चन्द्र गणेश, बागलुङ । नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका सँस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिस्पर्धाबाटै सक्षम नेतृत्व चयन हुने बताउनुभएको छ । नेकपा एमाले बागलुङले आयोजना गरेको बधाइ तथा शुभकामना आदानप्रदान कार्यक्रममा गुरुङले सर्वसम्मत चयन भएका पार्टीका कमिटीहरु क्रियाशिल हुन नसकेको बताउनुभएको हो ।
नेकपा एमालेको पोखरामा सम्पन्न गण्डकी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा गुरुङले पार्टीका सबै कमिटीहरुलाइ चलायमान बनाउँनुपर्नेमा जोड दिनुभएको थिये । एमालेले केही समय यता सर्वसम्मत नेतृत्व चयनलाइ बढी प्राथमिकता दिएपनि प्रतिस्पर्धालाइ सामान्य रुपमा लिनुपर्नेमा गुरुङको जोड थियो ।
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमले पार्टीका नेता तथा कार्यक्रताबीच सुमधुर सम्वन्ध स्थापित गर्न सफल भएको भन्दै गुरुङले मिसन ग्रासरुटका क्रममा देखिएका पार्टी सकरात्मक तथा नकरात्मक पक्षलाइ आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माले पार्टीले २०८४ सालमा एकल बहुमतको सरकार ल्याउनेगरी आफू लाग्ने बताउनुभयो । शर्माले जनता र कार्यकर्ताको मायाले प्रदेश अध्यक्षमा निर्वाचित भएको भन्दै संगठनलाई थप मजबुध बनाउँदै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य लिलबहादुर थापा मगर, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिमा निर्वाचित पदाधीकारीहरु अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनन्जय दवाडी र उपसचिव मन्जु अधिकारी लगायत बागलुङबाट निर्वाचित १८ जना प्रदेश कमिटी सदस्यहरुलाइ सम्मान गरिएको थियो ।
कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पुनको स्वागत तथा सचिव विष्णु भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।