बागलुङ, ८ भदौ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र ३ वटा ब्लक क्षेत्रको ३ सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्यांकको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ ।
परियोजनाले पहिलो चरणमा बागलुङको ३ सय हेक्टरबाट जोनको तयारी गरेको हो । अधिकतम ५ सय हेक्टर क्षेत्रफल पु¥याउने लक्ष्यका लागि परियोजनाले पर्वतका केही क्षेत्रलाई पनि समेट्ने छ । बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोट क्षेत्रमा व्यवसायिक अलैँची उत्पादन हुने गर्छ ।
पर्वततर्फ मोदी गाउँपालिका र फलेवास नगरपालिकाको उत्पादनलाई पनि जोनमा समावेश गर्ने परियोजनाको लक्ष्य छ । ‘पहिलो चरणमा बागलुङकै ३ सय हेक्टरलाई जोनको रुपमा विकास गर्छौ, त्यसपछि क्रमशः क्षेत्रफल थप्दै जाने हो’ परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत नारायण पौडेलले भने, ‘उत्पादन र बजारीकरण सुधार हुँदै गएकाले जोनको अबधारणामा पुग्यौं ।’ परियोजनाको सिफारिसमा मन्त्रीस्तरीय निर्णयपछि जोनको काम कार्यान्वयनमा आउने छ ।’ हाल पकेट र ब्लकमा आबद्ध किसानको खेतबारीमा पुगेर अलैँची उत्पादन बढाउने भईरहेको छ ।
तत्कालिन कृषि विकास कार्यालयले सामान्य उत्पादन र बजारीकरणमा साथ दिएपनि हाल परियोजनामार्फत अलैँचीको क्षेत्र विस्तार भएको हो । पौडेलका अनुसार, हाल बागलुङबाट ३० मेट्रिकटन अलैँची विदेश निर्यात भैरहेको छ । त्यसबाहेक केही देशभित्रै बिक्री भएको हो । उत्पादनको ८० प्रतिशतबढी अलैँची निर्यात हुने गरेको हो । उपभोग गर्दा बागलुङमा हाल ४० मेट्रिकटनबढी अलैँची उत्पादन भैरहेको हो ।
झापाको बिर्तामोडबाट आउने व्यापारीले गाउँबाट अलैँची संकलन गरेर लैजाने गरेका हुन् । व्यापारी किसानको बारीमै आउँदा पनि प्रतिकेजी न्युनतम १ हजार ५ सयदेखि २ हजार १ सय रुपैयाँसम्म मूल्य तिरेका छन् । कतिपय किसानले त आँफै बिक्री गरेर ४ हजार प्रतिकेजीसम्म पार्ने गरेका हुन् । हिउँदमा लामो खडेरी पर्दा उत्पादनमा कमी हुने र केही रोग लाग्ने गरेका छन् । तर, ती समस्यालाई परियोजनाले तत्काल सम्बोधनको तयारी गरेको हो । कतिपय किसानले भने बजार कता पाइन्छ भनेर अन्यौल हुँदा क्षेत्र बढाउन नसकेको गुनासो गरेका छन् । परियोजनाको साथ र सल्लाह पाएमा उत्पादन बढाएर जाने गलकोट नगरपालिका वडा नं। १ का किसान नेत्र बुढाथोकीले बताए ।
दुइ वर्षअघि जैमिनीका किसानको बारीमा लगाएको अलैँची कुहिएको थियो । परियोजनाले तत्काल औषधिउपचार गराएपछि जोगाउन सकेका थिए । ‘जैमिनीमा मात्रै वर्षमा २ सय ५० क्विन्टल अलैँची बिक्री हुने गरेको छ,’ कृषि प्राविधिक प्रकृति शर्माले भनिन्, ‘बजारको सुनिश्चित गर्न सके अझै उत्पादन बढ्नेछ ।’ बरेङका किसानले पनि अलैँचीको राम्रो उत्पादन लिएको स्थानीय यामबहादुर थापाले बताए । बरेङमा अलैँचीबाट मात्रै वर्षमा १ देखि ३ लाखसम्म कमाउने किसान धेरै छन् । ताराखोला गाउँपालिकामा पनि झण्डै २ सय हेक्टर बढीमा अलैँची लगाइएको छ ।
अलैँचीमा समस्या आयो भने तत्काल उपचार गरेमा क्षति न्युनिकरण गर्न सकिने वरिष्ठ कृषि विकास अधिकृत पौडेलले बताए । अत्याधिक गर्मी बढ्ने र सिंचाइको अभाव भएका गानो मर्ने गरेको हो । गत हिउँदमा लामो समय खडेरी लागेकोले त्यस्तो समस्या देखिएको हुनसक्ने भन्दै पौडेलले चालुवर्ष दर्जनबढी सिंचाइका योजना पनि संचालन गर्न बजेट व्यवस्था गरिएको उनले बताए । साभार ढोरपाटन