झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेश सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा उनले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा उनलाई ५७ जना सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री कार्कीको पक्षमा नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का तीन र जसपाको एक सांसदले विश्वासको मत दिए । राप्रपाका पाँच सांसद तटस्थ बसे । एकीकृत समाजवादी संसदीय दलका नेता संसद् बैठकमा सहभागी नै भएनन् । ५७ मत पाएपछि सभमुख अम्बरबहादुर विष्टले विश्वासको मत पाएको घोषणा गरे ।
कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गर्यो । सरकार गठनको विवाद सर्वोच्चमा विचाराधीन रहेकाले विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि छलफल हुने बैठकमा कांग्रेसका २९ सांसद सहभागी भएनन् । प्रदेश सभा बैठकमा ६२ सांसद उपस्थित थिए । कार्की गत वैशाख २६ गते संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट छ । उक्त रिटको अन्तिम सुनुवाइ जेठ ९ गतेलाई तोकिएको छ । विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए ।
बागमतीमा प्रदेश सभा चल्न नदिने कांग्रेसको चेतावनी
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन नभए बागमती प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको छ । सोमबारबाट सुरु भएको प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले यस्तो चेतावनी दिएका हुन् । उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।