बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आगामी वर्ष २०८२ को चैत मसान्त भित्र बालमैत्री नगर बनाउने अभियान शुरु गरेको छ ।
स्वास्थ्य शाखाका प्रमुख, विद्यालयका प्रधानध्यापक तथा समुदायका अगुवा, होटल व्यवसायी, सहकारीका अगुवा, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधि समेतलाई नगरपालिकाले बालमैत्री अवधारणा बारे प्रष्ट्याउने काम थालेको हो ।
शुक्रवार पनि संचारकर्मी, संघसंस्था र सामाजिक अगुवाको उपस्थितिमा बालमैत्री स्थानीय शासन र बालमैत्री अवधारणाका आयाम बारे चर्चा गरिएको थियो ।
नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चैवे सहजीकरण गर्नुभएको थियो । उहाँले बाल अधिकारको थालनी, बालअधिकार बारे नेपालमा गरिएका प्रयास, बालमैत्री स्थानीय शासन अबधारणा, हाल सम्म भएका क्रियाकलाप, बालमैत्री अभियान सफल पार्न सरोकारवालाले खेल्नुपर्ने भूमिका बारे चर्चा गर्नुभयोे ।
बालमैत्री नगर घोषणा गर्न ५१ सूचक पुरा गर्नुपर्छ । ती मध्ये शिक्षा क्षेत्रका १४, स्वास्थ्य क्षेत्रका ११ र नगर तथा वडा कार्यालयले १५ सूचक पुरा गर्नुपर्ने बाध्यता छ । त्यस बाहेक विभिन्न संस्थालेपनि सूचक पुरा गर्नुपर्ने छ ।
‘
बालमैत्री अभियानका सवै सूचक पुरा गरेर तोकिएको समयभित्र नगरपालिकालाई बालमैत्री बनाउने नगरप्रमुख नरबहादुर पुनले बताउनुभयो । उहाँले यो अभियानमा सबै क्षेत्रको साथ र सहयोग चाहिएको समेत बताउनुभयो । सबै जनप्रतिनिधि, कर्मचारी र अभिभावक मिल्दा यो अभियान सफल हुने उहाँको भनाइ छ ।
यो अभियानको संयोजकको रुपमा शिक्षा अधिकृत मिरादेवी शर्मा तथा महिला तथा बालबालिका शाखा प्रमुख देवी बिक सुनारलाई बिभागीय कामको जिम्मा लगाइएको नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताउनुभयो ।