बागलुङ। बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्वि गर्ने उदेश्यले नगरका दुई विद्यालयमा पठनपाठन स्थगन गर्दै ३१ प्राथमिक र आधारतूत विद्यालयमा तह मिलान गरेको छ ।
१३ औं नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो । नगरपालिकाले कक्षा १ सम्म अध्यापन हुने बानपा–९ को सरस्वती सामुदायिक र रानीभूमे प्राविमा पठनपाठन स्थगन गरेको छ ।
तह मिलनपछि अब बालविकास केन्द्र संचालन हुने विद्यालयको संख्या ८, बालविकास केन्द्र र कक्षा एक मात्र संचालन हुने विद्यालयहरु ११, कक्षा एक मात्र संचालन हुने विद्यालय १, कक्षा एकदेखि तीनसम्म संचालन हुने विद्यालय ५, कक्षा एकदेखि चारसम्म संचालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा एकदेखि ६ कक्षासम्म संचालन हुने छ ।
विद्यालय स्थगन र तह मिलानपछि उव्रिन आउने शिक्षकहरुलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा व्यवस्थापन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाईबाट बञ्चित हुने बालबालिकालाई आवश्यक व्यवस्था गरिने श्रेष्ठको भनाई थियो ।
शुक्रबार प्रेस मिट गर्दै नगरपालिकाले स्थगन भएका विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास कक्षा आवश्यक रहेसम्म कायम राखिने, स्थगन भएका विद्यालयमा दोब्बर संख्यामा विद्यार्थी उपलब्ध भए पुनः विद्यालय संचालन गर्न जानकारी दिएको छ ।
स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्रावास, पुस्तकालय, सामुदायिक सिकाई तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याईने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
अनुगमन समितिले तय गरेको मापदण्ड बमोजिम विद्यालय स्थगन भई विद्यार्थीहरु जाने विद्यालयको लागि बढीमा २ लाख र तह मिलान हुने विद्यालयहरुलाई प्रतिकक्षा बढीमा २५ हजारको दरले एक पटकको लागि अनुदान दिइने छ भने दिवा खाजाका लागि नियमित अनुदानका अतिरिक्त ५ रुपैयाँका दरले थप अनुदान निकासा दिईने छ ।
विद्यालय स्थगन र तह मिलानले नगरका विद्यालयमा शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख श्रेष्ठले दाबी गरे । ‘नगरको कार्यक्रमले सामुदायिक विद्यालयको गुणस्तरमा छलाङ मार्दै निजीको लेबल पु¥याउने अपेक्षा छ’ नगरप्रमुख श्रेष्ठले भने ।