बागलुङ , १० कार्तिक । बागलुङ मा संचालित बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाको बागलुङ नगर एकाइगत साधारणसभा सम्पन्न भएको छ । बागलुङको बलेवामा मुख्य कार्यालय रहि बिभिन्न क्षेत्रमा सेवा केन्द्र सँचालन गरेको सहकारीको १४ औ बार्षिकसाधारणसभा अन्तरगत बजार क्षेत्रको एकाइगत साधारणसभा शनिवार सम्पन्न भएको हो ।
यसअघि कार्तिक ७ गते अमलाचौर र कार्तिक ९ गते पैयुपाटाका एकाइगत साधारणसभा गरेको सहकारीको मुख्य साधारणसभा कार्तिक १२ गते नारायणस्थानमा हुने भएको छ ।
बागलुङ बजार क्षेत्रको साधारणसभाको उद्घाटन गर्दै नेपाल सुचना तथा संचार केन्द्रिय सहकारी संघका संचालक एवँ जिल्ला सहकारी संघ बागलुङका संचालक खिमबहादुर कार्कीले सहकारीलाई दिगो बनाउनका लागि शेयर सदस्य केन्द्रित कारोवार हुनपर्नेमा जोड दिनुभयो ।
शेयर सदस्य केन्द्रित नहुँदा सहकारीहरु समस्यामा परेको चर्चा गर्दै कार्कीले संस्थाको मेरुदण्ड नै शेयर सदस्य भएकाले शेयर सदस्यहरुले नियमित कारोवार र निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले समग्र सहकारीको बिषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम नेपाल पत्रकार महसंघ गण्डकी प्रदेश सदस्य ताराप्रसाद शर्मा, सम्मानित व्यक्ति दलबहादुर कुँवर दिपक, शेयर सदस्य तथा पत्रकार संगम घर्ती मगर र संस्थाका प्रवन्धक भरत पौडेलले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा उत्कृष्ण कारोवारीको रुपमा नारायणप्रसाद शर्मा पौडेल, सरस्वती शर्मा आचार्य, बावुराम लम्साल, सागर सुवेदी र दलबहादुर कुवँरलाई सम्मान गरिएको थियो ।
संस्थाको गत आर्थिक बर्षमा २५ करोड ९ लाख १ सय शेयर रकम, २३ करोड ५४ लाख ७२ हजार ७ सय ६६ निक्षेप, २१ करोड ३ लाख ४९ हजार ९ सय २५ ऋण लगानी र २ हजार ३ सय ३ शेयर सदस्य रहेको प्रवन्धक पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रम बागलुङ बजार सेवा केन्द्रका संयोजक चन्द्रप्रकाश पौडेल गणेशको अध्यक्षता, उपसंयोजक प्रकाश पौडेलको स्वागत र सचिव तारानाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो ।