बागलुङ, १० भदौ । बागलुङमा ९ वर्षपछि ३ सय वर्ष पुरानो हनुमान नाच नाचिने भएको छ । हनुमान नाच यहि भदौ ११ गतेदेखि नाचिनेछ । आइतबार पत्रकार सम्मेलन गरि हनुमान नाचको तयारी पूरा भएको बताइएको छ ।
२०७२ सालमा देखाएपछि विभिन्न कारणले हनुमान नाच नचाउन सकिएको थिएन । यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको हनुमान नाच संरक्षण परिषदका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए ।
तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । उनले आगामी भदौ ११ गते सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन गरिने जानकारी दिए ।
भदौको पहिलो वा दोस्रो मङ्गलबार पारेर बागलुङ बजारको नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ ।
पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको छ । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गन्छि ।
हनुमान नाचकोलागि १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुनुका साथै विभिन्न दश तालमा यो नाच नाचिन्छ ।
पाँच सय वर्ष पहिले भक्तपुरबाट सुरु भएको नाच पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हनुमान नाचको संस्कृतिसँगै ल्याएको बताइन्छ । बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ ।
१७६८ सालमा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको बताइन्छ ।
हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको छ । नेवारबाहेक अन्य समुदायका कलाकारलेपनि नाचमा भाग लिने गर्दछन् ।
पत्रकार सम्मेलनको सञ्चालन हनुमान नाच संरक्षण परिषदका सचिव जय राजभण्डारीले गरेका थिए ।