बागलुङ , २ असार। लामो समयदेखि रोकिएका बागलुङ नगरभित्रका ३ वटा सडक निर्माणको काम शुरु भएको छ । सहरी शासकीय क्षमता तथा पूर्वाधार विकास योजना कार्यक्रममार्फत संचालन हुने तीनवटा सडक शनिबारदेखि निर्माण शुरु भएका हुन् ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले वडा नं. ७ को मुलपानीदखि हर्राबोट, कालीमाटीहुँदै तितौरे पुग्ने सडकको शिलान्यास गरेका हुन् । उनले उक्त सडकले बागलुङकै आर्थिक भविष्य निर्माणमा साथ दिने बताए । उनले वडा नं. ७ लाई सदरमुकामसम्म कालोपत्रे सडकले जोड्ने समेत बताए ।
लामो समयको प्रक्रियापछि यो सडक निर्माण हुन लागेको हो । विश्व बैंकको सहयोगमा साँढे ८ किमी सडक निर्माण शुरु भएको हो । त्यस्तै बानपा १ को माझी बस्तीदेखि निरहेघाट सम्मको डेढ किमी र ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी सडक पनि निर्माण शुरु भएको हो ।
हाल ट्रयाक खुलिसकेका तीनवटै सडक आगामी १८ महिनाभित्रै कालोपत्रे गरिसक्ने लक्ष छ । विश्व बैंकको कुल ६० करोड रुपैयाँ अनुदान दिएकोमा ५८ करोड ९९ लाख १२ हजार रुपैयाँको लागत स्टिमेट बनेको थियो । ठेक्का प्रक्रियाबाट आशिष फेवा संयुक्त निर्माण कम्पनीले सबैभन्दा थोरै ४३ करोड २१ लख ९४ हजार रुपैयाँ बोलकबोलबाट ठेक्का सम्झौता गरेको छ ।
विश्व बैंकको अनुदान सहयोग÷ऋणमा निर्माण हुने तीनवटै सडकको सहरी विकास तथा भवन निर्माण विभागले समन्वय र परामर्शको काम गर्ने छ । कृषि र पशुजन्य उत्पादनको बजारीकरणका लागि तीनवटै सडक निर्माण गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । ती सडक बनाउँदा किसानले आफ्ना उत्पादनलाई सहजै सदरमुकामसम्म ल्याउन सक्नेछन् । हाल ढोडेनी, कालीमाटी र तितौरेका किसानले उत्पादन गरेको दूध र तरकारी ल्याउन कठिन छ । सहजै दूध ल्याउन सक्दा किसानको उत्पादनले बजार पाउने छ । नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्रे सडकले जोड्न समेत पाउने छ ।
प्रारम्भिक सर्भेक्षण भएर डिपिआर बनाइरहेको नगरपालिकाको कामको प्रगती हेर्न आएका विश्व बैंको सहयोग निकायका टिमसहित केन्द्रीय परामर्शदाता, सहरी विकास मन्त्रालयको प्रोजेक्ट कोअर्डिनेटर रबिन्द्र बोहरा, सिटुटेक बिधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टिम लिडर रितु बस्नेत सहितको टोलीले तीनवटै सडकको स्थलगत अनुगमन गरेपछि ठेक्काको अनुमति दिएको थियो ।
निर्माण गरिन लागेका तीनवटै सडकहरु ९ मीटर चौडाइका हुने छन् । एकदुइ स्थानमा असहज अवस्था आएमा ६ मीटरसम्म हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले बताए ।
नगरपालिकाले सडकको लाइनभित्र परेका घर तथा टहरा र संरचना हटाउने काम पनि शुरु गरेको छ । बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ ।
विश्व बैंककै सहयोगमा यसअघि पनि बागलुङ नगरपालिका ४ को कुँडुलेदेखि वडा नं. ६ को धारापानी सम्मको ७ किमी सडक कालोपत्रे भैसकेको छ ।