बागलुङ । बागलुङमा रहेको विद्यामन्दिर माध्यामिक विद्यालयको चमेनागृहमा स्वास्थ खाजा पाइनेको ठाँउमा खराब भएको खाजा बितरण भएको भेटिएको छ ।
चमेनागृहभित्र बालबालिकालाई दिइएको चाउमिन, चना लगायतको खाना गन्हाएको, खुला छाडिएको र सरसफाइ पनि नभएको अनुगमनको क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश शर्माले बताए ।
विद्यार्थीले चाउमिन खाने क्रममा गन्हाएपछि वडा अध्यक्ष सनिकुमार केसीलाई बोलाएका थिए । केसीले प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई समेत जानकारी गराएपछि संयुक्त अनुगमन भएको थियो ।
अनुगमनको क्रममा मापदण्ड अनुसारको चमेनागृह नभएको, बालबालिकाले खानेकुरा खुला छाडिएको, गन्हाएको, जुत्ताचप्पल राख्ने स्थान र खानेकुरा राख्ने स्थान समेत एकै ठाउँमा भएको समेत बताइएको छ । तत्काल चमेनागृह संचालकलाई समस्याबारे जानकारी गराएर सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सहन्सा कुमार मेहेताले जानकारी दिए ।
चमेनागृह संचालकलाई बुधबार प्रशासनमा स्पष्टीकरणका लागि बोलाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले सरसफाइ लगायतको काम गर्न सचेत गराउनु पर्ने र आवस्यक सुझाव दिनुपर्ने बताए । प्रधानाध्यापक छविरमण रेग्मीले भने नियमित अनुगमन गरेपनि पुरानो र स्टक सामान पकाएकोले गन्हाएको हुन सक्ने भन्दै सचेत गराइएकोमा आगामी दिनमा सुधार हुने बताए ।
विद्यालयले दैनिक दुइ जना शिक्षकलाई अनुगमनकर्ताको रुपमा चमेनागृहमा पठाउने गरेको छ ।
कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको रुपमा तोकिएको बार अनुसारको खाजा बनाएर खुवाइन्छ भने त्यसभन्दा माथीका विद्यार्थीले रोजेर किनेर खान पाउने छन् भने उक्त विद्यालयमा विद्यार्थी र शिक्षकको छुट्टाछुट्टै चमेनागृह रहेको पाइएको छ।