बागलुङ जेठ २४ गते । १७७६ किलोमिटर रहेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाधे खण्डको २५ किमि सडक कालोपत्रे नहुदा बागलुङबासीले बर्सेनि समस्या झेलिरहेका छन । सास्ती खेपिरहेका छन । कालोपत्रे हुन नसकेको बागलुङ-घोडाबाढे सडकखण्डको बाटो यतिबेला सडक कालोपत्रेको मागसहित बागलुङ बासी चरणबद्ध आन्दोलनमा रहेका छन ।
जिल्ला सदरमुकाम समेत पर्ने यस खण्डमा ट्र्याक खुलेको झन्डै दशक बढी भैसकेको छ । तर पनि हाल सम्म यहाका स्थानिय लगायत गल्कोट बुर्तिबाङ हुँदै रुकुम सम्मका सर्वसाधारणले हिउँदमा धुलो र बर्खामा हिलो बर्षौ देखि खेप्दै आएका छन ।
यो बिषय बारे पटक पटक यहाका स्थानीयले आन्दोलन गर्दै आइरहेका छन । कहिले कालोपट्टि बाधेर त कहिले नारा लगाउदै र निर्माण कम्पनीको कार्यालयमा ताला लगाउदै त कहिले गाडी नै रोकेर समेत स्थानीयहरु आन्दोलित हुने गर्दछन । पटक पटक अनेकौ सम्झौताहरु हुने गर्छन तर कार्यान्वयन कुनै पनि कुरा हुदैन । उसो त सम्झौता स्थानीय सङ्ग मात्र हैन फेरिदै आउने प्रमुख जिल्ला अधिकारी,सरोकारवाला निकाय लगायत मध्यपहाडी योजना कार्यालय-पर्बत सङ्ग पनि हुने गर्छन ।
सम्झौता भएपछी केही समान र कामदारहरु ल्याएर काम गरेजस्तो गरिन्छ अनि केही समयमा हाल उस्तै हुन्छ । यस पटक पनि काठेखोला ५ र ६ का सर्वसाधारणले नागरिक आन्दोलन घोषणा गरे ,सडक बन्द सम्मका चरणबद्द आन्दोलन घोषणा गरिएको थियो र हाल पुनः काठेखोला गाउपालिकाले असार ५ गते सम्म ठेक्का रद्द नभए आफू नै सडकमा आएर आन्दोलनको नेतृत्व लिने सहमति भए सङ्गै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सर्वसाधारणले नेतृत्व लिएको आन्दोलन गाउपालिका प्रमुखले नै नेतृत्व लिने गरि हुने भएसी बिश्वास गर्नैपर्ने बाध्यता बन्यो ।
उपल्लाचौर देखि १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेवी संग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिले सम्म चार पटक म्याद थप गर्दा समेत बल्ल सात किमि सडक मात्रै कालोपत्रे गरेको छ भने अझै छ किमि सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।
यस्तै बिहुँदेखि घोडाबाँधे सम्मको १२ किमि सडक कालोपत्रेका लागि २०७२ माघमा दुईवर्षमा कालोपत्र सक्नेगरी सुर्य कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको थियो । १२ किलोमिटर सडक मध्ये हाल सम्म उपल्लो खण्डमा ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएपनि पाँच पटक म्याद थप्दा समेत छ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी रहेको छ ।
हाल ठेक्का रद्दको प्रक्रिया अघि बढिसकेको अवस्था छ । यस बिषयमा पटक पटक सडक देखि सदन सम्म कुराहरु आउने गरेको छ । पुर्ब संघीय सांसद सुर्य पाठक पुर्ब मन्त्री समेत रहनु भएका देबेन्द्र पौडेल लगायत गण्डकी प्रदेशका अधिकांश सांसदले पनि यहि बिषयमा पटकपटक आवाज उठाउनु भएकै छ । यहि जेठ २४ गतेको सदनमा पनि सांसद चित्र बहादुर केसिले पनि उक्त कुराको जानकारी गराउनु भएको थियो । तर हालसम्म सम्बन्धित निकायले स्पष्ट भुमिका लिन सकेको छैन ।
ठेकदार बाट चलेको यो देशमा यहि २५ किलोमिटर बाटोमा अझै कति पटक करोडौं पैसाको हिनामिना गरिने हो,कति पटक म्याद थप वा ठेक्का प्रक्रिया गरिने हो यो प्रश्न आफैमा गम्भीर छ । यो पटक पनि कतै म्याद थप हुने हो वा ठेक्का रद्द हुने हो भन्ने बिषय सर्वसाधारण अन्योलमै छन ।