सुजन रेग्मी । बागलुङ
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले हालसम्म आएका सबै भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले नेकपा एमाले सुशासनको पक्षमा रहेकाले चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको छानविन गरी दोषीलाइ कारवाही गर्न माग गर्नुभएको हो ।
नेपालको अर्थतन्त्रलाइ ध्वस्त पार्नेगरी सत्ताधारीको सेटिङमा धेरै भ्रष्टाचार काण्डहरु सार्वजनिक भएको भन्दै नेता बस्नेतले सबैलाइ कारवाहीको दायरमा ल्याउन माग गर्नुभएको थियो । “नेकपा एमाले भ्रष्टाचारीलाइ कारवाही गर्न तयार छौ, एमालेका कोही नेता-कार्यक्रता दोषी छन् भने कारवाहीको दायरामा ल्याउनुपर्छ ।” बस्नेतले भन्नुभयो ।
स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको ठूलो सुन सेटिङ बिना विमानस्थल जाँचबाट कटेर आउन नसक्ने भन्दै अर्थमन्त्री र गृहमन्त्रीले यसको नैतिक जिम्मेवारी लिदै राजिनामा दिनुपर्ने बस्नेतको माग थियो । अवैध सुन भित्र्याउँनेका विरुद्मा नेकपा एमाले सरकारमा हुँदा कारवाही सुरु गरेको बताउँदै मन्त्री बस्नेतले गृह र अर्थ मन्त्रालय मातहतका निकायबाट पास भएको सुन राजश्व अनुसन्धान विभागले समातेको बताउनुभयो । “राजश्व अनुसन्धान विभाग पहिले अर्थ मन्त्रालय मातहत थियो, केपी शर्मा प्रधानमन्त्री भएका बेला त्यसलाइ प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो, किन ल्याइयो भन्ने बल्ल पुष्टी भएको छ ।” बस्नेतले भन्नुभयो ।
निर्वाचनको म्यानेडेट नेकपा एमालेलाइ सरकार सञ्चालन गर्नु भएपनि गठबन्धनका कारण एमाले प्रतिपक्षमा बस्नुपरेको बताउँदै नेता बस्नेतले आइपरे सरकारको नेतृत्व गर्न एमाले तयार रहेको बताउनुभयो । पाँच-पाँच पार्टीको गठबन्धनका एमालेका धेरै उमेद्वार थोरै मतान्तरबाट पराजय हुनुपरेको भन्दै बस्नेतले आगमी २०८४ को निर्वाचनमा बहुमत ल्याएर जनताका पक्षमा काम गर्न सत्तामा आउने दावी गर्नुभयो ।