पर्वत । पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ । ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ । अब अस्पताल सेवा, सुविधा र अन्य जानकारीका लागि सेवाग्राहीहरूले १८१०५०००१४१ नम्बरमा निःशुल्क फोन गरेर आवश्यक जानकारी लिन सक्नेछन् ।
यस सेवाको शुभारम्भ गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले गरेका हुन् । सो अवसरमा बोल्दै उनले आफ्नो अस्पतालले थालेको यो प्रयास बिरामीहरूको हितका लागि महत्त्वपूर्ण कदम भएको बताए । विगतमा सामान्य रोगको उपचारको लाािग पनि पर्वतका बिरामीहरू पोखरा रिफर गर्नुपर्ने अवस्था रहेकोमा अहिले अस्पतालले भौतिक र गुणस्तरीय सेवामा मारेको फड्को महत्त्वपूर्ण रहेको उनको भनाई छ ।
१५ शय्या क्षमताको अनुमति पाएको अस्पतालले भौतिक रूपमा ठुलो परिवर्तन गरेपछि अहिले ६० शय्याबाट सेवा प्रदान गरिरहँदा पर्वतवासीहरूले केही अवस्था बाहेक सबै सेवाहरू पर्वतमा नै पाउनु खुसीको कुरा भएको बताए । अस्पतालले सुरु गरेको टोल फ्री नम्बरले अस्पतालको सेवा, सुविधा र अवस्थाका बारेमा सामान्य नागरिकले पनि जानकारी लिनका लागि सहज हुने प्रदेश सभा सदस्य कुँवरको भनाई छ ।
कार्यक्रममा सहभागीहरूले पनि यो सेवाको प्रशंसा गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले अस्पतालमा ‘टोल फ्री नम्बर’ राख्दा संस्था र सेवाग्राही दुबैलाई लाभ हुने बताए । सेवाग्राहीसँग सहज सम्पर्क गर्न, विश्वास र पारदर्शिता बढाउन, समय र खर्चको बचत गर्न, सेवाको पहुँच विस्तार गर्न, सुझाव र प्रतिक्रिया सङ्कलन गर्न, सेवाग्राहीलाई सन्तुष्ट पार्न, समयको पहुँच बढाउनको लागि अब झनै सजिलो हुने उनको भनाई छ ।
यो सेवाले ग्रामीण क्षेत्रमा रहेर अस्पतालसँग केही कुरा बुझ्न खोज्ने सेवाग्राहीहरूको लागि झनै सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । सेवा सुरु गर्नुको मुख्य उद्देश्य बिरामी र सेवाग्राहीहरूको समय बचत गर्नु, उनीहरूलाई अस्पतालमा पुग्नु अघि नै सही जानकारी दिनु र सेवामा पारदर्शिता कायम गर्नु रहेको उनको भनाइ छ । आगामी दिनमा सेवा उपयोगकर्ताहरूको सुझाव र आवश्यकताका आधारमा यसलाई अझ प्रभावकारी बनाउन पहल गरिने र अस्पताललाई ‘डिजिटल’ सेवामा आधारित बनाउन आफूहरूको प्रयास जारी रहेको अध्यक्ष गिरीले बताए ।साभार: ढोरपाटन न्युज
