्छन्, ‘यही अवस्था रहिरहे केही वर्षमै काठमाडौंको हालत हुन्छ । चाहेर पनि बनाउन सकिँदैन ।’
पोखराको पृथ्वीचोक र लामे आहालमा बसपार्क निर्माण पटकपटक चर्चामा आए पनि काम अघि बढेको छैन । पोखरादेखि मुग्लिनसम्म चार लेन सडक निर्माणको भने ठेक्का लागेर काम अघि बढेको छ । सन् १९९८ मा पोखराको क्षेत्र छुट्याएर कृषिदेखि आवास क्षेत्र छुट्याइएको छ । साढे तीन तलाभन्दा अग्लो भवन नबनाउन सुझाव छ । अहिले भने दशौं तलासम्मको घरहरू बनिरहेका छन् । मापदण्ड कार्यान्वयनमा पोखरा चुकिसकेको छ ।