बागलुङ । बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाबाट निश्कासित भएका प्रबन्धक दिनेश पन्तले संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीलाई सहकारी ऐन विपरितको कार्य गर्दै बचतकर्ताको रकम अपचलन गरेको आरोप लगाएका छन् ।
उनले अध्यक्ष अशोक गोविन्द राजभण्डारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप लगाए । संस्थालाई सहकारी ऐन अनुसार चलाउन खोज्दा आफुलाई निश्कासन गरिएको उनको आरोप छ ।
बागलुङ नगरपालिका–३का पन्तले सहकारीको मुल्य र मान्यता स्थापित गर्न खोज्दा आफूलाई अध्यक्षद्वारा गल्हत्याइएको बताए ।
संस्थामा सञ्चालक समितिले प्रबन्धकमा नियुक्त गरेको र संस्थामा भएको बेतिथि र अध्यक्षको मनोमानीको विषयमा सञ्चालक समितिको बैठकमा आफूले जानकारी गराउँदा एक्कासी प्रबन्धकबाट निकालिएको सूचना टाँस गरिएको उनको दाबी छ । पन्तले संस्थामा थुप्रै अनियमितता भएको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।
पन्तले संस्थामा दुई दशकभन्दा लामो समयदेखि एकलौटी गर्दै आएको आरोप लगाएका छन् । संस्थामा ५५५ जना बचत कर्ताको रकमगैरकानुनी तरिकाबाट अध्यक्ष राजभण्डारीले आफ्नो नाममा राखेको उनको आरोप छ ।
‘संस्थाको स्थापनाकालदेखि नै अध्यक्षले एकलौटी तरिकाबाट संस्था सञ्चालन गरिरहनु भएको छ, ५५५ जनाको १६ लाख रुपैयाँ उहाँको हस्ताक्षर चल्ने खातामा राख्नु भएको छ ।’ उनले भने–‘यस विषयमा समितिमापनि कुरा राखेँ तर उहाँहरुले अनविज्ञता प्रकट गर्नु भयो ।’
पन्तले अध्यक्ष अशोक गोविन्द राजभण्डारीका नजिकका मान्छेले ठूलो रकम बिना धितो ऋण लगेर सावाँ ब्याज नतिरेको आरोप लगाए । पन्तले सहकारीको मूल्य मान्यता तथा सहकारी ऐन नियम सहकारी विनियम तथा कर्मचारी नियमावली बमोजिम कामकाज गर्दा, सहकारीको कामकाज पारदर्शी तथा व्यवस्थित रुपमा सञ्चालन गर्न खोज्दा संस्थाका अध्यक्ष राजभण्डारीले गाली–गलौज गर्ने, डर देखाउने तथा धाकधम्की दिने गरेको समेत आरोप लगाए ।
पन्तले अध्यक्षले किर्ते माइनट गरेको, सदस्यको रकम जोखिममा पारेको, गैर शेयर सदस्यसँग कारोबार गरेको आरोप समेत लगाए ।
‘अफिसबाट सबै कागजात जफत गरेर होटल पिस प्यालेसमा लगेर आफुखुसी निर्णय लेख्नु भएको छ, त्यसमा अन्य सदस्यको समेत हस्ताक्षर छैन ।’ उनको आरोप छ ।
ऐनले सहकारीमा ६६० जना शेयर सदस्य भएपनि दुई हजार बचतकर्ताबीच कारोबार गरेको बताउँदै गैर शेयरसँग कारोबार गर्नु सहकारी ऐन विपरित हुने बताए ।
पन्तले जैमिनी नगरपालिकामा रहेको जनता प्राविले आफ्नो बचत लिन आएको र खोलेर हेर्दा खाता नदेखेपछि बुझ्दा उक्त रकम अध्यक्षको हस्ताक्षर चल्ने खातामा गएपछि संस्थाको अनियमितताको विषयमा बोल्दा अध्यक्षले जागिरबाट निकालेको बताए ।
पन्तले आफुलाई गत असोज १ गते अध्यक्ष राजभण्डारी सहित उनको छोरा निलेश राजभण्डारीले दुव्र्यवहार गरेको समेत आरोप लगाए ।
कार्यकक्षमा रहेको समयमा राजभण्डारीका बाबु, छोराले गालीगलौज, हातपाछ र दुव्र्यवहार गरेको उनको आरोप छ ।
यस विषयमा बागलुङ नगरपालिकामा लिखित रुपमा अनुसन्धान गरी आवश्यक कार्वाहीकोलागि माग गरेपनि पालिकाले कुनैपनि प्रक्रिया अघि बढाउन सकेको छैन । यो मुद्धा जिल्ला प्रशासन कार्यालयमा समेत पुगेको छ ।
प्रशासन कार्यालय र बागलुङ नगरपालिकामा पुगेपनि मुद्धाप्रति पालिकाले बेवास्ता गर्दा सेयर सदस्य र बचतकर्ताको करोडौँ रुपैयाँ गुम्ने बताए ।
यस विषयमा संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले पन्तले लगाएको आरोप झुटा भएको बताउदै दुई दशक लामो समयदेखि चलेको संस्थालाई बनदाम गर्न खोजिएको बताए ।
‘संस्थामा काम गर्ने कर्मचारीले संस्थालाई अहित गर्ने व्यबहार गर्न नपाउने र करार अबधी सकिएपछि पदबाट हटाइएको हो, संस्थामा अनियमितता छैन, हामीले सहकारी रजिष्ट्रार, बागलुङ नगरपालिका र जिल्ला प्रशासनलाई संस्थाको विषयमा जानकारी दिएका छौँ ।’
राजभण्डारीले भने–‘सहकारीलाई बद्नाम गर्न, सहकारी अभियानलाई गिराउनकालागि ल्याइएको फण्डा हो, आवश्यक प्रमाण सहकारीसँग हुन्छ, जागिरबाट निस्केका मान्छेसँग हुँदैन ।’
उनले बागलुङ बहुउद्धेश्यी सहकारी संस्था सहकारी नियम अनुसार चलेको बताए । उनले आर्थिक समस्यापनि नभएको बताए ।
उनको छोरा निलेश राजभाण्डारीले पन्तलाई हातपात नगरेको बताए । ‘बाबाले राम्रोसँग आखा देख्नु हुन्न, आर्थिक जस्तो विषयमा अविश्वास भएपछि सहकारीमा गएको हुँ’ उनले भने–‘तर हातपात गर्ने, दुव्र्यवहार गर्ने गरेको छैन ।’