बागलुङ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको छैठौं दिन बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।सुरक्षाकर्मी, समाजसेवी र विभिन्न संघ संस्थामा आवद्व कर्मचारीले गरेको रक्तदानबाट ३५ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनुभयो ।
ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, चालक र सहचालकलाई ट्राफिक सम्बन्धी ज्ञान दिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्प्लेट वितरण लगायतका सचेतनामूलक कार्यक्रम भइरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलको अध्यक्षता, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
सप्ताहको अन्तिम दिन सोमबार पत्रकारसँग सप्ताहको समीक्षा गर्दै दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङ बजारको मुख्य चोकमा दीप प्रज्वलन गरिदै छ ।