बागलुङ, २१ भदौं । बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
बिहिबार राती परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले हुँदै बग्ने बान्द्रेखोलामा आएको बाढीले मोटरसाइकल सहित तीन युवालाई बगाएको हो ।
बानपा ४ कुँडुलेदेखी मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बर को स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षिय अर्जुन सापकोटा र २२ वर्षिय अविशेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी थिए । उनले सोही स्थानका २० वर्षी कमल सापकोटा बेपत्ता रहेको बताए । सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले बताए ।
सापकोटाको शव घटनास्थलबाट झण्डै १ सय मिटर र रेग्मीको शव २ सय मिटर तल फेला परेको हो । मृत्तक दुवैको शव पोष्टमार्टमको लागि धौलागिरि अस्पतालमा ल्याईएको छ ।
बेपत्ता सापकोटाको खोजीकार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालित भएको थियो । बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर गरेलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । बाढीले बगाएको स्कुटर सडक छेउमा फेला परेको छभने मोटरसाइकलको खोजी भईरहेको प्रहरीले जनाएको छ ।