काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार लज्जाबोध नभएको सरकार भएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत बागलुङ सदरमुकाम बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई बन्धक बनाएको बताउनुभयो । यस अवस्थाबाट देशको रक्षा गर्नुपर्ने ओलीको भनाई छ । ‘यस अवस्थाको रक्षा नेकपा एमालेले गर्छ’, ओलीले भन्नुभयो । सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्नुको साथै देशेको स्वाधीनता कमजोर बनाएको ओलीले बताउनुभयो । अहिलेको सरकार देशको भूमिको बारेमा समेत बोल्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ’, ओलीले भन्नुभयो ।
अहिलेको सरकार चरम असफल सरकार भएको ओलीले बताउनुभयो । ‘कसरी बसिरहेको छ सरकार, अचम्म लाग्दो कुरो छ’, उहाँले भन्नुभयो । अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रका साथ अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, उहाँले भन्नुभयो । नेकपा एमाले विकासको पर्याय भएको ओलीले दाबी गर्नुभयो ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार बनेपछि नेपालमा आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रम मार्फत विकासको सुरुवात भएको उहाँले प्रष्ट पार्नुभयो । नेपालमा सुरुङ मार्गको अवधारणा नै नेकपा एमालेले ल्याएको उहाँले बताउनुभयो । अब नेपाको कुनै पनि भाग दुर्गम हुन नसक्ने ओलीले प्रष्ट पार्नुभयो । अब नेपालका हरेक ठाउँका बाटो बन्नु पर्ने उहाँले भन्नुभयो । ‘नेकपा एमाले आएपछि चौतर्फी विकास गरेको छ’, उहाँले भन्नुभयो । नेपालमा प्राविधिक र मेडिकल कलेज खोल्न नदिने शैक्षिक माफियाहरू अहिले क्रियाशील रहेका ओलीले बताउनुभयो । मेडिकल कलेज नेपाल खोल्नु पर्छ र नेपालाई मेडिकल हब बनाउनुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट रहेको ओलीले बताउनुभयो । नेपालको हावापानी मेडिकल कलेजको लागि अति उपयुक्त भएको उहाँले दाबी गर्नुभयो । चटकेहरुले अनेक चटकी कुरा गर्न सक्ने भन्दै त्यसको भर नपर्न उहाँले आग्रह गर्नुभयो । नेकपा एमाले गलत ढङ्गले होइन सही हिसाबले राजनीति गर्नुपर्छ र देशको विकास, समृद्धिका काममा लाग्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो । नेकपा एमालेले आफ्नो स्वार्थको लागि राष्ट्रियताको विषयलाई कहिल्यै पनि दाउमा नराख्ने उहाँले बताउनुभयो । झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू बागलुङ पुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए । बागलुङ बजारमा विभिन्न झाँकी सहित एमाले टोलीलाई स्वागत गरिएको थियो । अभियानमा रहेको एमालेको टोलीलाई स्वागत गर्न स्थानीय सडकमा लामो समयदेखि लाइन लागेर बसेका थिए । आजै पर्वतको कुश्मामामा पनि सभा हुँदै छ । आजको बास पोखरा तय गरिएको छ ।