बागलुङ । बागलुङ नगरपालिका नगर पर्यटन विकास समितिद्वारा आयोजित ३ दिने पर्यटन पत्रकारिता सम्पन्न भएको छ ।
तालिमको प्रमुख अतिथि एवं बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठले ३ दिने पत्रकारिता तालिमले पर्यटकीय क्षेत्र लाई थप टेवा पुग्ने बताउनु भएको हो। उहाँले हाम्रो जिल्लामा ढोरपाटन, कालिका मन्दिर, पञ्चकोट लगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्यहरू छन्, कैयौँ पर्यटकहरू घुम्न आउँछन्’ तर ती क्षेत्रबाट हामीले पर्याप्त फाइदा ल्याउन सकेका छैनौँ , ‘विदेशका भन्दा कैयौँ प्राकृतिक रूपमा सुन्दर स्थानहरू बागलुङ र धौलागिरि क्षेत्र भित्र छन् तर ती क्षेत्रलाई हामीले बेच्न सकिरहेका छैनौँ ती क्षेत्रलाई हामीले बेच्न सक्नु पर्छ, पैसाको रूपमा रूपान्तरण गर्न सक्नु पर्छ हाम्रा पर्यटकीय गन्तव्यलाई पैसामा रूपान्तरण गर्न नसक्दासम्म पर्यटन व्यवसाय प्रभावकारी बन्न नसकेको बताउनु भयो ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रिङ्ग बरालले व्यवहारमा नउतार्दासम्म सिप सिकेको अर्थ नहुने उल्लेख गर्दै उहाँले तालिममा सिकेको सिपलाई उपलब्धि मूलक बनाउनको लागि आफ्नो क्षेत्रमा भएका पर्यटकीय स्थललाई सञ्चार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गर्न अनुरोध गरे तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भएको हो ।
बागलुङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले पत्रकारिता गर्दा आचारसंहितालाई भुल्न नहुने बताउँदै उहाँले आचारसंहितालाई राम्रो सङ्ग पालना गर्नु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव विजय रानाले तालिममा सिकेका सिपलाई निरन्तर अभ्यास गर्नु पर्ने बताउनु भयो ।
तीन दिनसम्म सञ्चालित तालिममा पर्यटन बोर्ड गण्डकी प्रदेश कास्कीका अधिकृत कुन्दन मिश्र, पत्रकार टिपी भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्रिङ्ग बराल, नेपाल पत्रकार महासङ्घ बागलुङ सचिव विजय राना, कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाका उपसम्पादक प्रकाश बराल, नेपाल टेलिभिजनका किरण आचार्य, राष्ट्रिय समाचार समितिका राम थापा ‘अविरल’ बागलुङ नगरपालिकाका युक्त प्रसाद सुवेदीले पत्रकारिता, पर्यटन पत्रकारिता, जिल्लाका पर्यटकीय गन्तव्य, समाचार लेखन, फोटो भिडियो पत्रकारितामा सहजिकरण गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको अध्यक्षता र युक्त प्रसाद सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।