सुजन रेग्मी
बागलुङ, भदौ २१ । नेकपा एमाले बागलुङका उपसचिव एवम् बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङका पूर्व वडा अध्यक्षा गणेश बहादुर थापा मगरको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु गरिएको छ । स्पाइनल कर्ड र रिव्समा Condrosarcoma Stage 2 को जटिल रोगबाट ग्रसित थापाको उपचारका लागि गणेश बहादुर थापा मगर उपचार सहयोग समिति बागलुङ स्थापना गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो ।
केही समय अगाडि स्पाइनल कर्डमा र २ वटा करङमा भएको ट्युमरको काठमाडौ न्युरो अस्पतालमा अप्रेशन गर्नुभएका थापाको स्वास्थ्यमा थप समस्या आएपछि भारतमा उपचार गराउँनुपर्ने अवस्था सिर्जना भएको थियो । थापा नेपालमा उपचार हुन नसकेपछि भारतस्थित राजिव गान्धी क्यान्सर इन्ष्टिच्युट तथा रिसर्च सेन्टरमा परीक्षण र परामर्शपछि भारतको चेन्नाइ स्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचारका लागि जाने तयारीमा रहनुभएको थियो ।
चेन्नाइ स्थित उक्त असप्तालमा उपचार गर्दा नेपाली एक करोड रुपैयाँ भन्दा बढी खर्च हुने अवस्था आएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको गणेश बहादुर थापा मगर उपचार सहयोग समिति बागलुङका सँयोजक चन्द्रबहादुर थापा मगरले जानकारी दिनुभयो ।
थापाको उपचारका लागि निजको श्रीमती गीता थापा मगरको नाममा ग्लोवल आइएमइ बैङ्क बागलुङ शाखाको खाता नम्बर ०१२०७०१०२०७४८५ नम्बरमा र फोनपे प्रयोगकर्ताले मोवाइल नम्बर ९८६७६४९१०० मार्फत सहयोग गर्न सक्नेछन् ।