बागलुङ । नेपाल पत्रकार महासंघ, बागलुङको आठौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको बिहिवार पदस्थापन भएको छ । बिहिवार आयोजित एक कार्यक्रममा निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले समितिको पदस्थापन र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
कार्यक्रमको उद्घाटन पछि मन्त्री पाठकले पत्रकारिता समाजको ऐना बन्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले पत्रकारिता र पत्रकार समाजले आदर्श मान्ने खालको बन्नुपर्ने सुझाव समेत दिनुभएको हो । ‘आम नागरिक पत्रकारिताबाट केही सिक्न चाहन्छन्, त्यसैले उनीहरु इमान्दार, सत्य र तथ्यमा बोल्ने, लेख्ने खालको बन्नुपर्छ’ पाठकले भन्नुमयो, ‘पत्रकारितालाई राजनीतिकरण गर्न पनि हुँदैन ।’ बरु राजनीतिले पत्रकारिताबाट धेरै पाठ सिक्नुपर्ने अबस्था रहेको पनि उहाँले बताउनुभयो ।
आठौ अधिवेसनबाट राम थापा ‘अविरल’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा सुवास आचार्य, महिला उपाध्यक्षमा सिर्जना पन्त, सचिवमा नारायण रिजाल, कोषाध्यक्षमा खेमराज गौतम, सहसचिवमा डम्बर बुढा र नवराज नेपाली चयन भएका हुन् । त्यस्तै खुला सदस्यहरुमा प्रकाश बराल, अर्जुन कार्की, प्रदिप पन्त र बालकृष्ण सुवेदी, महिला सदस्यमा मनिषा शर्मा, आदिवासी जनजाती सदस्यमा संगम घर्ती, दलीत सदस्यमा अनिष खाती र अल्पसंख्यकमा प्रकाश छन्त्याल निर्वाचित भएका थिए ।
कार्यक्रममा पूर्व मन्त्री दिपेन्द्रबहादुर थापाले पत्रकारिता नागरिकको विश्वसनीय बन्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले सत्यतामा टेकेर लेख्दा समाज सकारात्मक हुने र नियत राख्दा अद्योगतिमा जाने टिप्पणी गर्नुभयो ।
प्रदेश सभाकै सांसद जितबहादुर शेरचनले बहुदल र गणतन्त्र ल्याउन प्रेसले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभो । अवका दिनमा पनि सुशासनका पक्षमा पत्रकार उभिएमा भ्रष्टाचार अन्त्यको बाटो खुल्ने उहाँको धारणा थियो ।
सांसद दिलमाया पौवीले लुकेका कुरा बाहिर ल्याउने काम पत्रकारको भन्दै पत्रकार बिना समाज अधुरो हुने बताउनुभयो । उहाँलेले प्रेस स्वतन्त्रता बिना राज्य अपुरो हुने तर अझै महिलाका सवालहरु उजागर हुन बाँकी रहेकोले पत्रकारले ती बिषय खोतल्नुपर्ने आवस्यकता औलाउनुभयो ।
कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजन शाक्य, एमालेका उपाध्यक्ष गणेशबहादुर थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, निर्वाचन समितिका संयोजक हिराबहादुर केसी, महासंघका सल्लाहकार तारानाथ आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा निर्वाचित समितिले पूर्व अध्यक्ष सहितका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए ।
शुरुवातमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेलको अध्यक्षता, सचिव बिजय रानाको संचालन र कंडेलकै स्वागतमा सम्पन्न कार्यक्रमको दोश्रो चरण राम थापा अविरलको अध्यक्षता र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।