बागलुङ । स्वास्थ्य कार्यालय बागलुङले जिल्लालाई पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गर्ने तयारीलाई तीब्रता दिएको छ । त्यसको लागि सम्बन्धित सरोकारवालाहरुसँग बैठक, सचेतना गोष्ठी, छलफल र वडा तहमै पुगि घरधुरी सर्वेक्षण थालेको छ । वडाले घरधुरी सर्वेक्षण गरेपश्चात पालिकाले प्रमाणित गरि वडा, पालिका हुँदै सिङ्गो बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गरिने छ ।
यहि बैशाख २५ गते भित्रै पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । हरेक बर्ष पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गर्दै आएकोमा यस बर्ष पनि घोषणा तयारीलाई तीब्रता दिइएको छ ।
आर्थिक बर्ष २०८०/०८१मा १६ महिनादेखि ५९ महिनासम्मका १३ हजार १२२ जना बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितता गरिने योजना राखिएको छ । बालबालिकालाई विभिन्न संक्रामक रोगबाट बचाउनको लागि पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गर्न लागिएको हो ।
बागलुङ जिल्लालाई २०७५ साल असाढ २५ गते पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको थियो । त्यस पश्चात पूर्ण खोप सुनिश्चितताको लागि दीगोपना घोषणा गरिदै आएको छ ।पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणाको लागि १५ महिना मुनिका बालबालिकालाई १३ रोग विरुद्धको खोप लगाएको सुनिश्चतता गरिनु पर्नेछ ।