बागलुङ १३ असार । पर्वतका क्रसर व्यवसायी याम बहादुर (रामकृष्ण) मल्लले ज्यान मार्ने धम्की दिएपछि सुरक्षाको माग गर्दै ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक हेमराज शर्माले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् ।
मोबाइल फोनमार्फत क्रसर व्यवसायी मल्लले पटक पटक ज्यान धम्क्याउने, तर्साउने तथा अश्लिल शब्द प्रयोग गरेर मार्ने धम्की दिइएको भन्दै प्रबन्धक शर्माले प्रहरीमा उजुरी दिएका हुन् । मल्लले बुधबार साँझ पौने ६ बजे र बिहीबार बिहान पौने ११ बजे फोन तथा म्यासेजमार्फत सिध्याई दिने धम्की दिएको बैंकर्स बागलुङका अध्यक्ष समेत रहेका शर्माले उजुरीमा उल्लेख गरेका छन् ।
प्रबन्धक शर्मालाई ज्यान मार्ने धम्की दिएको भनी उजुरी दर्ता भएको र धम्की दिने व्यक्तिलाई प्रहरी कार्यालयमा झिकाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए । घटनाको विषयमा ग्लोबल आइएमई बैंक र बैंकर्स बागलुङले सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।
व्यवसायी मल्लले अन्य बैंकसँग लिएको ऋण नतिरेपछि कर्जा सूचना केन्द्रमा कालो सूचिमा समावेश गरिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा सूचना केन्द्रको कालो सूचिमा रहेको व्यक्ति तथा संस्थाको सबै बैंक तथा वित्तीय संस्थामा रहेको खाता सोत रोक्का हुने कानुनी व्यवस्था रहेको छ ।