बागलुङ /सातौँ बागलुङ महोत्सवमा ‘मेड इन बागलुङ’को प्रदर्शन हुने भएको छ । बागलुङ महोत्सवको मुख्य आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले बागलुङमा उत्पादन भएका वस्तुहरूको विशेष प्रदर्शन र बिक्री वितरण गर्ने व्यवस्था मिलाउने जनाएको छ । स्थानीय उत्पादनका वस्तुहरूको बजारीकरणका लागि विशेष स्टल व्यवस्थापन गरेर त्यसको प्रचार प्रसार र विक्री वितरणको प्रबन्ध गर्न लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।
‘हामीले बागलुङमा उत्पादन भएका र लेबलिङ भएका वस्तुहरूको लागि छुट्टै स्टलहरूको व्यवस्थापन मिलाउँछौँ, अहिले हाम्रो लेबलिङ भएका चिजहरु खासै धेरै त छैन ‘कँडेलले भन्नु भयो –‘त्यसका साथै यहाँ उत्पादन भएर पनि ले बलिङ हुन नसकेका स्थानीय उत्पादनहरूको प्रवर्द्धन र प्रचार गर्ने उत्पादक र उपभोक्ताबिच सेतुको काम गर्ने गरी काम गर्छौँ ।’ बागलुङमा उत्पादन भएका अल्लोका कपडा, जैमिनीको दमेकमा उत्पादन भएको गुन्द्रुक, भाङ्गो, टिमुर, ताराखोलाको आलु, बिहुँ र सिगाना सुन्तला लगायतका अन्य वस्तुहरूको प्रवद्र्धन र विक्री वितरणको व्यवस्थापन मिलाउने उहाँले बताउनुभयो ।’
ब्राण्डिङको काम नहुँदा बागलुङका धेरै उत्पादनहरु बाहिरको बजारमा लैजान अहिलेको सम्भव छैन, तर उपभोक्तालाई जानकारी गराउन सकेको खण्डमा उहाँहरुले सिधै उत्पादकसँग खरिद गर्ने वाताबरण बन्छ र त्यसको बजारीकरणमा टेवा पुग्छ भन्ने हामीले ठानेका छौँ’ । स्थानीय वडा कार्यालयसंगको सहकार्यमा सिगाना र बिहुँको सुन्तला ग्रेडिङ गरेर एक दिनभरी ‘सुन्तला एक्स पो’ गर्ने कँडेलले जानकारी दिए । बागलुङ बिहुँ र सिगानाका सुन्तला देशकै स्वादिस्त सुन्तलामध्ये पर्ने भएकाले विभिन्न जिल्लाका व्यवसायीले बुटामै ठेक्का लिएर लैजाने गरेका छन् ।
महोत्सवले सुस्ताउँदै गएको बागलुङ बजारलाई आर्थिक रुपमा चलायमान गराउने अपेक्षा राखिएको अध्यक्ष कँडेलले बताउनुभयो ।
‘यहाँका व्यवसायीलाई उर्जा दिनका लागि र बजारलाई चलायमान बनाउनका लागि पनि महोत्सव जरुरी छ । उहाँले भन्नुभयो –‘हामीले यस पटक महोत्सव सामाजिक उत्तरदायित्व सहित गर्दैछौँ ।’ सातौँ बागलुङ महोत्सव यस पटक पुस ११ देखि २१ गतेसम्म धौलागिरि क्याम्पसको प्राङ्गणमा हुँदैछ । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलाको रुपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका गर्न लागिएको महोत्सवमा १२० व्यवसायिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल तथा मेड इन बागलुङ स्टल रहनेछ । अहिलेसम्म ५० प्रतिशत स्टल बुकिङ भैसकेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभयो
महोत्सवमा खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति रहने बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो ।
यस पटक दोहोरी प्रतियोगिता नगरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विषयवस्तु दिएर कलाकारहरूलाई लाइभ दोहोरी प्रस्तुत गर्न लगाउने बताइएको छ । ‘बागलुङ दोहोरीको उद्गम थलो पनि हो, हामीले दोहोरी राख्छौँ, तर यस पटक प्रतियोगिता हुँदैन, यस क्षेत्रको प्रवर्द्धन हुने गरी विषयवस्तु दिएर कलाकारलाई त्यसैमा आधारित रहेर गाउने व्यवस्था मिलाउँछौँ’ उनले भने । मेलाको समयमा पर्ने अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा ‘न्यु एयर इभ’को रूपमा लाइभ डिजे कन्सर्ट हुने प्रेस सल्लाहकार आचार्यले जानकारी दिए । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको छ ।
महोत्सव अवधिभर महोत्सव स्टलभित्र १० करोड बढिको कारोबार हुने अपेक्षा लिइएको बागलुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए । ‘स्टल भित्र मात्रै १० करोडको कारोबार हुनेछ, त्यसका साथै बागलुङ बजार पनि चलायमान हुनेछ’ कोषाध्यक्ष श्रेष्ठले भने–‘एक करोड ७० लाख आम्दानी हुने र एक करोड १५ लाख खर्च हुने हामीले अनुमान गरेका छौँ ।’ महोत्सवबाट सङ्कलित रकमले ५ लाख बराबरको ‘बागलुङ उद्योग वाणिज्य संघ सदस्य कल्याणकारी कोष–२०८०’ स्थापना गरिने, धवलागिरि बहुमुखी क्याम्पसको ‘गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’मा सहयोग गरिने, ‘व्यवसायी एकता, बलियो संघ’ अक्षयकोष निर्माण गर्ने, ‘हाम्रो सुरक्षा, हाम्रो दायित्व’ सिसि क्यामरा जडान र मर्मत कार्यलाई निरन्तरता दिने, महोत्सवको मुनाफाबाट बागलुङ कोसेली घर संचालन गरिने लक्ष्य राखिएको वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।
महोत्सवमा प्रवेशका एक सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक लगायत अपाङ्गता भएकाहरूलाई निःशुल्क प्रवेश दिइनेछ भने अध्ययनका लागि समूहमा आउने विद्यार्थीलाई पनि निःशुल्क प्रवेश दिइनेछ । महोत्सवमा टिकट काट्ने जिम्मा नेपाल पत्रकार महासंघ बागलुङलाई जिम्मा दिइएको र १ टिकट बराबर ५ रुपैयाँ ‘पत्रकार महासंघको संस्थागत विकास’मा सहयोग गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।
महोत्सवले यहाँका पर्यटकीयस्थल, धार्मिक स्थल एवं लोक सास्कृतिक गतिविधिहरुको प्रचारप्रसार र प्रवर्द्धन गर्न, स्थानीय परिकारहरूलाई प्रवर्द्धन र स्तरीकरणमा वृद्धि गराउन, उद्यमी व्यवसायीहरूको वित्तीय साक्षरता वृद्धि गराउने र वित्तीय एवं औधोमिक क्षेत्रको विकास वृद्धि मार्फत आर्थिक समृद्धि: सुखी नेपालीको लक्ष्य पुरा गराउन र स्थानीय खेलाडीहरूको व्यक्तिगत र सामाजिक अनुशासन स्थापित गराउँदै राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी बन्नको लागि उत्प्रेरणा प्रदान गर्न महोत्सवले सहयोग पुग्ने प्रथम उपाध्यक्ष सञ्जय श्रेष्ठले दिनुभयो ।
मेलाको उद्घाटन पुस ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तय भएको छ । राष्ट्रपतिको बागलुङ कालिका दर्शन र पञ्चकोट भ्रमणपछि दिउँसो १ बजे महोत्सव उद्घाटन हुने आयोजकले जनाएको छ ।