बागलुङ ,१५ भदौ । अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत बिद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा स्थापना भएका बिभिन्न कोषहरुबाट सहयोग गरिएको छ । बिद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई, शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो ।
बिद्यालयमा २०६४ सालमा स्थापना भएको नन्दप्रसाद नन्दकली आचार्य स्मृति अक्षयकोषले शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ । एक बर्षका लागि सबै विद्यार्थीलाई पुग्नेगरी कोषले पोशाक सहित शैक्षीक सामग्री सहयोग गरेको कोषका संरक्षक यज्ञबल्लव शर्माले बताए । २ लाख २८ हजार रुपैयाँको अक्षय कोषबाट बार्षिक रुपमा प्राप्त हुने व्याज रकमबाट कोषले विद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि सहयोग गर्ने गरेको छ ।
त्यस्तै विद्यालयमानै स्थापना भएको झरना केसी गुडिया स्मृति बाल कोषबाट नगद सहयोग गरिएको छ । कोषमा रहेको १९ हजार रुपैयाँको बार्षिक व्याज रकमबाट प्रत्यक विद्यार्थीका लागि १ सय ५० रुपैयाँका दरले नगद सहयोग गरेको विद्यालयले जनाएको छ ।
शैक्षिक सामग्री तथा पोषाक बितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बिद्यालय बालमैत्री हुनुपर्नेमा जोड दिए । सबै सामुदायीक बिद्यालय बालमैत्री बन्दा बालबालिकाका सिकाईमा प्रभाव पर्ने भन्दै उनले नगरले बालमैत्री अभियान चलाएको बताए । शैक्षिक अबस्था सुधारका लागि पूर्वाधारको बिकाससँगै समुदायको सकृय सहभागिताको आवश्यकता रहेको उनले बताए ।
बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले समुदायले स्थापना गरेको विद्यालय जोगाउने जिम्मा पनि समुदायकै भएको बताए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु कुमारी शर्मा, समाजसेवी लालचन राजभण्डारी लगायतले बोलेका थिए । कोषका संरक्षक शिवराम शर्मा आचार्यको अध्यक्षता, कोषका संरक्षण यज्ञवल्लव शर्माको स्वागत र शिक्षक उमाकान्त शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।