बागलुङ ८ कात्तिक । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले २०८१ सालको तिहार तथा दीपावलीको सन्दर्भ पारेर बागलुङ बजारमा देउसी भैलो खेल्ने भएको छ । आगामी माघमा प्रथम मगर सांस्कृतिक महोत्सवको आयोजना गर्ने र त्यसको आर्थिक जोहो गर्नका लागि तिहारमा देउसी भैलो खेल्ने तयारी गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनले बताए । ‘हामीले बागलुङ जिल्लाभरका सबै स्थानीय तहमा रहेका मगर संस्कार संस्कृतिक संरक्षणका लागि केही काम गरौं भनेर लागेका छौं, त्यसका लागि आगामी माघ महिनामा प्रथम मगर सांस्कृतिक महोत्सव गर्ने तयारी छ,’उनले भने,‘त्यसै कार्यक्रमका लागि आर्थिक सहयोग जुटाउनका लागि यस पटक तिहारमा देउसी भैलो खेल्ने कार्यक्रम आयोजना गरेका छौं ।’ एउटा पवित्र उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सबैको साथ रहने उनले विश्वास व्यक्त गरे ।
विगतमा मगरसंग सम्बन्धित विभिन्न संघ संस्थाहरुले आफ्नो तरिकाले देउसी भैलो खेल्ने गरेकोमा यस पटक सबैलाई एकै ठाउँमा सहभागी गराएर जिल्ला संघको अगुवाईमा देउसी भैलो खेल्ने निर्णय गरिएको उनले जानकारी दिए । ‘विगतमा मगरसंग सम्बन्धित विभिन्न समुह र संस्थाहरु आफ्नै तरिकाले खेल्ने चलन थियो,’ अध्यक्ष पुनले भने,‘यस पटक सबै संघ संस्था र समुहलाई मिलाएर मगर संघले बोकेको उद्देश्य पूरा गर्नेगरी देउसी भैलो खेल्ने कार्यक्रम राखेका छौं । यसमा बागलुङ बजारमा क्रियाशील सबै मगरसंग सम्बन्धित समुह संग संस्था र सबै मगरहरुको ऐक्यवद्धता र प्रतिवद्धता रहेको छ ।’ यस पटक मगर संघले नै सांस्कृतिक महोत्सवको उद्देश्य राखेर देउसी भैलो खेल्ने उनले बताए ।
‘हाम्रो बागलुङ जिल्लामा भाषा लगभग सकियो भन्दा हुन्छ, निसीको भल्कोटमा बोल्ने खाम भाषा बाहेक हामीसंग छैन,’उनी भन्छन्,‘हाम्रो संस्कार संस्कृतिहरुको पनि संरक्षण गरिएनभने यो पनि हराउँदै जाने देखियो । संस्कृतिक संरक्षण प्रवद्र्धन र पुस्तान्तरणका लागि हामीले यो प्रयास गरेका छौं ।’ देउसी भैलो कार्यक्रमलाई व्यवस्थीत गर्नका लागि संघले सल्लाहकार चन्द्रबहादुर थापामगरको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । उक्त समितिमा विभिन्न संस्था र समुह तथा भेगबाट मगर अगुवाहरुलाई सदस्य राखिएको छ । संघका कोषाध्यक्ष प्रकाश थापाको संयोजकत्वमा सांस्कृतिक समिति, सचिवालय सदस्य इन्द्रबहादुर पुनको संयोकजकत्वमा खाजा व्यवस्थापन समिति, सचिवालय सदस्य बलकुमारी पुनको संयोजकत्वमा देउसी भैलो व्यवस्थापन र सचिवालय सदस्य संगम घर्तीमगरलाई प्रचार प्रसार समिति संयोजक तोकिएको छ ।
मगर संघको देउसी भैलो कार्यक्रम यही कात्तिक १३ गते बागलुङ बजारको लोकतान्त्रिक चोकबाट सुरु हुने बताईएको छ । देउसी भैलोको परम्परालाई निरन्तरता दिने र मूलतःआगामी माघमा गर्ने तय गरिएको मगर सांस्कृतिक महोत्सवलाई सघाउ पु¥याउने उद्देश्यले देउसी खेल्ने प्रचार प्रसार संयोजक संगम घर्तीमगरले बताए । मगर संस्कृति पुस्तान्तरण गरी युगौयुग जीवन्त राख्ने, संस्कृतिहरुको अभिलेखीकरण गरी अध्ययनको स्रोत बनाउने, बागलुङको मगर संस्कृतिको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, सांस्कृतिक नृत्यहरुको श्रव्यदृश्य सामग्री (डकुमेन्ट्री) तयार गर्ने, मगर समुदायको प्रचलित र परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्य सहित प्रथम मगर सांस्कृतिक महोत्सव बागलुङ २०८१ आयोजना माघ महिनामा गरिने उनको भनाई छ ।
महोत्सवमा बागलुङ जिल्लाको १० वटै पालिकाबाट कम्तीमा एक÷एक वटा मगर संस्कृति एवं कलालाई बागलुङ बजार ल्याएर कार्यक्रम स्थलमा प्रदर्शन गर्ने र त्यसका बारेमा जानकारी गराउने, तीमध्ये कम्तीमा तीन वटा गलकोटको सोरठी, बडिगाडको सति घाटु र काठेखोला÷जैमिनीको झ्याउरे÷झाम्रे÷बिना सालैजोको श्रव्यदृश्य सामग्री (डकुमेन्टी) तयार गर्ने, कार्यक्रमस्थल वरपरको स्टलमा मगर समुदायको प्रचलित खानाको प्रदर्शनी र विक्री वितरण गर्ने व्यवस्था मिलाईने उनको भनाई छ । सांस्कृतिक महोत्सवका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनका लागि पहिलो चरणमा देउसी भैलो खेलिने उनको भनाई छ ।
