बागलुङ/ आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १८ औं स्थापना दिवस बुधवार मनाइएको छ । स्थापना दिवसका अवसरमा महिला शेयर सदस्यहरुका लागि उत्प्रेरणामुलक नेतृत्व विकास तथा वाककला सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
स्थापना दिवस समारोहको उद्घाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा पूर्व सांसद मन कुमारी केसीले आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै शेयर सदस्य लगायत समुदायको हितमा रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।३२ जना शेयर सदस्यको ३ लाख २० हजार रुपैया संकलन गरेर संस्था सञ्चालन गरेका थियौ, गाउँबाट बजार आएर विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागितामा सञ्चालन गरिएको संस्थाको संस्थागत विकासमा शेयर सदस्यहरु लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहयोग र समन्वय रहेको संस्थापक अध्यक्ष केसीले बताउनुभयो ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले संस्थाका महिला शेयर सदस्यहरुलाई सकारात्मक सोच सहित नेतृत्व विकास तथा बोल्ने बानीको विकास गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको जानकारी दिनुभयो
संस्थाका सल्लाहकार रुद्र बहादुर महतले आदर्श सञ्चार सहकारी संस्थाका गतिविधिहरु सहकारीको मर्म र भावना अनुसार सदस्य केन्द्रीत रहदै आएको र आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालनका लागि शेयर सदस्यहरुको सक्रिय सहभागिताका लागि आव्हान गर्नु भयो
संस्थाको स्थापना दिवसलाई सिर्जनशिल तरिकाले मनाउन तथा शेयर सदस्यहरुको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेलले सहजीकरण गर्नु भएको थियो ।
प्रशिक्षक पौडेलले शिक्षा भन्दा महत्वपूर्ण इच्छा हो भन्दैसहभागीहरुलाई आफुलाई चिनेर, आफु भित्र भएको क्षमताको प्रयोग गर्न सुझाव दिनु भएको थियो । म सक्दिन, मैले जान्दिन, मेरो पढाइ कम छ, मेरो उमेर बढी भयो, मैले बोल्दा अरुले के भन्लान् भन्ने जस्ता कुरा आफुबाट हटाएर निर्धक्क आफ्ना कुरा राख्नका लागि निरन्तरको अभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो ।
सकारात्मक सोच, अरुको सम्मान, सिर्जनशिलताको विकास र निरन्तरको अभ्यासबाट नेतृत्व विकास र क्षमता विकास हुने भएकाले म सक्छु भन्ने सोचका साथ अगाडि बढ्न उहाँले सहभागीहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा संस्था स्थापनाको उद्देश्य, संस्थाको समग्र अवस्था लगायत संस्थाले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरुका बारेमा संस्थापक सचिव तथा सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । संस्थालाई दिगो र थप व्यवस्थित गराउनका लागि सबै शेयर सदस्यहरुको सक्रिय सहभागिता गराउनका लागि १७ औं वार्षिक साधारणसभाबाट दिगोपनका सारथी अभियान सञ्चालन गरिएको जानकारी गराउदै जिसीले संस्थाले सञ्चालन गरेको अभियानमा सक्रियताका साथ सहभागी हुन सम्पूर्ण शेयर सदस्यहरुलाई आव्हान गर्नु भएको छ ।
तालिममा सहभागी शेयर सदस्यहरु पार्वती कार्की, शान्ता पौडेल अधिकारी, सम्झना राजभण्डारी श्रेष्ठ, सीता शर्मा, विष्णु खत्री, सरिता अधिकारी पन्त, सविना राजभण्डारी र कमल जिसीले आदर्श सञ्चार सहकारी संस्थाले नेतृत्व विकास तालिम सञ्चालन गरेर आफुहरुलाई धेरै कुरा सिक्ने अवसर दिएको बताउनु भएको थियो । उहाँहरुले आगामी दिनमा थप उत्साहमुलक तथा सिप मुलक तालिम सञ्चालन गरी सदस्यहरुलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्न सुझाव दिदै संस्थाको अभियानमा सक्रियतापूर्वक साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
स्थापना दिवसका अवसरमा संस्थामा गत साधारणसभादेखि हालसम्म सबै भन्दा धेरै शेयर सदस्य बनाउने संस्थाका सञ्चालक एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक अम्बिका जिसी र गत आर्थिक वर्षमा उत्कृष्ट कर्जा कारोबार गर्ने शेयर सदस्य शोभा कार्कीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, सचिव सरस्वती खड्का परियारको सञ्चालन र सञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक अम्बिका जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा ९० जना शेयर सदस्य महिलाहरुको सहभागिता रहेको थियो ।