पाेखरा , ४ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई शुक्रबारबाटै गणना हुनेगरि ६ दिन हिरासतमा राख्न अनुमती दिएको हो।
पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुन: म्याद थपको अनुमति लिनु पर्दछ ।
पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।
शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा ल्याईपुर्याइएको थियो ।