नेपाल सञ्चार , बाग्लुङ
जिल्ला प्रशासन कार्यालय बाग्लुङले एक विज्ञप्ती प्रकाशित गरी पर्वहरु प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ती प्रकाशित गरेर राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने बताउनु भएको छ ।
सहायक प्रजिअ बरालले कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानून विपरीत कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुशीयालीपूर्वक मनाउन, शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न जिल्लाबासीलाई अपिल गर्नु भएको छ । दीपावली मनाउने क्रममा प्रयोग हुने भूइँचम्पा, पटाका, आतिशबाजी जस्ता विष्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित बस्तुको अवैध आयात, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न सहायक प्रजिअ बरालले अनुरोध गर्नु भएको छ । उहाले जूवातास, कौडा लगायतका पैसाको हारजित हुने खेल नखेल्न अनुरोध गर्दै कोही कसैबाट त्यस किसिमका गैरकानूनी क्रियाकलाप गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने बताउनु भएको छ ।
सहायक प्रजिअ बरालले बजारमा कृत्रिम अभाव, कालोबाजरी, अस्वभाविक मूलयबृद्धि जस्ता कार्य नगर्न अनुरोध गर्दै त्यस्ता कार्य गरेमा कानुन बमोजिम कडा कारवाही गर्ने बताउनु भयो ।