बागलुङ, १४ असार । विद्यार्थीहरुलाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले बागलुङमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना र बागलुङ नगरपालिकाको सहकार्यमा ओलम्पिक अभियान र ओलम्पियनहरूबारे परिचयात्मक कार्यक्रमसहित स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले हरेक क्षेत्रमा सफल हुन मिहिनेत आवश्यक रहेको भन्दै नेपाललाई विश्वसामु चिनाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । स्कुलले विद्यार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कने श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको उदेश्यबारे ओलम्पिक एशोसियसन नेपालका महासचिव राजेन्द्र भण्डारीले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम बागलुङ जिल्लाबाट एशियन गेम तथा साफ गेममा प्रतिनिधित्व गर्ने खेलाडिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सन् १९८८ मा कोरियामा सम्पन्न २४ औं ओलम्पिक तथा सन् १९९६ को अमेरिकाको एटलाण्टामा सम्पन्न २६ औं ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने गोरखाका टिका बोगटी, सन् १९८८ को कोरियामा सम्पन्न २४ औं ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गरेका गोरखाका ऋषि प्रधान गोरखा, सन् १९९६ मा अमेरिकाको एटलाण्टामा सम्पन्न २६ औं ओलम्पिकमा स्वीमिङ तर्फबाट प्रतिनिधित्व गर्ने तनहुँका सिताराम शाहि ठकुरी, सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न २७ औं ओलम्पिकमा शुटिङ्ग तर्फबाट प्रतिनिधित्व गर्ने बागलुङका भगवती खत्री केसी, सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न २७ औं ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने गोरखाका ज्ञान बहादुर बोहरा, सन् २००४ मा चीनमा सम्पन्न ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गरेका तनहुँका राजेन्द्र भण्डारी र सन् २०१० मा सिंगापुरमा सम्पन्न प्रथम युथ ओलम्पिकमा एथलेटिक्स तर्फबाट प्रतिनिधित्व गर्ने कास्कीका मनिषा अधिकारीले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई खेल जीवनबारे अनुभव सुनाएका थिए ।