बागलुङ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकीमाथी पक्की पुल बनेको छ । भुगोलका कारण डिजाईन परिवर्तन गर्दा उक्त पुल सम्पन्न हुनका लागि मात्रै ८ वर्ष लागेको छ ।
बागलुङको जैमिनी नगरपालिकाको जिमिरघाटदेखि पर्वतको फलेवास जोड्नेगरी उक्त पुल तयार भएको हो । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्दै बागलुङको दक्षिण भेगका जनतालाई प्रदेश राजधानी जोड्का लागि उक्त पुलले सहज पु¥याउनेछ ।
अहिले पुललाई सडक संग जोड्ने कामको समेत थालनी भएको छ । निर्धारित समयमा ठेकेदार कम्पनीले काम गरेको भए २०७६ असार मसान्तमा सकिनुपर्ने पुल बल्ल सम्पन्न भएको छ ।
रसुवा (श्री गीता) फेवा संयुक्त निर्माण कम्पनीले २०७३ असोजमा सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो ।
उक्त पुलको पूर्वतर्फ (पर्वत) खण्डमा सडक जोड्नका लागि झण्डै एक करोड ११ लाख बजेट बिनियोजन भइसकेको छ ।
भूगोल नमिल्दा र पहिरो परेकाले झन्डै ५० मिटर नयाँ सडक बनाउनुपर्ने भएकाले बजेट थप भएर आएको निर्माण कम्पनीका प्रतिनिधि अनिल कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“पुल त सकियो, रंगरोगन मात्रै बाँकी छ, तर पुलसंग जोड्ने सडकको निर्माण र स्तरोन्नती गर्ने काम बाँकी छ, एक करोड ११ लाख बजेट पुन आएको छ त्यही रकमले सडकको पहुँच विस्तार गछौं” श्रेष्ठले भन्नुभयो “एक महिना भित्र सवारी चल्नेगरी पुल तयार हुन्छ, फाउण्डेशनको काममा समस्या आएपछि पुलको डिजाईन परिवर्तन गरेका कारण निर्माणमा ढिलाई भएको हो ।”
नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले पुन डिजाइन परिवर्तन गर्दा पुल निर्माणमा ढिलाई भएको थियो ।
डिजाइन परिवर्तन गर्नुपर्दा, कोरोना कहर लगायतका समस्याका कारण तनि पटक म्याद थपेपछि उक्त रु.१३ करोड १२ लाखको लागतमा पुल तयार भएको हो ।
जैमिनी नगरपालिका–१ जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने १ सय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि दक्षिण बागलुङले निकास पाएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
“दक्षिण भेगका जनता पोखरा पुग्न बागलुङ सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ, अब पुल बनेपछि स्थानीय सिधै, पोखरा पुग्न सक्नेछन्, यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ” उपप्रमुख शर्माले भन्नुभयो “जैमिनीका बासिन्दालाई अब पोखरा जान झण्डै ३० किमिसम्म छोटो पर्छ, पुल बनाउन थालेको ८ वर्ष पछि साकार भएको छ, करिडोरबाट लोकमार्ग जोड्न उक्त पुलले सहयोग गर्दछ ।”
प्रसिद्ध जैमिनीधामदेखि पर्वतको फलेवासदेखि कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो ।
बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल आठ वर्षमा बन्यो
- नेपाल सञ्चार
- ४ हप्ता अगाडि