काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग ५ घण्टा लामो बयान लिएको छ। बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो। सिआइबीका प्रमुख एवं एआइजी दीपक थापाले गुरुङसँग लिखित बयान भएको जानकारी दिए।
उनले भने, ‘हामीले धनराजजीसँग पनि सोधपुछ गर्यौं। अनुसन्धानका लागि चाहिने विषयमा बयान लिएका हौँ। करिब चार पाँच घण्टा बयान भयो।’ धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधरणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्ष छ।
रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ गरेपछि गुरुङलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारमाथि दबाब पर्दै आएको छ। संसदीय छानबिन समितिले गुरुङलाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको थियो। तर सिआईवीले उनलाई कार्यालयमा बोलाएर लिखित बयान लिएर छाडेको छ ।
सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।
तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागिरहेको थियो । त्यही बेला सीआईबीका अधिकृतहरुले बुधबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएका थिए ।
धनराज गुरुङ र ज्योति गुरुङ श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको थियो । तर सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप पनि गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए ।
‘मैले नक्कली डिभोर्स गरेको होइन, कानूनी रुपमा गरेको हो’, उनले भनेका छन्, ‘म सहकारीमा सदस्य थिएँ, छोरालाई विदेश पठाउने बेला ऋण लिनु पर्दा १२ लाख लिएको थिएँ । त्यो पनि तिरेको हुँ ।’ ढोरपाटनबाट साभार